जुम्लामा हिमपात: चिसोले जनजीवन प्रभावित
नेत्र शाही
जुम्ला, पुस २० गते । जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् ।
हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परेसँगै हिँउ जमेको हो । यस वर्ष मंसिरमा समान्य हिउँ परे पनि खासै हिउँ परेको थिएन । मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने स्थानीय जनाउछन । हिमपातका कारण भने हवाई यातायात प्रभावित भएको छ ।जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।
यसैगरी एक हप्तादेखि नै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माइनसबाट शून्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आइतवार न्यूनतम माइनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम बादल र हावा कम भएपछि शून्य दशमलव ६ रहेको जानकारी दिनुभयो ।
सडक मानवलाई कठिन
हिमपातसँगैको चिसोले जनजीवन प्रभावित भएको छ । विशेषगरी सडकमा रहेका नागरिकहरुका लागि चिसोले कठिन भएको छ । करिब एक वर्षदेखि चन्दननाथ नगरपालिका वडा नम्बर ३ नाओडारमा बस्दै आएकी मानसिक समस्या भएकी एक महिलालाई बस्न कठिन भएको छ । यद्यपि स्थानीय प्रशासनले उहाँको अवस्था अवलोकन गर्दै पुनःस्थापनाको तयारी गरेको छ । तर अत्याधिक चिसो र हिउँ परेका कारण दैलेख घर बताउने ती महिलालाई तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीय बताउँदै आएका छन् । यस्तै कालिकोट घर बताउने कमल नाम बताउने एक व्यक्ति लामो समयदेखि जुँगाड खोलाको तरकारी मण्डीमा बस्दै आएका छन् । उनको समेत मानसिक अवस्था बिग्रेकाे छ ।