बन्दै गरेका दुई पुल भत्किए
गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २२ गते । दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ ।त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको छ । स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार, चापाकोट नगरपालिका ८ कालीगण्डकी नदीमा सो घटना भएको हो । सो पुलले दामाचौर र पाल्पाको रामपुरवासीलाई जोड्ने गरी निर्माण हुँदै गरेको हो । घटनामा बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बिहारका २५ वर्षीय धनन्जय ठाकुर गम्भीर घाइते हुनुभएको छ । छाती र टाउकोमा गम्भीर चोट लागेका दुवै जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।अन्य घाइतेमा रौतहटका प्रेम धन पटेल, हरिहरपुरका जितेन्द्र पटेल, भारतका सुजित कुमार यादव, रघुनाथ राव, अनुप कुमार राव र गोरखाका सिर्जन परियार रहेका छन् ।
सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार ढलानका लागि तयारी अवस्थामा रहेको पुल गए रातिको बाढीले भत्काएको हो ।कमलामाई नगरपालिका वडा नम्बर ६ का अध्यक्ष पूर्णबहादुर खड्काले दिएको जानकारी अनुसार, तीन वर्षअघि नै ठेक्का लागेको भए पनि धेरै ढिलो गरी पुल निर्माण सुरु भएको थियो । सिन्धुलीको मुख्य बजार क्षेत्र र सिन्धुली कारागारलाई जोड्ने सो पुल ३० मिटर लम्बाइको थियो ।
पुल बगाउँदा करिब तीन करोड रुपियाँ बराबरको क्षति भएको निर्माण कम्पनी देवीरमण जेभीका प्राविधिकले गरेका छन् । जेभीका प्रोजेक्ट प्रबन्धक कुमार रिजालले भन्नुभयो, ‘वर्षा लागेकै थिएन, चैतमा नै यति ठूलो बाढी आउला भनेर अनुमान नै थिएन । तीन दिनपछि पुल ढलानका लागि सबै तयारी पूरा हुनलागेको थियो ।’