पढ्नै पर्ने | फोटो फिचर |

पर्यटक आकर्षित गर्न रुखमा घर ‘ट्री हाउस’(फोटो फिचर)

प्रकाशचन्द्र भट्टराई
दमौली, चैत ३ गते । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो । पर्यटक आकर्षित गर्न सामुदायिक वन भित्र जिल्लामा नै पहिलो पटक रुखमा घर निर्माण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।
पृथ्वी राजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्देश्य बमोजिम सामुदायिक वन क्षेत्रभित्र हरियाली उद्यान तथा रूखमा घर बनाइएको सहायक डिभिजन वन कार्यालय म्याग्देका प्रमुख रानाभाटले बताउनुभयो । रूखमा नै घर बनाइएको जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणलाई आकर्षित गर्ने रानाभाटको भनाइ छ ।
डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनमा गत महिनाबाट हरियाली उद्यानको काम शुरु गरिएको थियो । साथै सोही उद्यानभित्र रहेको रूखमा घर निर्माण गरिएको हो । कुल १५ लाखको लागतमा उद्यान निर्माणको काम भइरहेको रानाभाटले बताउनु भयो । उद्यान निर्माणका लागि डिभिजन वन कार्यालयले १२ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ ।
रानाभाटका अनुसार रूखलाई भित्र पारेर काठको घर निर्माण भइरहेको छ । हालसम्म ८० प्रतिशत काम सकिएको र चैतभित्रै सबै काम सम्पन्न हुनेछ । । दुई स्टेप बस्न मिल्ने गरी घर बनिरहेको र एक पटकमा पाँच/सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्ने रानाभाटले जानकारी दिनु भयो । उद्यानभित्र हाल ढुङ्गा बिछ्याउने काम भइरहेको छ भने बत्ती जडानको काम पनि शुरु गरिनेछ ।
उक्त ठाउँलाई वनभोज स्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ । चैतभित्रै सबै काम सम्पन्न गरेर सर्वसाधारणलाई प्रवेश खुल्ला गर्ने तयारी भएको रानाभाटले जानकारी दिनुभयो ।