कोरोनाले व्यासबासीलाई थपेको पीडा : न पुल बने, न तुईन चले
लोकेन्द्र जोशी
दार्चुला, माघ २२ गते । कोरोना महामारीका कारण गत चैत १० गतेदेखि सीमा नदी महाकालीमा लगाइएका तुइन बन्द गरिएको छ । तुइन रोकिँदा व्यास गाउँपालिकाका स्थानीय अनकन्टार टापुमा बसेजस्तो महसुस गर्न थालेका छन् ।
सरकारी कामकाजमा निस्कदा होस् वा बजार जाँदा, दार्चुलाको व्यासवासीलाई तुइन नचढी सुखै छैन् । तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन । व्यास गाउँपालिकाको धौलाकोटमाथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली तर्नैपर्छ, स्थानीय दिपक भट्टले भन्नुभयो, महाकालीमा पुल नबनेकोले हाम्रा लागि तुइनको विकल्प छैन् । नेपाल सरकारले नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरेको सुनिन्छ, यहाँको तुइन पनि खोलिदिए हुने, व्यास गाउँपालिका–३ का रमेशसिंह कुँवरले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो कार्यकाल अर्थात २०७२ सालमै दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेपछि यहाँका बासिन्दा उत्साहित भएका थिए । तर तुइन विस्थापन कार्यक्रम अन्तरगत स्वीकृत भएका झोलुगें पुल अझै निर्माण सम्पन्न भएका छैनन् । उल्टै कोरोना महामारीमा तुइन पनि बन्द गरिएपछि समस्या झनै चुलिएको व्यासवासी बताउछन् ।
केहि ठाउँमा पुल बने, केहि ठाउँमा पुलको काम शुरु पनि भयो, तर महाकाली पारपार गर्ने मुख्य नाकाका रुपमा रहेका चार वटा स्थानमा निर्माणाधीन पुलहरुको काम सम्पन्न नहुदा व्यास र दुहुँ क्षेत्रका स्थानीयले सास्ती मोलेर तुइन तर्नुको विकल्प पाएका छैनन् ।
स्वदेशकै बाटो हिँडेर सदरमुकाम पुग्न दुई दिन लाग्छ, व्यास गाउँपालिका–२ राप्लाका हरकसिंह बुढाथोकीले भन्नुभयो, तुइनबाट भारत पुगेर मोटरमा जाँदा एक दिनमै सदरमुकाम पुगेर घर फर्किन सकिन्छ । सरकारले नभएको पुलभन्दा भएकै तुइन चढ्न दिए पनि जाती हुने उहाँको भनाई छ । महाकालीको तुइन विस्थापन गरेर भरपर्दो माध्यमबाट नेपाल–भारत आउजाउ गर्ने वातावरण बनाइदिन स्थानीयले दशकौंदेखि सरकारलाई आग्रह गर्दै आएका थिए ।
नेता, जनता र कर्मचारी सबैले सदरमुकामबाट व्यास आउजाउ गर्नका लागि तुईनकै साहारा लिने गरेका छन् । निर्वाचनको बेला समेत नेताहरुले चुनावी प्रचारप्रसारमा गाउँ जान जोखिमपुर्ण तुईनकै प्रयोग गर्ने गरेका छन् । पुल तर्ने क्रममा कतिपय स्थानीयले अल्पायुमै ज्यान समेत गुमाएका छन् । बहुदल आएदेखि नै नेताहरूलाई पुल बनाइदिन गुहारेका थियौं, स्थानीय जगतसिंह धामीले भन्नुभयो, ‘तर पुल अहिलेसम्म बनिसकेका छैनन्।
दार्चुलामा नेपाल–भारत जोड्ने महाकालीका तुइन विस्थापन गर्न १० स्थानमा झोलुगें पुल बनाउन सिफारिस गरिएको थियो । तीमध्ये निर्माणाधीन चार वटा पुल पनि कोरोना महामारीका कारण अलपत्र परेका छन् । सुरक्षाका हिसाबले यो क्षेत्रमा पुल निर्माणका लागि भारतीय पक्षले आलटाल गरेकाले पनि ढिलाइ हुन पुगेको स्थानीयहरुको भनाई छ । डेढ वर्षअगाडि भारतले व्यासका बडुगाउँ, मडगाउँ, माल र मालिकार्जुन गाउँपालिकाको बाकुमा झोलुङ्गे पुल बनाउन सहमति जनाएको थियो । निर्माण व्यवसायीका अनुसार कोरोना महामारीको कारण भारततर्फ सामान लैजान नसकेर काम रोकिएको छ ।
दुई महिनादेखि सामान भारत लैजान सहजीकरण गरिदिन जिल्ला प्रशासनलाई लिखित रूपमै अनुरोध गरेपनि सुनुवाइ नभएको पुल निर्माणमा संलग्न मनमालिका निर्माण सेवा कञ्चनपुरका प्रोप्राइटर रघुवीरसिंह साउदले बताउनुभयो । दुई पुल बनाउने जिम्मा पाएको मनमालिका निर्माण सेवाले दुवै ठाउँमा ६० प्रतिशतभन्दा बढी काम सकिएको जनाएको छ । व्यास गाउँपालिका–६ बडुगाउँमा एक सय २५ मिटर, २ नम्बर वडाको मालमा एक सय ३५ मिटर, ४ नम्बर वडाको मडगाउँमा एक सय १६ मिटर र मालिकार्जुन गाउँपालिका–६ बाकुमा एक सय ३५ मिटर लम्बाइको पुल बन्दैछन् । बडुगाउँ र बाकुको झोलुगें पुल निर्माणको जिम्मा मनमालिका निर्माण सेवा कञ्चनपुरले दुई करोड ५५ लाख ६४ हजारमा पाएको छ । माल र मडगाउँ को झोलुगें पुल बनाउन दुई करोड ७३ लाखमा खम्पाचे रुबिना जेभी काठमाडौंले जिम्मा पाएको छ । निर्माणाधिन पुलहरुको काम छिटो सम्पन्न गरिदिन स्थानीयले सरकारसंग अनुरोध गरेका छन् ।
२०७४ सालको निर्वाचन प्रचारप्रसारको क्रममा महाकाली नदीमा तुईन तरेर व्यास जानुहुदै व्यासकै स्थानीय एबं प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा । तस्बिर ः लोकेन्द्र जोशी÷दार्चुला ।