पढ्नै पर्ने | प्रदेश |

चिसो बढ्याे, स्थानीय बेसी झरे, गाउँ खाली

चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १५ गते । ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङका बासिन्दाले चिसो छल्न हिजोआज गाउँ छाडेका छन् । जाडो मौसम तथा हिउँ पर्ने समय सुरु भएसँगै जिल्लाको उत्तरी फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्सा र मिक्वाखोला गाउँपालिका–५ पापुङका बासिन्दाले चिसो छल्न गाउँ छोडेका हुन् ।
पुस महिनापछि मौसम बद्लिँदै गएको अर्थात बाक्लो हुस्सु र कुहिरो लागेको साथै तुसारो पर्न थालेपछि हिमाली बस्तीका बासिन्दाले गाउँबस्ती छोड्न सुरु गरेका हुन् ।
हिमपातको समयमा अत्यधिक जाडो हुने हुँदा चिसोबाट बच्नका लागि घुन्साका आधा बासिन्दाले अहिले गाउँ छोडेका छन् भने तोक्पेगोलाका पूरै बासिन्दाले गाउँ छोडेका छन् ।
चिसो छल्नलाई गाउँ छोडेर घुन्साका बासिन्दा यतिबेला सदरमुकाम फुङ्लिङबजारसहित काठमाडौं, धरान, पशुपतिनगर लगायतका ठाउँमा गएर बस्ने गरेका छन् । गाउँ छाड्नेहरु कोही आफन्तकहाँ र कोही कोठा भाडामा लिएर बस्ने गरेका घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो । चिसो छल्नकै लागि केही साताअघि फुङ्लिङ बजारमा आएर कोठा भाडामा लिएर बस्दै आउनुभएका शेर्पाले हिउँ पर्ने सिजन सकिएपछि मात्र गाउँ फर्किने बताउनुभयो ।
उहाँका अनुसार विगतदेखि नै पुस, माघ र फागुन गरी तीन महिनासम्म घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छोड्ने गरेका छन् । पहिले–पहिले घुन्साका पूरै बासिन्दाले चिसो छल्न गाउँ छोड्ने गरेका थिए भने पछिल्लो केही वर्षयता आधा परिवार गाउँमै बस्ने गरेका उहाँले जानकारी दिनुभयो । चिसोले असर नगर्नेगरी व्यवस्थित घर बनाएका परिवार अहिले गाउँमै बस्दै आएका उहाँको भनाइ छ । त्यस्तै आर्थिक अभाव र याक चौंरीका गोठ रहेको कारण केही परिवार चिसोसँग सङ्घर्ष गर्दै गाउँमै रहेका बताइएको छ ।
कञ्चनजङ्घा हिमाल प्रवेशद्वारको रुपमा रहेको घुन्सा बस्ती तीन हजार ५९५ मिटरको उचाइमा अवस्थित छ । हाल घुन्सा गाउँमा २८ परिवार स्थायी रुपमा बासोबास गर्दै आएक छन् । घुन्सामा बसोबास गर्दै आएका उक्त परिवार सङ्ख्यामध्ये हाल चिसो छल्नलाई दर्जन बढी परिवारले गाउँ छोडिसकेका स्थानीय पेमा शेर्पाले बताउनुभयो ।
यस्तै मिक्वाखोला गाउँपालिका वडा नं. ५ पापुङको तोक्पेगोला बस्ती भने पूरै खाली भएको छ । पापुङका वडाध्यक्ष डण्डु लामाका अनुसार तोक्पेगोलामा हाल १० परिवार जति स्थायी रुपमा बस्दै आएका र अहिले सबै परिवारले चिसो छल्न तोक्पेगोला बस्ती छोडेका छन् । तोक्पेगाला छोड्ने अधिकांश परिवार तल्लो पापुङ बस्तीमा झरेका छन् भने केही परिवार काठमाडौं लगायतका ठाउँमा गएका वडाध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार तीन हजार ८०० मिटर बढी उचाइ रहेको तोक्पेगोला बस्ती छोडेकाहरु चैतपछि मात्र गाउँ फर्किनेछन् ।