एक वर्षमा खोप आयो, बन्द उद्योग खुले तर पर्यटक अझैँ आएनन् (फोटो फिचर)
अमृतप्रसाद पौडेल
बेनी, फागुन २४ गते । सन २०१९ को डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसविरुद्धको खोप विश्व बजारमा आइसके पनि कोरोनाकै कारण थलिएको पर्यटन उद्योग उकास्न पर्यटक भने अझैँ पनि आउन सकेका छैनन् । हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारको पर्यटकीयस्थल घोेडेपानी र पुनहिल क्षेत्रमा अझै पनि स्वतस्फुर्त रुपमा आन्तरीक तथा बाह्य पर्यटक आउन सकेका छैनन् ।
कोरोना महामारी शुरु भएपछि गत वर्षको चैतदेखि पूर्ण रुपमा बन्दाबन्दीको अवस्था पछि नेपाल सामान्य अवस्था तर्फ फर्केको भए पनि बन्दाबन्दी खुलेपछि पर्यटन व्यवसायीहरु पर्यटकको स्वागत गर्न पर्खिएको भए पनि पर्यटकहरु भने सोचेजस्तो आएका छैनन् । कोरोना पछि विश्व पुरै सामान्य नभएको भए पनि विस्तारै बन्दाबन्दी (लकडाउन) खुलेसँगै उत्साहित भएका पर्यटन व्यवसायीहरु अझै पनि सन्तुष्ट हुन सकेका छैनन् ।
लकडाउन खुलेपछि लामो समय बन्द भएका होटलका कोठा सफा गर्ने, विस्तारा मिलाउने, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउने, झ्यालढोकाका सीसा पुछेर चम्काएर पर्यटकको स्वागतका लागि तयारी अवस्थामा बसेका व्यवसायीहरु पर्यटक नआउँदा उत्साह घट्न थालेको छ । घोडेपानी क्षेत्रका होटल तथा रेष्टुरेन्टले सामान्य अवस्थामा दैनिक २० देखि ३० हजारसम्मको ब्यापार गर्ने गर्दथे अहिले भने पर्यटक नआउँदा मारमा परेका छन् । अहिलेको अवस्थामा केही होटल बन्द छन्भने केही खुलेका होटलहरु समेत पर्यटकको आगमन नहुँदा बन्द हुने अवस्थामा पुगेको घोडेपानीका होटल व्यवसायी ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।
पर्यटकहरुका लागि अहिलेको समय उत्तम सिजन हो । तरपनि यो सिजनमा पर्यटकहरु खासै आएका छैनन् । विगतका वर्षहरुमा सामान्य अवस्था हुँदा होटल बुक नगरी आउँदा होटल पाउन गाह्रो हुन्थ्यो । कतिपय पर्यटकहरु बासस्थानको अभावमा बाहिरै टेन्ट हालेर तथा आगो तापेर नै बस्ने गर्दथे, तर अहिले बाह्य पर्यटक आएका छैनन् भने आन्तरिक पर्यटक पनि दैनिक सरदर ५/७ जना मात्रै आउने गरेका छन् । सिजनको बेलामा नै पर्यटक आएका छैनन् । लगानी कसरी उठाउने भन्ने पीर छ । दैनिक ५ सयभन्दा बढी बाह्य पर्यटक र सोही दरमा आन्तरिक पर्यटक आउने यो सिजनमा त्यही पनि पर्यटक आउँछन् कि भन्ने आशमा होटल खोलेर बसेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरन गुर्बजाले बताउनुभयो ।
अन्नपुर्ण फेरो अन्तरगत पर्ने घोडेपानी तथा पुनहिल क्षेत्र निकै पुरानो पदमार्ग हो । हिमालपारीको जिल्ला मुस्ताङबाट पोखरा जानका लागि पनि धेरै जसो प्रयोग हुने यही मार्ग नै थियो । तर सडक यातायातको साधन चल्न थालेपछि पदमार्ग मात्र बनेको यस क्षेत्र कोरोना पछि तङ्ग्रीन सकेको छैन । बाबुबाजेको पालादेखि होटल तथा पर्यटन व्यवसाय गर्दै आएका घोरेपानीका स्थानीयहरु यतिबेला पर्यटक नआउँदा दिनभरी कुर्ने र रातमा खाली होटलमा ताला लगाएर सुत्नेबाहेक अन्य काम गर्न नसकेको स्थानियको भनाइछ । घोडेपानीमा एक होटल बराबर चारदेखि पाँच करोडसम्मको लगानी रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यको भनाइ छ । पर्यटक नआएपछि व्यवासायीहरु मारमा परेका छन्भने गाउँको दूध, दही, सागपातलगायत उत्पादन गर्ने ससाना कृषकहरु मारमा परेका छन् ।