मोहनापारिको दुर्गम गाउँ हौसलपुरमा बल्यो बत्ती
अविनाश चौधरी
धनगढी, असोज १९ गते । शिक्षा र रोजगारीका लागि पूर्णरुपमा भारतमा निर्भर कैलालीको दुर्गम गाउँ हौसलपुरमा बिजुली बलेको छ । कैलारी गाउँपालिका–७ स्थित मोहना नदीपारि नेपाल–भारत सीमा क्षेत्रमा रहेको हौसलपुरमा स्थानीय सरकारको पहलमा उज्यालो पुगेको हो । सदियौँदेखि राज्यको सेवा सुविधाबाट वञ्चित यो गाउँसम्म विद्युतीकरणका लागि गत आर्थिक वर्षबाट काम अगाडि बढाइएको थियो ।
प्रदेश सरकार, गाउँपालिकाको कार्यालय र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा हौसलपुरमा विद्युत पु¥याउन सफल भएको वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताउनुभयो । ‘हामी जनप्रतिनिधिले गर्नै पर्नेमध्येको एउटा महत्वपूर्ण काम गर्न सफल भएका छौँ’, उहाँले भन्नुभयो । ‘हौसलपुरमा बिजुली पुग्दा सबैजना एकदम खुशी भएका छौँ ।’
प्रदेश सभा सदस्य वीरमान चौधरी र गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा सो गाउँमा बिजुलीको उद्घाटन गर्नुभयो । दशकौंदेखि राज्यबाट उपेक्षित हौसलपुरमा बिजुली पुगेपछि स्थानीयले नाचगानका साथ खुशीयाली मनाएका छन् । उनीहरुले डिजे बजाएर नाचगान र भोजभतेर गरेको जनाइएको छ ।
हौसलपुर गाउँमा २८ घरपरिवारको बसोबास रहेको छ । त्यहाँका स्थानीय भूमिको रक्षासमेत गर्दै आएका छन् । विगतमा यो गाउँमा न सरकारी अधिकारी पुगेका थिए । न त पुगेको थियो, राज्यको कुनै सेवा सुविधा नै । तीन वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल हौसलपुर गाउँमा पुग्नुभएको थियो । राज्यको ठूला निकायबाट याे गाउँमा सरकारी व्यक्ति पुगेको त्यो नै पहिलो पटक थियो । त्यसपछि सो गाउँसम्म कहिलेकाँही सुरक्षाकर्मी पनि पुग्ने गरेका छन् । स्थानीय सरकार गठनपछि भने यो गाउँको विकासले क्रमिक रुपमा फड्को मारेको छ ।
विगतमा निकै दयनीय जीवन बिताएको गाउँका भलमन्सा टीकाराम चौधरी स्मरण गर्नुहुन्छ । ‘हामीलाई नेपालवासी जस्तै लाग्ने गरेको थिएन’, उहाँले सुनाउनुभयो । ‘गाउँपालिका बनेपछि बल्ल अलि–अलि विकास देख्न पाइरहेका छौँ ।’ दशकौँदेखि टुकी र सोलारको भरमा रात बिताएको आफ्नो गाउँमा उज्यालो पुगेपछि खुशीको सीमा नै नरहेको उहाँले उल्लेख गर्नुभयो । ‘हामी अत्यन्त हर्षित भएका छौँ’, भलमन्सा चौधरीले भन्नुभयो ।
गाउँपालिकामा रहेका हौसलपुरलगायत अन्य दुर्गम गाउँको विकासका लागि कैलारी गाउँपालिकाले विशेष प्याकेज लागू गरेको जनाएको छ । त्यस्ता गाउँको विकासमा गाउँपालिकाले उच्च प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो । हौसलपुरमा विद्यालय नहुँदा सो गाउँका सम्पूर्ण बालबालिका छिमेकी राष्ट्र भारतको विद्यालयमा अध्ययन गर्ने गर्दछन् । त्यहाँका मान्छे उतै पढ्ने र जागिरसमेत उतै गर्ने गरेको जनाइएको छ । हौसलपुरको लागि अझै धेरै काम गर्न बाँकी रहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
‘विकासको केही काम भए पनि यो गाउँलाई अझै सुगम मान्न सकिन्न’, उहाँले भन्नुभयो । ‘सुगम बनाउन कम्तीमा मोहना नदीमा पुल र गाउँमा एउटा विद्यालय आवश्यक छ ।’ नदीमा पुल नहुँदा सो गाउँका स्थानीयले डुङ्गाको भरमा ओहोरदोहोर गर्दै आएका छन् । नदीमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।