पढ्नै पर्ने | खुला |

जन्मजात अपांगता भएका दाजुभाइलाई घरमै पुगेर नागरिकता


बेलिना थापा

लमजुङ, कात्तिक २९ गते । जिल्ला प्रशासन कार्यालय लमजुङले जन्मजात अपांगता भएका दाजुभाइलाई घरमै पुगेर नागरिकता दिएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सुन्दरबजार नगरपालिका २, परेवाडाँडा हर्सेटारका २७ वर्षीय कुमार अधिकारी र २५ वर्षीय कमल अधिकारीलाई घरैमा पुगेर नागरिकता प्रदान गर्नुभएको हो । स्थानीय कृष्णबहादुर अधिकारी र सीतामाया अधिकारीका काइँलो छोरा कुमार र कान्छो छोरा कमललाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । उहाँले असहाय नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान थालिएको बताउनुभयो ।

अपांगता भत्ताका लागि बैंक खात अनिवार्य गरिएपछि कुमार र कमलका बुवा कृष्णबहादुर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । मुखले नबोल्ने, दुवैको हातखुट्टा नचल्ने, मान्छे देखेर डराउने भएकाले सवारी साधनमा हालेर प्रशासन कार्यालय लान नसकिएको हुँदा आफैं प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई भेट गरेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले आफैं आएर प्रदान गर्ने वचन दिएपछि फर्किएका उहाँले दुवै छोराको नागरिकता घरैमा पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

प्रशासन कार्यालयले जन्मदर्ताको आधारमा कुमारलाई २०५० साउन ११ गते र कमललाई २०५२ असोज १२ गतेको जन्ममिति राखेर नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालयका खरिदार राजेन्द्रप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार वडाध्यक्ष नवीनकुमार श्रेष्ठको सिफारिस र बुवा कृष्णबहादुर अधिकारीको सनाखतको आधारमा कुमार र कमललाई नागरिकता प्रदान गरिएको बताउनुभयो ।

पाँच छोरा र एक छोरी रहेको परिवारमा काइँला र कान्छोबाहेक सबै छुटिभिन्न भएका छन् । छोरीको विवाह भइसकेको छ । कृष्णबहादुर र सीतामायाले १÷१ जना छोरा सम्हाल्दै आएका छन् । दिसापिसाव सवै व्यवस्थापन गर्नुपर्ने, खाना खुवाउनुपर्ने, लुगा धुने, घरभित्रबाहिर ल्याउने लाने गर्दैमा दिन वित्ने गरेका अधिकारी दम्पत्लेती बताएका छन् । आमा सीतामायाले दुई छोरालाई स्यहार्नुबाहेक अरु कुनै काम गर्न नपाइने बताउनुभयो ।