पढ्नै पर्ने | फोटो फिचर |

भवनमै आगो लगाएपछि दुबै हात माथि ठड्याउँदै बाहिर निक्लिएँ

अमृतप्रसाद पौडेल
बेनी, म्याग्दी चैत ७ गते । तत्कालीन नेकपा माओवादीले २०६० चौत्र ७ गते म्याग्दी सदरमुकाम बेनीमा रहेको सुरक्षा पोष्टमा आक्रमण गरेको आज १७ वर्ष पूरा भएको छ ।
तत्कालीन नेकपा माओवादीले गरेका नौ ओटा जिल्लाको सदरमुकाम आक्रमणमध्ये सैन्यवल र ब्यापकताको दृष्टिले हेर्दा सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण । त्यो समयको माओवादी आक्रमण बेनी र आसपासका बासिन्दाका लागि विर्सनै नसक्ने त्रासदीपूर्ण विगत हो ।

म्याग्दीमा माओवादी गतिविधि
म्याग्दी जिल्लामा माओवादीले विद्रोहको शुरुवात ०५२ फागुन १ गतेदेखि पुलाचौर–८ भिरमुनीका भीमबहादुर बानियाँको परालको टौवामा आगो र घतान–६ गलेश्वरका रुद्रबहादुर केसीको खुर्सानी र काउली फाँडेर शुरु भएको दावि गर्छन् ।
त्यसबेला माओवादी कार्यकर्ता देवराज सुवेदी एक थान खुकुरीसहित ०५३ जेठ ५ गते र गोविन्द पौडेल ०५३ साउन १४ गते पक्राउ पर्नुभयो, पौडेल पहिलो संविधासभामा सभासद भएपछि अहिले माओवादीका जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँहरू पुनरावेदन अदालत बाग्लुङको आदेशबाट रिहा हुनुभएको थियो । सार्वजनिक अपराधमा जेल परेका अर्का माओवादी कार्यकर्ता मीनबहादुर बानियाँलाई पनि पुनरावेदन अदालतको आदेशबाट रिहा हुनुभयो । ०५३÷०५४ सालसम्म माओवादीको म्याग्दी जिल्लामा गतिविधि न्यून र संगठन सिथिल थियो ।
माओवादीले ०५५ फागुन १ गते चौथो वर्षगाँठ मनाउन माओवादीले सदरमुकाम स्थित विद्युत प्राधिकरण र कृषि विकास वैंकमा पहिलो पटक विष्फोट गराएको थियो । ०५५ साउन १३ गते सदरमुकाम बेनीमा रहेको रुची चलचित्र मन्दीर बेनीमा विष्फोट गराई ब्यक्तिगत सम्पत्तिमाथी आक्रमण र ०५५ मंसिर २६ गते बरंजा गाविस–२ का भीमबहादुर खड्कालाई सुराकीको आरोपमा दुवै खुट्टाको कुरकुच्चाको नसा काटेपछि ब्यक्ति आक्रमणको शुरुवात भएको थियो । प्रहरी/प्रशासनले ०५५ साउन ९ गते सिंगा, बरंजा र बाबियाचौरका गरी १० जनालाई माओवादीको आरोपमा पक्राउगरी प्रतिकार शुरु गरेको थियो ।
०५६ सालमा माओवादीको चौथो विस्तारित बैठकले ‘आधार ईलाका निर्माणको महान् बाटोमा अघि बढौ’ भन्ने नारा सहित रणनीतिक प्रतिरक्षाको चरण शुरु गरे । ०५६ असोज ७ गते बेनी नगरपालिका–४ लेतेखोला तातोपानी (साविक सिंगा गाविस–५ तातोपानी)मा माओवादीले बमसहित टाँगेको तुल झिक्न लाग्दा प्रहरी जवान ओमप्रकाश कुंवरको मृत्यु भयो ।
यो माओवादीले शुरु गरेको सशस्त्र युद्ध पछिको पहिलो व्यक्ति हत्या थियो । माओवादीले ०५७ असार १ गते बाबिचौरमा रहेको अस्थायी प्रहरी चौकीमा पहिलो आक्रमण गरे । आक्रमणमा माओवादीले तीन थान थ्रि नट थ्रि राईफल कब्जा गरे । माओवादीले जिल्लामा पहिलो पटक ०५६ माघ २८ गते सदरमुकाम बेनीबाट नेपाल शिक्षक संघका अध्यक्ष÷काँग्रेसका जिल्ला सदस्य हरिकुमार श्रेष्ठ (हाल बेनी नगरपालिकाका मेयर)लाई अपहरण तथा सिंगा गाविस–५ तातोपानी घर भै महेन्द्ररत्न माध्यमिक विद्यालय बरंजामा कार्यरत नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य शिक्षक मणीलाल शर्माको ०५९ कार्तिक १ गते गरिएको निर्मम हत्या फरक आस्था बोक्ने शिक्षकहरुलाई तर्साउन उपयोग गरे ।
माओवादीको दोस्रो सुरक्षा घेराभित्र पर्ने पश्चिम म्याग्दीको दरवाङ बजारलाई सशत्र विद्रोह कालमा माओवादीले सदरमुकाम भन्थे । ०५८ चैत १४ गते शिख गाविसमा सिर्जना खड्का समेत ५ माओवादी सर्मर्थित विद्यार्थी कार्यकर्ताको सुरक्षाकर्मीबाट सामुहिक हत्या भयो । म्याग्दी जिल्ला भित्र शसस्त्र विद्रोह अवधिमा राज्यबाट झण्डै ९० भन्दाबढी माओवादी सर्मथक÷कार्यकर्ताको हत्या भयो । माओवादीले तीन जना सुरक्षाकर्मी समेत आप्mनो प्रभाव विस्तार गर्न तातोपानीका शिक्षक नेता मणीलाल शर्मा, दरवाङका नेपाली कांग्रेसका नेता शेरवहादुर शेरचनलाई संगठन निर्माणमा बाधक भन्दै दोवाका एमाले कार्यकर्ता तुलप्रसाद पुर्जा र ज्यामरुककोटका कांग्रेस कार्यकर्ता भीमबहादुर घिमिरेको हत्या गरे ।

म्याग्दी सदरमुकाम बेनी आक्रमण
वि.स. २०६० चैत ७ गते शनिवार राती माओवादीले सदरमुकाम बेनीमा आक्रमण गरे । पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण माओवादीको सशस्त्र युद्धको आठ वर्षे अनुभवमा जिल्ला सदरमुकाममा गरेका नौ ओटा आक्रमण मध्य सैन्यवल र आक्रमणको ब्यापकताको दृष्टिले सवैभन्दा ठूलो र लामो समय पनि थियो ।
लगातार १२ घण्टा लडेर मध्य दिनसम्म जिल्लाको सबै निकायलाई आफ्नो कब्जामा राखेको थियो माओवादीले । बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मंगलसेन), भेरी–कर्णाली क्षेत्रको दोस्रो (सतवरिया), सेती–महाकाली क्षेत्रको तेस्रो (लिस्ने–ग्राम) र गण्डक क्षेत्रको (बासुस्मृति) चौंथो ब्रिगेड अन्र्तगतका ६ बटालिएनका करिव ५ हजार माओवादी लडाकु सहभागी रहेको तत्कालीन माओवादीको दावी थियो ।
बेनी आक्रमणमा आउनु पूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङमा जम्मा भै रुकुम जिल्लाको लुकुम घुमाउँरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै पश्चिम म्याग्दीको ताकम आएको थियो । यसरी थवाङबाट विभिन्न घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि ०६० चैत ७ गते राती १० बजे पछि कारागार, प्रहरी र सैनिक ब्यारेकमाथि गोली बर्सदा सैनिक कमाण्डरहरु आफ्नै संसारमा मस्त थिए ।
सुत्ने तर्खरमा रहेका सुरक्षाकर्मीलाई बिनापूर्वतयारी एक्कासि भीडन्तमा उत्रनु परेको थियो । तत्कालिन अवस्था गुप्तचर निकायले सूचना दिन संकलन गर्न नसकेकै कारण त्यत्ति ठूलो आक्रमण र धनजनको क्षती भएको मान्न सकिन्छ ।
२०६० चैत्र ८ गते रक्षा मन्त्रालयको विज्ञप्तिमा पाँच सय माओवादी मारिएको र माओवादीहरुले एक सय २५ सैनिक र २६ जना प्रहरी मारिएको दावि गरे पनि बेनी आक्रमणमा तत्काल भने १७ जना प्रहरी र १४ सैनिक र कम्तिमा ९० जना माओवादी मारिएको पुष्टि भएको थियो । भीडन्तमा दुवै तर्फगरी सयौंको संख्यामा घाईते भए । दुवै तर्फका के कति घाईतेको मृत्यु भयो, यकिन तथ्याङ्क अझै सम्म पनि कहिँ कतै पाईदैन । बेनी आक्रमण क्रममा दुई जना बालवालिका सहित सवैभन्दा बढी १९ जना सर्वसाधारण मारिए ।
बेनी आक्रमणका क्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली, प्रहरी नायव उपरिक्षक रणबहादुर गौतम सहित ४० जनालाई युद्धबन्दी बनाए र उनीलाई माओवादी पश्चिम डिभिजन कमिसार नेत्रविक्रम चन्द(विप्लव) र कमाण्डर पासाङले वक्तब्य मार्फत मातृका यादव, शुरेश आले र किरण शर्मालाई मुक्त गर्न सौदा गरे ।
सशस्त्र विद्रोहकालमा टेलिफोन रिपिटर टावर, गाविस भवनहरु, कृषि, भेटेनरी, कृषि विकास वैक लगाएतका दर्जनौ कार्यालयका विष्फोट÷जलाएर नष्ट पारिए । सदरमुकाम आक्रमण क्रममा मात्र जिल्ला अदालत, प्रशासन, जिल्ला विकास समिति, प्रहरी, वन, कारागार, टेलिकमको एक्सचेन्ज स्टेसन, पुस्तकालय, मालपोत, नेपाल वैक, अर्थुङ्गे गाविस कार्यालय लगायतका सरकारी कार्यालय नष्ट पारिए ।
बेनी आक्रमणमा राज्य र माओवादीले आ–आफुले जितेको दाबी गरेपनि दुवै पक्षले हारेको ज्वलन्त उदाहरण हो । खासमा माओवादीले गरेको बेनी आक्रमणबाट सर्वसाधारणले हारे । आक्रमणमा ध्वस्त भएका सरकारी भवनहरु त पुनःनिर्माण गरिए तर सर्वसाधारणको मनमा लागेको घाउ अझै बाँकी छन् । माओवादीले सवै सरकारी कागज नष्ट गरिदिएकोले आजसम्म पनि पुरानो रेकर्ड जलि नष्ट भएकोले सर्वसाधारणले सरकारी कार्यालयमा कागजातको झन्झट ब्यहोर्नु परिरहेको छ । सदरमुकामको स्वरुप फेरियो झल्को भने फेरीन सकेको छैन ।

भौतिक क्षति र पुनः निर्माणको अवस्था
अरबँैको भौतिक सम्पत्तिको क्षतिभयो, द्वन्द्वको क्रममा भएको क्षतिको परिपूरण गर्न समाजमा पुन निर्माण तथा पुनर्मिलनको अनिवार्य आवश्यकता छ । शसस्त्रद्वन्द्वको समयमा जिल्लाका सरकारी तथा ब्यक्तिगत सम्पत्तिमा आगो लगाउँदा तत्कालिन अवस्थामा डेढ अर्व भन्दा बढीको भौतिक सम्पत्ति नष्ट भयो । जिल्ला पुनःनिर्माण तथा पुनःस्थापना समितिका अनुसार माओवादीले गरेको बहुचर्चित बेनी आक्रमणक्रमा ध्वस्त भएका अदालत, प्रशासन, प्रहरी र जिविसको मात्र पुर्ननिर्माण गर्न कुल तीन करोड ४१ लाख १७ हजाररुपैया लागेको छ ।
जिल्ला अदालत पुर्ननिमाण गर्न ७७ लाख ४५ हजार दुई सय ३१ रुपैयाँ, प्रशासन भवन निर्माण गर्न ७८ लाख ४९ हजार तिन सय ६१, जिल्ला प्रहरी कार्यालय ८२ लाख ८० हजार छ सय १५ रुपैया र जिविसको भवन पुर्ननिर्माण्मा ९२ लाख १९ हजार दुई सय ९४ रुपैयाँ खर्च भएको छ ।
पश्चिमबाट पूर्वबग्ने म्याग्दी नदीको उत्तरपट्टिको किनारामा पुर्ननिर्मित तत्कालिन जिल्ला विकास समिति, जिल्ला प्रशासन, सरकारी वकिल कार्यालय, अदालत, दुरसंञ्चार कार्यालय समेतका सेता भब्य सरकारी बंगलाहरु लस्करै छन् । र ति सवै सरकारी भवनका छतमा बनाईएको भ्यू टावर छन् । जस्ले कार्यालयबाट सदरमुकामको दृश्यालोकन गर्ने होईन, सैन्य बंकरको झल्को दिएका छन् । माओवादी आक्रमणपछि पुर्ननिर्मित सदरमुकामका यी टावरहरु युद्ध स्तम्भ झै देखिन्छ ।

सर्वसाधारणको भोगाइमा त्यो चैत ७ गते
कृष्णलाल श्रेष्ठ, घाइतेः ०६० चैत ७ गते राती जिल्ला अदालतमा कार्यरत हुनुहुन्थ्यो कृष्णलाल श्रेष्ठ । रातभर कोठाको बेन्चमुनी छिपेर बसेका श्रेष्ठ विहान माओवादीले अदालत भवनमै आगो लगाएपछि दुवै हात माथि ठडाउँदै के बाहिर गेटमा निक्लिनुभएको थियो उहाँको खुट्टामा गोली लाग्यो । शरीरको अन्य तीन ठाउँमा पनि गोली लाग्यो । उहाँलाई सेनाको हेलिकोप्टरबाट छाउनी स्थित सैनिक अस्पताल लग्यो र खुट्टाको उपचार गरायो । तर एउटा खुट्टा घुडाबाटै काट्नु प-यो ।
‘रातभर शौचालयभित्र लुकेर वित्यो । माओवादीले अदालतमा आक्रमण नगर्लान भन्ने थियो । त्यसो भएन विहान उज्यालो भैसकेपछि आगो लगाए । भवनमा आगो दन्केपछि ज्यान जोगाउन हात उठाउँदै बाहिर निक्लें । एक्कासि गोली खुट्टामा लाग्यो । म ढलें । अरु तीन गोली साप्रा र पाखुरामा पनि लाग्यो’ माओवादी आक्रमणका पीडित घाईते कृष्णलाल श्रेष्ठले भन्नुभयो । श्रेष्ठले १७ वर्षमा गयको असार महिनामा राष्ट्रिय मानवअधिकार आयोगको निर्देशनमा मात्र राज्यको तर्फबाट राहत स्वरुप एक लाख रुपैंया प्राप्त गर्नुभयो ।
पदम भण्डारीः तत्कालीन जिल्ला विकास समितिका अधिकृत पदम भण्डारी त्यो रात परिवारसहित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको जिविसको आवास भवनमा हुनुहुन्थ्यो । आवास क्षेत्रको पुरानो भवनमा तत्कालीन राजाबाट मनोनित जिल्ला सभापति चक्रपाणी आचार्यसहित केही कर्मचारी र पछिल्लो नयाँ भवनमा जिविसका अधिकृत तहका कर्मचारीहरु परिवार सहित २० जना बस्थे । तीन जना नावालक थिए ।
राती माओवादीले सदरमुकाम आक्रमण गरेको निश्चित भएपछि राजाका मनोनित सभापति आचार्यसहित पुरानो भवनमा बस्ने सवै कर्मचारीहरु भण्डारी बस्ने नयाँ आरसिसी भवनको भित्री कोठामा जम्मा भए । भिडन्त शुरु भएको एक घन्टा नवित्दै माओवादीहरु भवन कब्जा गर्न छिरे । सोधखोज गरे । सेना प्रहरी हो÷होईन यकिन गरेपछि सवैलाई त्यही कोठामा राखे र त्यहींबाट जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरिरहे । कर्मचारी आवास भएकोले हुनसक्छ, माओवादीले त्यहींबाट आक्रमण गरेको चाल पाएर पनि प्रहरीले भने त्यहाँ प्रत्याक्रमण गरेन ।
‘हामी मात्र बाँच्यौं बाँकी बजार पुरै ध्वस्त भयो, सवै सकिय भन्ने लागेको थियो । विहान मिर्मिरेहुँदा माओवादीले हामीलाई त्यहाँबाट निकाले र भवनमा आगो झोसे । हामीलाई हुलाकचोक छेउको भित्री गल्लीभित्रको एक घरमा लगे । बल्न थाहा भो, हामीबाहेक बजारका सबै घर उस्तै रहेछन’ भण्डारीले भन्नुभयो, ‘सुरक्षा निकायमा भएका आफन्तले बेनी आक्रमणको संभावन छैन ढुक्क हुन भनेकोले बसौं । पक्की भवनको भित्री कोठा भएकोले गोली लाग्ला भन्ने त थिएन तर माथिबाट बम खस्ला कि भन्ने चिन्ता भैरह्यो ।’
गुरिल्ला मार्ग: हुचर्चित बेनी आक्रमणक्रममा माओवादी विद्रोहीले रोल्पाको उत्तरपूर्वी थवाङबाट रुकुम जिल्लाको लुकुमहुँदै घुमाउँरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै म्याग्दी सदरमुकाम बेनी झरेको १७ दिने पैदमार्गलाई रक्तिममार्ग अर्थात गुरिल्ला मार्ग प्रस्ताव गरिएको छ । बेनीबाट शुरु हुने यो पदमार्ग रोल्पा पुगेर टुङ्गिन्छ । माओवादी विद्रोह र विद्रोहीले प्रयोग गरेको बाटो अव संसारमा म्युजिममा थन्काएको बस्तु जस्तै, पर्यटककालागी दृश्यावलक गर्ने, मनोञ्जन गर्ने माध्यम बन्ने पक्का छ ।