पर्यटकको आँखामा अध्यात्मिक तथा प्रकृतिले सजिएको मालिका धुरी
ठाकुरप्रसाद आचार्य
बेनी फागुन २९ गते । पहाडको टुप्पोमा मालिका मन्दिर अनि आँखै अगाडि लहरै देखिने हिमश्रृङ्खला । यो तीनहजार ३५० मिटरको उचाईमा रहेको मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने धार्मिक स्थल मालिका धुरी हो ।मालिका धुरीबाट धौलागिरी,चुरेन,गुर्जा,अन्नपूर्ण निलगिरि,माछापुच्छ«े लगायत दर्जनौ हिमालहरु नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खलाको नजिकबाट दृश्यावलोकन गर्न सकिने मालिका रमणीय स्थल हो ।
धार्मिक पर्यटकीय स्थल मात्र होइन प्राकृतिक हिसाबले पनि मालिका धुरीको राम्रो संभावना छ । मालिकाधुरीमा त्रिदेवीहरू मालिका, कालिका र जालिकाको बास छ । त्रिदेवीको दर्शनले मनोकामना पूरा हुने विश्वास छ । त्यसैले वैशाख पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकाका बेला मालिका धुरीमा ठूलो संख्यामा भक्तजन पुग्ने गर्दछन् ।
सन्तान,रोजगारी,शिक्षा, व्यपार,व्यवसाय, वैदेशिक रोजगारी र राजनीतिमा सफलता प्राप्तिका लागि भाकल लिएर मालिका दर्शन गर्न भक्तजन आउने मालिका देवि मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । पछिल्लो समय सडक,पदमार्ग,धर्मशाला र मन्दिरको पूर्वाधार विकास गरिएकाले भक्तजनहरुको संख्यामा वृद्धि हुनथालेको उहाँले बताउनुभयो । पहाडको टुप्पोमा रहेकाले खानेपानीको समस्या भएको उहाँले बताउनुभयो ।
धेरै भक्तजन मनोकामना पूरा भएर दोस्रो पटक पनि दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो । बागलुङ,पर्वत,पोखरा,काठमाण्डौं, चितवन लगायतका जिल्लाहरुबाट भक्तजनहरु आउने गरेको उहाँले बताउनुभयो । मनोकामना पूरा भएकाले दोस्रो पटक मालिका देवीको दर्शनमा आएको बेनीबाट पुग्नुभएकी सुमित्रा थजालीले बताउनुभयो ।
मालिका गाउँपालिका ७ बिमबाट करिब दुई घण्टाको पैदलयात्रापछि यहाँ पुग्न सकिन्छ । यसका साथै बेनीदेखि जगन्नाथ मन्दिर, टोड्के हुँदै दुई दिनको पदयात्रापछि पर्यटक यहाँ पुग्ने गर्दछन् । साथै मंगला गाउँपालिका २ हिँदी र रघुगंगाको ठाडाखानी भएर पनि मालिका धुरी पुग्न सकिन्छ ।
मालिका धुरी धार्मिक एवम् प्राकृतिक हिसावले सुन्दर र रमणीय स्थान भएकाले सरोकारवालाले यहाँको विकासमा ध्यान दिनुपर्ने मालिका दर्शनका लागि पुग्नुभएका म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । पूर्वाधारको विकास गरि धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने थुप्रै संभावना रहेको स्थानीयवासी दल शेरपुन्जाले बताउनुभयो ।
मालिका धुरीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन केही वर्ष यता मालिका र रघुगंगा गाउँपालिकाले पदमार्ग, सडक, आश्रयस्थल लगायतका पूर्बाधार निर्माण गरेका छन् । प्रदेश सरकारको पर्यटन मन्त्रालयको करिब ४० लाख बजेटमा गत वर्ष बिम हुँदै मालिका धुरी जाने एक हजार दुई ७२ मिटर पदमार्ग निर्माण भएको छ । साथै मालिका गाउँपालिकाले बिम हुदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ ।
८३ लाख रुपियाँ लागतमा बाइन्दफाँट देखि धौलागंगा र नागीथलाको बिचसम्म सडक पु¥याइएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो । मालिकाको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले डिपिआर बनाएर पूर्वाधार विकास गर्न लागेको उहाँले बताउनुभयो ।