पढ्नै पर्ने |

नर्वेबाट नेपालले सिक्नैपर्ने कुरा

विष्णुमाया विभु
अध्ययन र कामको सिलसिलामा एक दशक लामो नर्वे बसाई र यहाँ रहेर समाजशास्त्रमा विद्यावारिधि गर्ने क्रममा नर्वेली समाजलाई नजिकबाट नियाल्ने मौका पाइरहेकी छु । यसरी नियाल्दा नेपाली र नर्वेली समाजबीच आकाशपत्तालको फरक भेटिन्छ । यो भिन्नतालाई विभिन्न समाजशास्त्रीय दृष्टिकोणबाट हेर्नसकिन्छ । समानताका दृष्टिले, विशेषगरी लैङ्गिक समानताको दृष्टिकोणबाट हेर्दा नर्वेली समाजको संरचना महिलावादी छ भने नेपाली समाजको पुरुषवादी । तर महिलावादी भन्नुको अर्थ नेपालमा पुरुषवादी भएकोले पुरुष माथि भए झैँ महिला माथि भन्ने चाहीँ होइन तर पनि प्रजनन् भूमिका र आमा दायित्वका कारण (जस्तै बच्चा जन्माउने, स्तनपान, शिशु(स्याहार आदि) का कारण बाल(बालिका जिम्मेवारीका सन्दर्भमा नर्वेली कानुनले व्यावहारिक रुपमा महिलालाई थोरै प्राथमिकता दिने गरेको पाइन्छ । तर यो विभेदका दृष्टिले भने बिल्कुलै होइन । यो त केवल आमा(शिशु अनुराग र जैविक निकटता का दृष्टिले मात्र हो । यहाँ बिद्यार्थीका कापीमा मात्र होइन यहाँ कानुन र सामाजिक अभ्यास दुबैमा लैंगिक समानता छ । तसर्थ नर्वे
लैंगिक समानताको मापनमा विश्वकै शिखरमा उभिन सफल छ ।
नेपाल लगायत विश्वका कैयौं मुलुकमा अझै पनि महिलालाई कमजोर, असहाय तथा दोस्रो दर्जाको नागरिकको रुपमा लिईन्छ तर नर्वेमा पुरुष र महिलामा शारीरिक बनावट बाहेक कानुन र समाजले खासै कुनै विभेद गरेको छैन । लैंगिक दृष्टिले मात्र होइन जात(जातीय, बर्गीय र अन्य विविध पक्षमा समेत समानता कायम गर्न नर्वे सफल देखिन्छ । यद्पि आप्रवासीहरूको संख्या बढ्दै जाँदा नगण्य रुपमै भए पनि देखिन थालेको जात( जातीय बिभेदको सत्य तर्फ पुरै आँखा चिम्लिन भने मिल्दैन, जुन नर्वेली समाजको भावी चुनौतीको रुपमा अघि बढ्दै छ । मुख्य गरी जातीय, लैङ्गिय, वर्गीय विभेद ज्यादै न्यून हुनु, हाकिम देखि सामान्य कर्मचारी सम्मको श्रम, सम्मान र पारिश्रमिकका हिसाबले समेत ठुलो अन्तर नहुनु आदि विशेषताले गर्दा नै नर्वेलाई आज संसारकै एक सभ्य, समृद्ध, कल्याणकारी, शान्त, सुरक्षित र समानताको मुलुक मानिएको छ । यहाँ महिला पुरुष धनि गरिब, सुन्दर कुरुप, शक्त अशक्त वा अन्य कुनै वर्गभन्दा पनि मान्छे भएर बाँच्ने अधिकार सबैमा छ ।
लैंगिक मात्रै होईन, नर्वेमा सामान्यत कुनै प्रकारको विभेद छैन अर्थात् नेपाल र अन्य मुलुकका तुलनामा ज्यादै नगन्य छ । समाजशास्त्रीहरु भन्छन्र असमानता सुन्य समाजको परिकल्पना असम्भव छ । तसर्थ नर्वे समानताको हिसावले यतिबेला जति माथि छ त्यो प्रशंसा योग्य छ । विश्वका विकसित मुलुकहरु मै पनि सामाजिक तथा लैंगिक विभेदले निम्त्याएका विविध हिंसाका घटना भैरहेका समाचार सुनिन्छ, जस्तै अमेरिका, फ्रान्स, बेलायत आदि। नर्वेमा विगत एक दशक भन्दा बढी समय विताइरहँदा पनि त्यस्ता घटना सुन्न परेको छैन । यस्तो समतामूलक समाजको निर्माण गर्न बच्चा जन्मेदेखि नै घर(परिवार, छरछिमेक, गाउँ सहर, शिशु स्याहार केन्द्र र बिद्यालय हुदै उसको सम्पर्कमा रहने समाजका हरेक क्षेत्रमा उसले सोही बमोजिमको सामाजिकीकरण र सामाजिक संयन्त्र भित्र हुर्किन बढ्न र पढ्न पाउनुपर्छ । जुन नर्बेली बालबालिकाले धेरै हदसम्म पाउँदै आएका छन् । शुरुवाती चरणमा जटिल देखिए पनि परिवार समाज, राज्य र कानुन साँच्चै तयार भएको खण्डमा यो कुनै गर्न नसकिने काम अबश्य पनि होइन । यसकारण नर्वेबाट नेपाल लगायतका संसारका बिभिन्न मुलुकहरुले सिक्नैपर्ने र सिक्न सक्ने धेरै नै कुरा छन्।
त्यसमध्य सबैभन्दा महत्वपूर्ण कुराचाँही समानता हो । राज्यले सबै नागरिकलाई बराबरी व्यवहार गर्यो भने समाज अगाडि बढ्छ। जुन देशमा नरनारी बीच विभेद हुन्छ त्यस्तो देश असन्तुलित हुन्छ, जुन देशमा नर नारी समान छन् दुवै शिक्षित छन् ती देशमा विकास र समृद्धि भएको छ । यसर्थ विकास र परिवर्तनका लागि सर्वप्रथम राज्यले सबै खालका सामाजिक तथा लैंगिक असमानता हटाउन लागिपर्नुपर्ने देखिन्छ । किनभने शान्ति, समृद्धि र अमनचैनको मुहान नै समानता हो भने हिंसा द्वन्द्व र अराजकताको मुख्य केन्द्र नै विभेद । अधिकार र अवशरको असमान बितरण नै समाज बिकासका विरोधी हुन् जसले परिवार र समाजमा हिंसा द्वन्द्व र अराजकता निम्त्याउँछ र जसले विश्वव्यापीकरणको होडमा होमिएको आजको युगमा छिमेकी मुलुक हुदै सिंगो बिश्वलाई प्रभाव पार्न सक्दछ । मान्छेका हिसाबले एक जात मान्छे र शारीरिक बनावट  प्रजनन भूमिका र सृष्टि निरन्तरताका हिसाबले दुई जात (महिला र पुरुष ( भिन्नता बस यति नै हो र यत्ति नै हुनुपर्छ । योभन्दा बढी वर्गीकरण त्यो समाजको उल्टो मति र उँधो गतिको ओरालो यात्रा सिवाय केही होइन । भनिन्छ स्वर्ग नर्क मरेपछि होइन ज्युँदैमा देखिन्छ जुन हाम्रै हातमा छ र जुन हामी आफैले बनाउछौं र स्वयंले भोग्छौं, भोगीरहेका छौं । सरल जीवनलाई मान्छे आफैले जटिल बनाउँछ र अनि त्यसैमा दुखि हुदैँ बाँच्छ । आफू अल्छी गर्छ र अरुको प्रगतिमा इष्र्या गर्छ । यस्तै नियतिले गर्दा व्यक्ति र उ बसेको समाज पछि पर्छ । मनुष्यको वास्तविक अस्थित्व र पहिचान नै शान्ति र प्रेम हो तर आज पनि धेरै समाजमा मानिसले आफ्नो अस्थित्व नै बिर्सेर आधुनिकताको नाममा आडम्बरको खोल ओढेर बचिरहेको छ । कतै फेरि बम बारुद बोकेर शान्तिको खोजीमा भौतारिरहेको छ मान्छे । यी सबै हामीले देखे भोगेकै कुरा हुन् । तर पनि धेरैले यस कुरालाई खासै मनन् गर्दैनांै वा गर्न खोज्दैनौं ! नर्वेबाट सिक्नै पर्ने पाठ यो हो कि शान्ति र समानतालाई केन्द्रमा राखेर चाडो र दीर्घकालीन प्रगति गर्न सकिन्छ। देशलाई अस्थिरता र अशान्तिको अखडा र युद्ध भुमि हैन स्वर्ग तुल्य बनाउन सकिन्छ, अनि जनतालाई असन्तुष्ट र सधै गुनासो गर्ने हैन सन्तुष्ट र गर्व गर्ने बनाउन सकिन्छ । किनभने शान्ति र समानताको जगमा उभिएरै शान्ति प्रेमी नर्वेले यति धेरै प्रगति गर्न सफल भएको हाे। आज नर्वेका जनताले नर्वेमा जन्मिएकोमा आफूलाई भाग्यमानी ठान्दछन । आज उनीहरुलाई रोग लागे उपचार कसरी गरौंला भन्ने चिन्ता लिनुपर्दैन, पढाई खर्च कसरी जुटाउँला भनेर सोच्नुपर्दैन, बाल(बच्चा क्यारी पालौंला, कसरी पढ़ाउला भन्ने पीर गर्नुपर्दैन, बेरोजगारी भए कसरी हातमुख जोरौंला भन्ने तनाव पनि छैन । यी र यस्तै सुबिधाहरुका कारण आज कतिले नर्वेलाई स्वर्गको संज्ञा दिने
गरेको पाइन्छ । हरेक देशका नागरिक गुनासो हैन गर्व गरेर बाँच्न चाहन्छन । राज्यले चाह्यो भने, जनताले बुझेर सहि साथ दिए भने यो कुनै गर्न नसकिने कुरा हैन । नर्वेले झैँ हरेक मुलुकले धेर(थोर यो गर्न सक्छन र नर्वेली जनताले जस्तै हरेक देशका नागरिकले पनि आफू त्यस देशको नागरिक भएकोमा गर्व गर्न पाउछन।

अन्त्यमा, नर्वेको चौतर्फी विकास, शान्ति र सफलताको मुख्य कडी नै लैङ्गिक समानता र समतामूलक समाज हो । जब नारी पुरुष र देशका सबै नागरिक समान हक अधिकारका साथ स्वतन्त्र भएर कानुनी अनुशासनलाई शिरोधार्य गरी समाजका हरेक क्षेत्रमा एक साथ अघि बढ्दछन् तब मात्र एक सभ्य समृद्ध र आदर्श समाजको परिकल्पना सम्भव छ भन्ने पाठ नेपाल लगायत संसारका बिभिन्न देशले नर्वेबाट सिक्नसक्दछन् । तसर्थ असमानताको जालोमा जकडिएको हाम्रो देश नेपाललाई पनि अब समानता र समृद्धिको दिशातर्फ डोर्याउन सबै नागरिक, नेता, बुजरुक तथा विद्वान वर्ग लगायत समानता र समृद्धिमा सफलता हाशिल गरेका नर्वे लगायत संसारका बिभिन्न देशबाट उच्च शिक्षा हाशिल गरेका, समाजले कसरी फड्को मार्छ भनेर प्रत्येक्ष देखेका, सिकेका युवा लगायत हामी सबै एकजुट भएर लाग्नुपर्दछ । यो हामी सबैको संयुक्त दायित्व हो। सबैले मनदेखि नै अपनत्व र दायित्व बोध गरेर श्रम, इमान, विश्वास र समर्पणका साथ लाग्ने हो भने नेपाल पनि केही बर्षमा नर्वे जस्तो बन्न नसक्ने हुँदै होइन। हावापानीका दृष्टिले नेपाल नर्वेभन्दा धेरै राम्रो छ । तसर्थ जीवन र समयको महत्वलाई मनन गरी शान्ति र समानताको जगमा उभिएर एक आपसमा सहयोग सद्भाव र सम्मानको भाव राखी प्रतिबद्ध भएर विकासको गति बढाउदै जाने हो भने
प्रकृतिको प्यारो नेपाल पनि चाँडै नै संसारको एक उत्कृष्ट देश बन्नेछ ।
(लेखक सहित्यकार नर्वेमा पीएचडी.रिसर्चर हुनुहुन्छ)