पढ्नै पर्ने | प्रदेश |

बाजुराका ग्रामीण सडक धमाधम कालोपत्रे हुँदै

शेरबहादुर सार्की
बाजुरा, फागुन १ गते । साँफे मार्तडी सडक राजमार्ग सदरमुकाम पुग्न धेरै समय लागेपनि अहिले गाउँका सडक भने चाँडै कालोपत्रेको तयारीमा छन् । २०५२ सालमा सिलानेस गरिएको साँफे मार्तडी राजमार्ग २०६५ साल कालोपत्रे काम सुरु गर्दै २०७३ साल पछि मात्र मार्तडी पुगेको थियो ।
अहिले प्रदेश सरकारले ग्रामिण सडकका लागि करोडौँ बजेट विनियोजन गर्दै गएपछि गाउँका सडक पनि चाँडै नै कालोपत्रे हुने तयारीमा रहेका हुन् । केही वर्षदेखि कच्ची सडकको रुपमा रहेका ग्रामीण सडक कालोपत्रे गर्नका लागि प्रदेश सरकारले रकम विनियोजन गर्दै आएपछि ती सकड कालोत्रपे हुन लागेका हुन् ।
गत वर्ष मात्रै बाजुराका तीन वटा ग्रामीण सडक कालोपत्रेका लागि वजेट विनियोजन गरिएपछि अहिले सो सडकमा धमाधम कालोपत्रे काम तीब्ररुपमा अघि बढिरहेको छ ।
सङ्घीय सरकारबाट सडककै लागि बजेटलाई उच्च प्राथमिकता दिएसँगै प्रदेश र स्थानीय सरकारले पनि ग्रामिण सडकलाई प्राथमिकता दिन थालेको छ ।
सुदूर पश्चिम प्रदेश सरकारको लागतमा तीनवटा ग्रामीण सडक मध्य मार्तडी घट्मुना सडकको कालोपत्रे कार्यको गत वर्षमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले शिल्यान्यास गर्नुभएको थियो ।
सडक निमार्ण कार्यका लागि १५ करोड ८३ लाख ७२ हजार ७६८ रुपिँया धुलीखेत ग्वालबा स्यामा एण्ड शंकर जेबिले ठेका लिएको छ । मार्तडी देखि भौनेरा सडक कालोपत्रे कामका लागि गत कात्तिक ७ गते देखि ०७८ पुस १५ गते सक्ने गरी सम्झौता भएको छ ।
सडक करिब आठ मिटर चौडाइमध्ये सात मिटर कालोपत्रे र एक मिटर ढल निकास गर्ने गरी कालोपत्रे हुने भएको छ । यस्तै सेरा आटिचौर ११ किलो मिटर सडक मध्ये करीब ६ किलोमिटर सडक कालो पत्रको काम सुरु भएको छ ।
झण्डै १५ करोड भन्दा बढी लागतमा बल्देबाट धुरालसैनसम्म पहिलो चरणमा कालोपत्रे काम सुरु भएको हो । झण्डै छ करोड भन्दाबढी बजेट राखेर बाटो निमार्ण कार्यको काम सुरु भएको हो ।
जिप सेवा सञ्चालन् भइरहेको सडकलाई थप विस्तार गर्ने गरी कामको थालनी गरिएको बूढीगङ्गा नगरपालिका २ का वडा अध्यक्ष हीरा थापाले बताउनुभयो ।
बल्दे आटीचौर हुँदै थामलेख सम्म जाने यो सडकलाई कालोपत्रेका लागि गाउँपालिकाले पनि नियमित बजेट विनियोजन गर्दै आएको खप्तडछेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।उहाँले भन्नुभयो, अहिले बल्दे देखि धुरालसैनसम्म मात्र कालोपत्रे हुने र त्यसपछि यो सँगै आटीर्चौर हुँदैथामलेख सम्म कालोपत्रे गर्ने गाउँपालिकाकै योजना छ ।