पढ्नै पर्ने |

एकसय तीनवर्षका गुरुङले कोभिड विरुद्धको खोप लगाउनुभयो

अमरराज नहर्की
तनहुँ, चैत्र ३ गते । तनहुँका एक १०३ वर्षका वृद्धले कोरोना भाइरस( कोभिड–१९) विरुद्धको खोप लगाउनु भएको छ । शुक्लागण्डकी नगरपालिका–७, शेराटारका खम्बासिं गुरुङ वडाको स्वास्थ्य केन्द्रमा पुगेर खोप लगाउनु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
वडाको शान्ति नगरस्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट गुरुङले खोप लगाउनुभएको हो । गुरुङलाई आउन र जान वडाले गाडीको व्यवस्था गरेको थियो । ‘खोप लगाएँ कोरोनाले छुँदैन भनेर ढुक्क भएको छु’’ गुरुङले भन्नुभयो । सरकारले जेष्ठ नागरिकलाई प्राथमिकता दिएर खोप लगाउने व्यवस्था गरेकोमा खुसी लागेको उहाँले बताउनुभयो ।
दोस्राे चरणमा कोरोना संक्रमणको उच्च जोखिममा रहेका ६५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि सञ्चालन गरिएको खोप अभियान सोमबारदेखि सकिएको कार्यालयले जनाएको छ । अन्तिम दिन आएर गुरुङले खोप लगाउनुभएको हो । अभियानको क्रममा सात हजार एक सय ६५ जना जेष्ठ नागरिकलाई खोप लगाइएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिनुभयो ।