पढ्नै पर्ने | स्वास्थ्य |

टाउको र शरीर सामान्य दुख्ने र थोरै आलस्य हुन्छ

कृष्णराज खनाल
वोस्टन, अमेरिका । अमेरिकामा लगभग सबैजसो अस्पतालमा कोरोनाविरुद्धको खोप पुगिसकेको छ र कतिपय डाक्टर तथा नर्सहरुले पहिलो चरणको खोप लिइसकेका छन् ।
यसै परिप्रेक्ष्यमा गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष नेपाली चिकित्सक केशव पौडेलले पनि सोमवार पहिलो खोप लिनुभएको छ ।
न्यूमेक्सिको स्थित लभलेस मेडिकल सेन्टरमा कार्यरत ४५ वर्षीय चिकित्सक पौडेलले अमेरिकी खाद्य तथा औषधि विभाग (एफडीए) द्वारा आपत्कालीन प्रयोगका लागि स्वीकृत भएका फाइजर र मोडर्नाको खोपमध्ये फाइजरको खोप लिनुभएको हो । यस समाचारदातासँग कुरा गर्दै डाक्टर पौडेलले ‘पहिलो खोपबाट आफूलाई कुनै पनि किसिमको शारीरिक खराबी उत्पन्न नभएको जानकारी दिनुभयो ।
फाइजरको गतहप्तादेखि र मोडर्नाको खोप यसै हप्तादेखि अमेरिकाका अस्पतालहरुमा दिन सुरु गरिएको हो । यीदुवै खोप करिब ९५ प्रतिशतप्र भावकारी भएको बताइएको छ ।
डाक्टर पौडेलले ‘खोप लिएपछि सामान्य हिसाबले केही समय टाउको दुख्ने, जिउ दुखेजस्तो हुने र आलस्य लागेजस्तो हुने गर्दछ, तर एलर्जी हुनेहरुलाई खोप लगाएको ३० मिनेटसम्म त्यही स्थानमा बस्नुपर्ने र अरुहरुलाई भने १५ मिनेट मात्र बसे पुग्ने जानकारी पनि दिनु भयो ।
कतिपय मानिसले खोप लिन डराइरहेको बारेमा प्रश्न गर्दा डाक्टर पौडेलले भन्नुभयो ‘यो वैज्ञानिकहरुले लामो समयको अनुसन्धान र परीक्षणपछि प्रमाणित गरेको कुरा हो । विज्ञानलाई हामी सबैले विश्वास गर्नुपर्छ, मान्नुपर्छ ।’उहाँले ‘मोडर्नाले उत्पादन गरेको खोप ३० हजार व्यक्तिमा र फाइजरले उत्पादन गरेको खोपमा ४० हजार व्यक्तिमा परीक्षण भइसकेको जानकारी दिँदै कुनै डर, शंका र हिचकिचाहट विना खोप लिनुपर्ने सुझाव पनि दिनुभयो ।
सोमवार साँझसम्म अमेरिकामा करिब ५० जना नेपाली चिकित्सक तथा नर्सहरुले कोरोनाविरुद्धको खोप लिएको जानकारी दिँदै डाक्टर पौडेलले ‘यो एन्टीबडी भाइरस हो, यो पूर्णतया सुरक्षित छ, यसले मानवीय जिनमा कुनै पनि खराबी उत्पन्न गर्र्दैन’भन्नुभयो । उहाँले ‘भाइरसहरु एउटै प्रजातिका हुने भएकाले सन् २००३ देखि नै सार्स र मर्सका भाइरसहरुको अध्ययनकै पछिल्लो कडीका रुपमा यो खोप आएकोले एफडीएले करिब एक वर्षको अन्तरालमा नै स्वीकृति दिएको हा’े भन्नुभयो ।
हाल अमेरिकामा खोप लगाउने र नलगाउने दुइ धारमा मानिसहरु विभक्त छन् । करिब ७० प्रतिशत मानिसहले खोपको पक्षमा वकालत गरेका छन् भने ३० प्रतिशत मानिसले भने खोप लगाउन हुन्न भनेर भनिरहेका छन् । सबैले खोप लगाउनपर्छ भनेर वाध्यकारी नियम भने अमेरिकामा छैन ।
वाइडेनलाई खोप  
यसैबीच, सोमवार नै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले पनि फाइजरको खोप लिनुभएको छ ।
७८ वर्षीय वाइडेनले आफ्नो गृह राज्य डिलावेरको नेवार्कस्थित क्रिस्चियन केयर अस्पतालमा कोरोनाविरुद्धको खोप लिनुभएको हो । यस अघि उपराष्ट्रपति माइक पेन्सले गत शुक्रवार नै खोप लिनुभएको हो भने राष्ट्रपति ट्रम्पलाई कोरोना लागेको कारण केही दिनपछि मात्रै लिन योग्य हुने बताइएको छ ।
यसैगरी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग इमफले अर्को हप्ता खोप लिने कार्यक्रम छ ।
(खनाल पूर्व गोरखापत्रकर्मी तथा अमेरिकामा कार्यरत पत्रकार हुनुहुन्छ )