पढ्नै पर्ने | फोटो फिचर | समाज |

हनुमन्ते घाटमा नुहाएर शुरु भयो माधवनारायण व्रत

यलु जोशी/तस्बिर विकास द्वारे
भक्तपुर, माघ १५ गते । भक्तपुरको हनुमन्तेस्थित हनुमानघाटमा बिहान नुहाएर माधवनारायणको औपचारिक रुपमा पूजाअर्चाना गरी मनाइएको छ । कोरोना महामारी (कोभिड १९)को कारण यसवर्ष मूल पुजारी सरोजन राजोपाध्यायले मात्र एक महिना वर्त बसेर पूजा गर्ने जनाइएको छ ।
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको एक महिनासम्म सयौँको संख्यामा व्रत बसेर मनाउने गरिन्छ ।
माधवनारायण वर्त सेवा समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितका अनुसार व्रत लिनेहरु बालकदेखि बुढाबुढीहरुसम्म हुने भएकाले उहाँहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर यस वर्ष औपचारिक पूजामा मात्र सीमित गरिनेछ ।
उहाँको अनुसार साँखुमा व्रत बस्नेहरु सीमित गरेको कारण भक्तपुरमा बढेको छ तर यहाँ ब्यवस्थापनको लागि जनमानसको कमी र सानो ठाउँको भएको कारण गर्न सक्ने अवस्था छैन ।
व्रत बस्न आएका भक्तजनको पूजासामग्री लिएर मूल पुजारीले गरिदिने ब्यवस्था मिलाउनुको साथै माधवनारायण नुहाउने क्रममा भक्तजनहरुलाई पनि घाटमा नुहाउने अनुमति दिने जानकारी दिनुभयो ।
रञ्जितले भक्तालुुहरुको चापको कारणबीचमा पनि एकादशी (२५ गते)को दिनदेखि ब्रतालुहरुलाई व्रत बस्न अनुमति दिने भनेर कुरा भइरहेको पनि जानकारी दिनुभयो ।
ब्रत बस्न नदिए पनि मानिसको चहलपहल धेरै थियो । कोही भगवान लिन जाने तरखरमा थिए त कोही व्यवस्थापनको कार्यमा व्यस्त देखिन्थे । श्रीस्वस्थानीको व्रत बसेमा वा कथा सुनेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकोले हरेक वर्ष व्रत बस्ने गरेको ब्रतालु विज्ञान पक्काले बताउनुभयो । विगत दश वर्षदेखि व्रत लिनुभएको उहाँले यो वर्ष भने पहिलो दिन र अन्तिम दिनमात्र व्रत बस्ने जानकारी दिनुभयो ।
पक्काले कोभिड १९ को कारण ब्रत बस्न मनाही भएको कारण पहिलो दिन बिहीवार नुहाउन आएको बताउनुभयो । पहिलो र अन्तिम दिन ब्रत बसे पनि महिना दिनकै मोक्ष प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो ।
यता हनुमानघाट भजन मण्डलका सदस्य कृष्णहरि कोजुले पहिलो दिनमा नै सबै व्रत बस्नुपर्छ भन्ने छैन । धेरै ब्रतालुहरुले श्रीपञ्चमीको दिनदेखि पनि लिने गरेको जानकारी दिनुभयो । उहाँले धेरै अन्तिम दिनमा पनि आउने बताउनुभयो । एक महिनासम्म माधवनारायणको भजन गाउनुपर्ने जानकारी दिनुभयो ।
संस्कृतिविद ओम धौवडेलले व्रत बस्ने विधिमा कठिनाइ भएको जानकारी दिदै व्रतालुको शरीर त के छायाँमा पनि छुन हुँदैन भन्ने जनविश्वास रहेको बताउनुभयो । माघव्रतको समयमा खाना खाने बेलामा कुनै कारणवश खानामा कपाल या कनिका आएमा व्रतालुले सो खाना खान नहुने विधि रहेको जानकारी दिनुभयो । त्यस्तैगरी व्रत सकेर नारायण पुजा जाँदा माधबनारायण भनेर जप्दै जानुपर्छ ।
‘यहाँका विधिमा कठिनाइ भए पनि एउटा फाइदा छ, व्रतालुले पूरै एकै महिना व्रत बस्नुपर्दैन’ संस्कृतिविद धौभडेलले भन्नुभयोे, ‘आफूलाई कति दिन बस्न मन पर्छ, पूरै एक महिना, १४ दिन, ७ दिन या समापनको एकै दिन, जति दिन मन पर्यो त्यति दिन व्रत बस्न पाइन्छ ।’
भक्तपुर नगरपालिकाको अगुवाइमा हनुमानघाट परिसरमा पुनःनिर्माणका कार्य भइरहेको छ । माधवनारायणको विशेष पूजा गर्नु पहिले स्नान गर्न खोलामा पोखरी निर्माण गरेको छ । सो पोखरीमा खोलामा बग्ने ढल मिसिएको पानी नजाने गरी व्यवस्था मिलाएको श्री माधवनारायण सेवा समिति भक्तपुरले जनाएको छ ।
ने.स. ७२२ माघ धलं नामक व्रतधर्म माघ महिनाभरि माधवनारायणको अनुष्ठान गरी माघ पूर्णिमा कथा सुन्ने चलन चलिआएको कुरा पुरानी थ्याः सफु (किताब) मा उल्लेख गरिएको छ । उक्त व्रतानुष्ठान भक्तपुरका राजोपाध्याय ब्रह्माणहरुले पनि चलाउँदै आएका थिए ।
ने.स. ८४९ मा रणजित मल्लले आफ्ना छोराहरुलाई यस व्रतमा संलग्न गराई माध नारायाण, लक्ष्मी, सरस्वतीको ढुंगाको मूर्ति हनुमानघाटमा स्थापना गरी उक्त व्रतधर्म भक्तपुर उपाकर्म गुठीबाट आलोपालो चलाएकाे धौभडेलले जानकारी दिनुभयो ।
उहाँले वि.स. २०४२ सालतिर श्रद्धालु भक्तजनहरुले ‘माघव्रत ‘ को पुनरुत्थान गरी हनुमानघाटमा माधवनारायणको पूजा, व्रतकथा श्रवण आदि चलेको हो । यो हालसम्म पनि परम्पराकै रूपमा चलि आएको प्रष्ट पार्नुभयो । यो व्रतबाट पार्वतीले महादेव पाएको मात्र मनोकांक्षा नभई हरेक मनोकांक्षा पूरा गर्ने आस्थाको धरोहरका रुपमा लिन सकिन्छ ।