पढ्नै पर्ने | खुला | समाज |

चिहान उत्खनन् गर्न १६ वर्षपछि कालिकोटबाट बैतडी पुगे सहिद परिवार

 

गोकर्ण दयाल
बैतडी, फागुन २४ गते । सशस्त्र विद्रोहमा मारिएका आफन्तको दाहसंस्कार गर्न सहिद परिवारले कालिकोटबाट बैतडी पुगेर १६ वर्षपछि चिहान उत्खनन् गरेका छन् ।

तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र विद्रोहका क्रममा बैतडीको दोगडाकेदार गाउँपालिका–३, सिल्लेगडामा २०६१ साल असोज ४ गते मारिएका कालिकोटका तपराज शाही (विमल)को दाहसंस्कारका लागि उहाँका दाजु गोविन्दबहादुर शाहीलगायतका परिवार बैतडी पुग्नु भएको हो ।

कालिकोटको त्रिवेणी गाउँपालिका–४, उजेल गाउँका तपराज शाही (विमल) माओवादीले सुरु गरेको सशस्त्र विद्रोहमा सरिक भएर बैतडीसम्म पुगेको परिवारले बताएका छन् । पार्टीमा आबद्ध भएकै बेला तत्कालीन राज्य पक्षबाट मारिएका विमलको दाहसंस्कार गर्न चिहान खोज्दै बैतडी आईपुगेको गोविन्दबहादुर शाहीले बताउनुभयो ।

मृत्युभएपछि घर परिवारले अहिलेसम्म दाहसंस्कार गर्न नपाएकाले चिहान खोज्दै घरपरिवार कालिकोटबाट बैतडी पुगेको विमलका भतिजा बावु ठकुरी शाहीले बताउनुभयो ।

शाहीले भन्नुभयो, “हामी त सानै थियौं । २० वर्षको कलिलो उमेरमा विमल ‘अंकल’ माओवादीमा लाग्नुभएको हो । उहाँको मृत्युको खबर सुने पनि संकटकालमा बैतडी पुगेर शव लैजान पाएनौं । उहाँको अन्तिम संस्कार गर्न नपाएकाले घर परिवार चिहान खोज्दै बैतडी पुग्नु परेको हो ।”

बृहत शान्ति सम्झौतापछि देशमा शान्ति आए पनि घर परिवारको सदस्यको दाहसंस्कार नगरुन्जेल आत्माले शान्ति नपाउने विश्वासमा कालिकोटबाट बैतडी पुगेको परिवारले बताएका छन् । बैतडीको दोगडाकेदारका स्थानीय धनबहादुर महराको सहयोगमा खाल्डोमा पुरिएको अवस्थामा हड्डी मात्र फेला परेको परिवारले जानकारी दिएका छन् ।

हड्डी मात्र भए पनि बैतडीबाट कालिकोट पु¥याएर रीतिरिवाज अनुसार दाहसंस्कार गर्ने विमलका दाजु गोविन्दबहादुर शाहीले बताउनुभयो ।