पढ्नै पर्ने | प्रदेश |

डोरीमा भुन्डिएर भीरमा पदमार्ग बनाइँदै 

ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २४ गते । पर्यटन विकासको राम्रो सम्भावना रहेको धौलागिरि आइसफल जाने पदमार्ग निर्माण गर्न स्थानीयहरु जुटेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयहरु धौलागिरि आधार शिविर जाने पर्यटक पदमार्ग बनाउन ज्यानको बाजी थापेर काम गरिरहेका हुन् । पर्यटनको राम्रो सम्भावना भएर पनि पछि परेको स्थानीयहरुको गुनासो रहेको छ ।
सहज पदमार्ग नहुँदा आकर्षक पर्यटकीय गन्तव्य भए पनि यो क्षेत्र ओझेल परेको छ । पदमार्ग बनाउन संघीय सरकारको पर्यटन मन्त्रालयले क्रमागत रुपमा बजेटको व्यवस्था गरेको छ ।


चालू आर्थिक वर्षमा मन्त्रालयले २५ लाख रुपियाँ विनियोजन गरेको छ । मन्त्रालयले बजेटको व्यवस्था गरिदिएपछि चिमखोखाका स्थानीयहरु उत्साहित हुँदै कहालीलाग्दो भीरमा झुन्डिएर पदमार्ग बनाउन जुटेका छन् । गाउँदेखि दुईदिनको बाटोमा पर्ने जंगलमा बास बसेर कोखे भीरमा पदमार्ग बनाउन स्थानीयहरु कस्सिएका छन् । पदमार्गका लागि उनीहरुले श्रमदान पनि गरेका छन् ।
सदरमुकाम बेनीदेखि छोटो र आर्कषक पर्यटकीयस्थल भएकाले पदमार्ग निर्माण गरी पर्यटन भित्र्याउने लक्ष्य गाउँलेहरुको छ । बेनीदेखि ४ दिनमा धौलागिरि आइसफल पुग्न सकिन्छ ।
चिसो मौसममा जंगलको ओडारमा बसेर चिमखोलाबासीहरुले पदमार्ग बनाउँदै छन् । उनीहरुले भीरमा एउटा डोरीको भरमा काम गरिरहेका छन् । चिमखोलाका दिनेश घताने तीन महिनादेखी घर नगई जङ्गगलको एउटा ओडारमा बसेर पदमार्ग निमार्णमा खटिनुभएको छ ।
‘‘यहाँ स्थानीयबासीहरुको २० जनाको टोलीले काम गरिरहेका छ । सञ्चार सम्बन्ध पनि विच्छेद छ । चिसो मौसम छ, बसार्इं कष्टपूर्ण छ । जोखिम मोलेर कहालीलाग्दो भीरमा काम गरेका छौं ।’’–घतानेले भन्नुभयो ।
पदमार्ग बनाउन सकियो भने पर्यटक भित्रिने आशा लिएका छौं, उहाँले भन्नुभयो । धौलागिरी हिमालको आधार हुँदै मुस्ताङको लेते पुग्न सकिने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको हो ।
कुइने मंगलेको छहरीदेखि आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माणले तीब्रता पाएको छ । पदमार्ग बनाउन कोखे भिरको नजिकै ओडार त्रिपाल टाँगेर बास बसेको प्रविन पुनले बताउनुभयो । डोरीको भरमा जोखिम मोलेर पदमार्ग बनाउन जुटेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले यस क्षेत्रमा पदमार्ग निर्माण र पर्यटन विकासका लागि डिपिआर तयार गरी अघि बढेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्रयाक निर्माण गरिसकिएको छ ।
धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जंगली पशुपंक्षी र तिनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न पाउनु यस पदमार्गमा थप आकर्षणको रुपमा रहेको चिमखोलाका गमबहादुर पुनले बताउनुभयो ।
पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमंगले, दोबालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडेको छ ।