दैलेखमा माइक्रोबस दुर्घटना, दुईको मृत्यु १६ घाईते
प्रेमराज सिम्खडा
कालीकोट, फागुन २७ गते । कालीकोट सदरमुकाम मान्मवाट सुर्खेतका लागि छुटेको देउती नागरिक यातायातको माईक्रोबस दैलेखको आठबिस नगरपालिका वडा नं १ को सियालाघाटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी १६ जना घाईते भएका छन । एक जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मध्ये सात जनाको अवस्था गम्भीर रहेको उद्धारमा सहभागी कालीकोट रास्कोटका गोकर्ण सज्यालले वताउनुभयो ।
दुर्घटना परी घटना स्थलमै मृत्यु हुनेमा कालीकोटका शुभकालिका गाउँपालिका २ का वर्ष ३८ का जितेन्द्र शाही रहनु भएको छ भने उपचारका क्रममा कालीकोट नरहरीनाथ गाउँपालिका वडा नं ९ का वर्ष २१ का कमल बिक रहनु भएको छ ।
गाडीमा १८ जना रहेको र केही घाईते सामान्य भएपनि सात जनाको अवस्था भने गम्भीर भएकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
घाईते हुने अधिकांस कालीकोटका रहेकाछन् । दुर्घटनामा परी कालीकोटको खाँडाचक्र नगरपालिकाका लेखापाल धिरवहादुर शाही, कालीकोटकै तर्कराज शाही, कुसि शाही, बिवेश शाही, कलेन्द्र शाही, दुर्गवहादुर शाही, धिरेन्द्र शाही, दिलवहादुर रोकाया, भरत शाही, तिर्थराज शाही, अर्का तिर्थराज शाही रहेका छन ।
यस्तै दाङका रमेश चौधरी, र जुम्लाका नरवहादुर शाही पनि घाईते हुनुभएको छ ।सामान्य घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।गाडी सडकवाट करिव दुई सय मिटर तल खसेको छ । कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्वरको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ ।
गाडीमा कालीकोट जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी समेत रहेको प्रहरी निरीक्षक भुपेन्द्र वहादुर शाहीले वताउनुभयो । निरीक्षक शाहीले घाईते मध्य प्रहरी जवान रमेश चौधरीको अवस्था गम्वीर रहेको वताउनुभयो । केही स्थानीयले भने गाडीमा २१ जना हुन सक्ने वताएका छन ।