पढ्नै पर्ने | प्रदेश |

कालापानी क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्दैँ 

लोकेन्द्र जोशी

दार्चुला, कात्तिक २५ गते । कालापानी क्षेत्रमा सेवा विस्तार गर्ने उद्धेश्यले नेपाल टेलिकमले जिएसएम (नमस्ते) को टावर निर्माण शुरु गरेको छ । सिडिएमए (स्काइ) टावर मात्रै सञ्चालनमा रहेको ब्यास गाउँपालिका–१ छाङ्गरु स्वास्थ्यचौकी भवन नजिकै टेलिकमले नमस्तेको टावर निर्माणका लागि जग खन्ने काम शुरु गरेको हो । टावर निर्माणका लागि १८० क्विन्टल बढी टेलिकमका टावर तथा समान ढुवानी भइरहेको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा टेलिकमको लागि दुई वटा भवन निर्माण गरिएको छ । हेलिकोप्टरमार्फत टावरको समान ढुवानी शुरु भएपछि टावरका लागि चाहिने जग खन्ने काम शुरु भएको ब्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराले जानकारी दिनुभयो । ब्यासमा बाह्रैमास बस्ने गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि सञ्चारको आवश्यकता झनै बढेको छ ।

गृह मन्त्रालयले ब्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर पनि निर्माण शुरु गरिएको बताइएको छ । नमस्तेको टावर जडान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीसम्म यसको पहुँच पुग्नेछ । कालापानी देखिने डाँडामै नमस्ते फोनको रिपिटर टावर राखिन लागेको टेलिकमले जनाएको छ । यसअघि पनि ब्यासको छाङ्गरुमा रहेको सिडिएमए टावरले छियालेक, बुदी, गव्र्याङ्गका नागरिकलाई सहजरूपमा नेपाली फोनको सुविधा पुगेको थियो । हिमपात हुनुअघि नै टावर निर्माण गरेर सञ्चालन गर्ने तयारी रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो ।एसएम बिटिएससंगै सशस्त्र प्रहरीको भिएचएफ सञ्चार सेट पनि जडान गर्ने तयारी भएको छ । सशस्त्र प्रहरीलाई खबर आदानप्रदान तथा सञ्चार गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार जोडिन लागेको हो । सरकारले परनिर्भरता हटाउन दार्चुलाको ब्यास गाउँपालिकामा विशेष एकीकृत कार्ययोजना तयार पारेर विकास निर्माण थालेको छ ।