विवाहको खर्च कटाएर वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलालाई सम्मान
जयकृष्ण यादव
इनरुवा, मंसिर २९ गते । सुनसरीको कोशी गाउँपालिकामा एक जोडीले आफ्नो विवाहको खर्च कटाएर गाउँका ज्येष्ठ नागरिक(वृद्धवृद्धा), अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सम्मान गरेको छ । जाडोबाट जोगिन तिनीहरुलाई कपडासहितको सम्मान गरेको हो । सुनसरीको कोशी गाउँपालिका ५ श्रीपुरजब्दी कुम्याहीका कुलदीप महतो र काठमाडौंकी रोजीना महतोले आदर्श विवाह गरी विवाहमा लाग्ने खर्च र फजुल खर्च समेत जोगाएर कपडासहित सम्मान गरेको हो । महतो जोडीले उक्त सम्मानसहित श्री राष्टिय आधारभूत विद्यालयका बालबालिकाको छात्रवृतिका लागि अक्षयकोषका लागि ५१ हजार रुपियाँ समेत हस्तान्तरण गरेको छ । महतो नवविवाहित जोडीले गाउँकै विद्यालयलाई अक्षयकोष स्थापनामा सहयोग गरेका छन् ।
सम्मान कार्यक्रममा कोशी गाउँपालिका ५ का वडा अध्यक्ष साह जमाल, जिल्ला समन्वय समितिका सदस्य मो. नौसाद, शिवनारायण महतो, जिनत महतो सहितकाले दोसल्ला, न्यानो कपडा सहित जेष्ठ नागरिक(वृद्धवृद्धा), अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सम्मान गर्नुभएको थियो ।
विवाह खर्चको रकम जोगाएर स्थानीय विद्यालयलाई रु ५१ हजार रुपियाँ प्रदान गरेका हुन् । नबदम्पतीका बुवाले अध्ययन गरेको विद्यालयका जेहेन्दार तथा न्यून आय भएकालाई छात्रवृत्ति प्रदान गर्न हजुर बुवा सुनर महतोको नाममा अक्षयकोष स्थापना गरेका हुन् । उक्त कोषबाट कक्षा ५ मा पढ्ने उत्कृष्ट विद्यार्थीलाई र गरिब तथा विपन्नलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका शिक्षक सागर पण्डितले बताउनुभयो ।
गाउँपालिकाका ४४ जेष्ठ नागरिक(वृद्धवृद्धा), १४ जना पूर्ण अपांगता भएका व्यक्ति र २८ जना एकल महिलालाई सम्मान गरेको आयोजकले जनाएको छ ।