चुनावी तालमेलकाे सहमतिले जनता उत्साहित छन् : माधव नेपाल
अविनाश चौधरी
धनगढी, चैत २० गते। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिले चुनावी तालमेल गर्ने सहमति भएपछि जनता उत्साहित भएको बताउनुभएको छ।
समाजवादी प्रेस सङ्गठन नेपालले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यो सहमतिले सकारात्मक सन्देश दिएको बताउनुभएको हो। उहाँले प्रतिगामीबाहेक सबैका लागि आफ्नो पार्टी खुला रहेको उल्लेख गर्नुभयो।
‘वीन वीनको स्थितिमा चुनावी तालमेल गर्ने सहमतिले सकारात्मक सन्देश दिएको छ। जनता खुशी भएका छन्’, उहाँले भन्नुभयो, ‘यसको विपरीत विरोधीको मुख चाउरिएको छ। निन्द्रा हराएको छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति जनताको क्रेज बढेको जिकिर गर्नुभयो। ‘पार्टी प्रवेश गर्नेको लहर चलेको छ। पार्टीमा ठूलो क्रेज छ’, उहाँले अगाडि थप्नुभयो, ‘यो लहरलाई रोक्नका लागि हाम्रा विरोधीले न्वारानदेखिको शक्ति लगाइरहेका छन्। तर केही हुनेवाला छैन।’
समयको प्रवाह आफ्नो पार्टीको पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यही प्रवाहले अगाडि बढ्न प्रेरित गरिरहेको बताउनुभयो।