मधेसमा मासिँदै खपडाको छाना, पहिचान गुम्ने डर
जनार्जन खत्री
सर्लाही, माघ २१ गते । तराई–मधेसका ग्रामीण बस्तीमा बाक्लै देखिने खपडाको छानो हालेका घर अहिले देख्न मुस्किल पर्न थालेको छ ।
केही पुराना घरहरुमा बाहेक नयाँ बनेका घरमा खपडाको छानो देखिँदैन । भर्खरै बनाइएका नयाँ घरहरूमा टाली र एल्बेष्टर हालिएका छन् । ‘मधेसमा अहिले खपडाको छानो भएका घर देख्न मुस्किल पर्छ, केही–केही ठाउँमा मात्रै देखिन्छ’, धनकौल गाउँपालिका–१, सेखौनाका युवा राजेश कुशवाहाले भन्नुभयो, ‘मधेसको मौलिकताका रुपमा रहेको खपडाको छानो लोप हुने अवस्थामा पुगेको छ ।’
खपडा माटोबाट बनाइन्छ । खपडाको छानो भएको घरमा चिसो मौसममा न्यानो र गर्मी मौसममा शीतल प्रदान गर्ने बुढापाका बताउँछन् । टाली तथा एल्बेष्टरभन्दा पनि खर्चिलो हुने भएकाले समेत खपडाको प्रयोग गर्न छाडिएको हो । प्रयोग घटेपछि खपडा बनाउनेहरू समेत पछिल्लो समय अन्य पेशा व्यवसायमा आबद्ध हुन थालेका छन् ।
जिल्लाको सुदूर दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले आर्थिक अवस्था सुधार हुँदै गएकाले पनि खपडाको साटो टाली तथा एल्बेष्टर प्रयोग गर्ने क्रम बढेको बताउनुभयो । ‘अब धेरैजसोले पक्की घर बनाउन थाल्नुभएको छ, कच्ची घर बनाउँदा पनि टाली तथा एल्बेष्टर बढी प्रयोग भइरहेका छन्’ गाउँपालिका अध्यक्ष बर्माले भन्नुभयो ।
खपडाको अत्यधिक प्रयोग हुने जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका धनकौल, बसबरिया, रामनगर, बलरा, गोडैता, विष्णु, चक्रघट्टा लगायत पालिकामा पछिल्लो समय पक्की घर धेरै बन्न थालेका छन् । दक्षिण–पूर्वी भेगमा पर्ने ब्रह्मपुरी, पर्सा, चन्द्रनगर, हरिपूर्वा लगायतका क्षेत्रमा पनि खपडाको छानो हालेर घर बनाउन छाडिएको छ ।
सदरमुकाम मलङ्गवा निवासी पूर्व शिक्षक कौशलकिशोर राय बढ्दो शहरीकरणले गर्दा मधेसका धेरैजसो मौलिकता हराउँदै गएका बताउनुहुन्छ । ‘खपडाको छानो मात्रै होइन, मधेसलाई चिनाउने अधिकांश मौलिक कला वस्तु लोप हुँदै गएका छन्’ रायले भन्नुभयो, ‘मधेसमा अन्य क्षेत्रको संस्कृतिको प्रभाव बढ्दो छ ।’