मुख्य समाचार |

प्रधानमन्त्री देउवाको वाराणसीमा स्वागत, साँझ काठमाडौं फर्कने

कृष्ण अधिकारी
वाराणसी, चैत २० गते । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुग्नुभएको छ । उहाँलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो । सो विमानस्थलबाट बाहिर निस्किएपछि प्रधानमन्त्री देउवालाई सडकको दायाँ बायाँ रहेका नागरिकले स्वागत गरेका थिए । स्थानीय कला र संस्कृति झल्किने विविध झाँकीहरुबाट पनि उहाँको सम्मान र स्वागत गरिएको थियो । यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा. आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुहुनेछ ।

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।