जटिल अवस्थामा १९ वर्षीया गर्भवतीको हेलीकाेप्टरबाट उद्धार
नवीन शिशिर विक
बागलुङ, मंसिर २१ गते । बागलुङ बडिगाड गाउँपालिकाकी १९ वर्षीया गर्भवतीलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । प्राकृतिक रुपमा प्रसुति हुन समस्या देखिएपछि बडिगाड गाउँपालिका–१० दर्लिङकी बसन्ता विश्वकर्मालाई गण्डकी अस्पताल पोखरामा उद्धार गरिएको हो ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सुत्केरी उद्धार कार्यक्रम अन्तर्गत जटिल अवस्थामा विश्वकर्माको उद्धार गरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले जानकारी दिनुभयो । अत्यधिक रक्तश्राव हुनुका साथै जुम्लिया बच्चा रहेको अवस्था गर्दा सुविधा सम्पन्न अस्पतालमा रिफर गरेको बुर्तिवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिनुभयो ।
‘प्रसुतिको लागि अप्रेसन अनिवार्य थियो’ डा. मल्लले भन्नुभयो – ‘गर्भवतीको रगत समूह ‘ओ नेगेटिभ र एउटा बच्चा उल्टो अवस्थामा भएको हुँदा जोखिम लिनु उचित भएन ।’ प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कठिन र जटिल अवस्थामा परेका गर्भवतीको निःशुल्क उद्धार गर्दै आएको छ ।