‘मिडियामा आएजस्तो विवाद पार्टीमा छैन, समाधानोन्मुख छ’
लक्की चौधरी
काठमाडौं, कात्तिक १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो आन्तरिक विवाद मिडियामा आएकोजस्तो ‘गम्भीर’ नरहेको सो दलका नेताहरुको बुझाई छ । ठूलो र लोकतान्त्रिक पार्टीमा सामान्य बहस र टिप्पणी स्वभाविक भएको भन्दै त्यसलाई मिडियाले उछालेर ‘फुटको सङ्घारमा’ पु-याएको उहाँहरुको तर्क छ ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित भेटघाट भइरहेको र पार्टीको आन्तरिक समस्या समाधानमै कुरा केन्द्रित रहेको नेताहरुको दाबी छ । “मिडियाले समाचार दिएजस्तो दुई अध्यक्षबीच पानी बाराबारको अवस्था छैन, संवादहिनता भएको पनि होइन” नेताहरुले भन्नुभयो ।
‘नेकपा अब फुटिहाल्छ कि !’ भन्ने समाचार देखेर पार्टीका नेता तथा कार्यकर्तामा पनि चिन्ता बढ्नु स्वभाविक भए पनि पार्टीको विवाद त्यो तहको होइन, नेताहरुले भन्नुभयो । पार्टीको सांगठनिक एकताका बाँकी काम तथा सरकार र पार्टीको दुवै काम प्रभावकारी बनाउनमै दुई अध्यक्षबीच निरन्तर छलफल र संवाद हुने गरेको उहाँहरुको बुझाई छ । पार्टी फुट्ने अवस्थामा पुगिनसकेको र त्यस्तो अवस्था पनि सिर्जना नुहने दोस्रो तहका नेताहरुको बुझाई छ ।
नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको विवाद सतहमा देखिएजस्तो नभएको बताउनुभयो । “मिडियामा जसरी समाचार आइरहेको छ त्यो हुँदै होइन, दुई अध्यक्षबीच निरन्तर छलफल र संवाद भइरहेकै छ” उहाँले भन्नुभयो । पार्टी फुटको सङ्घारमा नपुगेको र त्यो अवस्था पनि सिर्जना नहुने उहाँले प्रष्ट पार्नुभयो ।
नेकपाका दुई अध्यक्षबीच यसअघि निरन्तर छलफल भएको समाचार बाहिर आएका थिए । तर कात्तिक ३ गते पछि नियमित बैठक बस्न नसकेको कतिपय नेताहरुको बुझाई रहे पनि त्यस्तो अवस्था नरहेको भन्नुहुँदै स्थायी कमिटी सदस्य नेम्वाङले भन्नुभयो, “पार्टीको सबै छलफल र बहस मिडियामा आउन जरुरी छैन, मिडियामा नआएर पनि आन्तरिक रुपले काम भइरहेकै छन्, पार्टी फुट्दैन त्यस्तो अवस्था हामी आउन पनि दिन्नाैं ।”
नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपालले पार्टीमा आन्तरिक केही समस्या रहे पनि पार्टी फुट्ने अवस्थाको विवाद नरहेको बताउनुभयो । “दुई अध्यक्षका आ–आफ्नै काम गर्ने शैली र तौरतरिका छन्, एउटाले गरेको काम अर्कोलाई मन नपर्न पनि सक्छ, तर पार्टी नै फुट्न लाग्यो भनेर त्यसरी व्याख्या गर्नु उचित होइन” नेपालले भन्नुभयो ।
प्रधानमन्त्री ओली पार्टी अध्यक्षको जिम्मेवारीमा पनि रहनुभएकाले सरकारको तर्फबाट गम्भीर प्रकृतिका निर्णय गर्दा पार्टीसँग परामर्श गर्नु उचित हुन्छ भन्दै नेता नेपालले थप्नुभयो, “प्रधानमन्त्रीज्यूको आफ्नो काम गर्ने शैली छ, उहाँले त्यही गरिरहनुभएको छ, अर्का अध्यक्ष प्रचण्डलाई त्यो शैली मन नपरेको हुनसक्छ, दुवै अध्यक्ष बसेर संवाद गर्दा त्यो सजिलै समाधान हुन्छ ।”
गत शनिबार पार्टीका केही नेताहरु आफ्नो निवासमा आएर पार्टीको प्रभावकारिताबारेमा छलफल गरेको सत्य भएको तर त्यसलाई मिडियाले ठूलो विषय बनाएको उहाँले बताउनुभयो । “पार्टीका नेताहरुसँग छलफल, परामर्श हुनु सामान्य कुरा हो, तर मिडियाले त्यसलाई अलग ढङ्गले व्याख्या गर्दा समस्या आयो” उहाँले भन्नुभयो । पुनर्गठित नेकपा (एमाले) को अध्यक्ष समेत आफूलाई मिडियाले बनाइसकेको र आफूले त्यसलाई ठट्टाकोरुपमा लिएको प्रष्ट पार्नुभयो ।
आफूलाई भेट्न स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल, नेताहरु भानुभक्त ढकाल, डा. राजन भट्टराई, सूर्य थापा निवासमा आउनुभएको र उहाँहरुसँग पार्टीको प्रभावकारिताकै विषयमा केन्द्रित भएर छलफल भएको नेता नेपालले प्रष्ट पार्नुभयो । पछिल्लो कर्णाली घटनाले दुई अध्यक्षबीच केही तिक्तता उत्पन्न गरे पनि त्यो विषयले पार्टी फुट्ने अर्थ लगाउनु गलत भएको बताउनुभयो ।
नेकपाको गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको बाँकी सांगठनिक एकताको प्रस्ताव बनाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको थियो । दुई अध्यक्षले असोज मसान्तभित्र सांगठनिक एकताको सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै अन्तर पार्टी निर्देशन गर्नुभयो । तर बीचमा आएको पार्टीको आन्तरिक समस्याले गर्दा त्यो काम सम्पन्न हुन नसकेको नेताहरुको बुझाई छ । दुई अध्यक्षबीच सो विषयमा निरन्तर छलफल जारी रहेको र चाँडै त्यसको टुङ्गो लाग्ने स्थायी कमिटी सदस्य नेम्वाङले विश्वास व्यक्त गर्नुभयो ।
दुवै अध्यक्षलाई भेटी नेकपाका दोस्रो तहका नेताहरुले सुझाव र परामर्श दिइरहनु भएकाले पनि दुवै अध्यक्ष चाँडै ठोस निचोडमा पुग्ने विश्वास नेता नेम्वाङ्ले गर्नुभयो । केन्द्रीय कमिटी बैठक पनि एक महिना पछाडि सरेपछि सो बीचमा अध्यक्षद्वयले गृहकार्य गर्ने प्रशस्त समय प्राप्त गर्नुभएकाले अबको केन्द्रीय कमिटी बैठकबाट बाँकी निर्णयहरु भएर कार्यान्वयनमा जाने नेताहरुको विश्वास छ ।
तर केन्द्रीय सदस्य नेता नेपालले भने अब युवा पुस्ता नै नेतृत्वका लागि तयार हुनुपर्ने सुझाव दिनुभएको छ । “काम गर्ने जोश र जाङ्गर जति युवामा हुन्छ, त्यति अरुमा हुँदैन, पुराना पुस्ताका नेताहरुले अब स्वेच्छीक अवकाश लिँदा राम्रो हुन्छ” उहाँले भन्नुभयो । आफ्नो उदाहरण दिनुहुँदै नेपालले भन्नुभयो, “म पनि पहिले दिनको १८ घण्टा काम गर्थें तर अहिले जति मेहनतले काम गरे पनि १० घण्टा बढी गर्न सक्दिनँ ।” ६५ वर्ष पूरा भएका सबै नेताले राजनीतिक विश्राम लिनुपर्छ उहाँले भन्नुभयो ।