हावाहुरीले छानो उडायो, खुला आकाशमा पढ्दै विद्यार्थी
प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २० गते । हावाहुरीले छानो उडाएको एक वर्ष बिते पनि मर्मत हुन नसकेपछि बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयमा विद्यार्थी खुला आकाशमा पढ्न बाध्य भएका छन् । साे विद्यालय गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना उडाएको हो । दुई कोठे भवनको हावाहुरीले छाना उडाएको एक वर्ष पुग्नै लाग्दा पनि मर्मत हुन सकेको छैन ।
विद्यार्थीे, शिक्षक र अभिभावकले भवन मर्मतका लागि पहल गर्नुपर्ने बताएका छन् । खुल्ला आकाशमा पढ्नुपर्ने भएकाले पढाईमा असजिलो भएको छ ।
चर्किदैँ गएको गर्मी र यो फागुन महिनाको हावाहुरीले बाहिरको धुलो उडाएर भत्किएको भवन भित्र आउने भएकाले पढाईमा समस्या उक्त विद्यालयका छात्रा तिर्सना वलीको भनाइ रहेको छ । उहाँका अनुसार छाना उडाएको भवनमा बसेर पढ्दा कति बेला भित्ता भत्केर मरिने हो की भन्ने चिन्ता हुने गरेको छ ।
छात्र तिलक बुढामगरका अनुसार विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि नगरपालिकाले वास्तै गरेको छैन । २७५ जना विद्यार्थी अध्यनरत यस विद्यालयमा भवनको अभाव हुँदा विद्यार्थीहरु खुला चौर र छाना उडाएको भवनमै बसेर पढ्न बाध्य छन् ।
विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाई हुन सकेको छैन ।
विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले हावाहुरीले छाना उडाएपछि नगर सरकारलाई जानकारी गराउँदा नगर उप प्रमुख मन्जु यरि, इन्जिनियर महेश देवकोटासहितको टोलीले अनुगमन गरी आठ लाख बजेटको मूल्याङ्कन गरे काम सुरु भएको छैन । केही समयमा निर्माण गर्ने वनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द पुनको भनाइ छ ।