पढ्नै पर्ने |

फेरि कोरोनाको त्रास: सीमा नाकामा स्वास्थ्य सतर्कता

लक्ष्मण पौडेल
भैरहवा, चैत १० गते । भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै सीमा नाकाहरुमा सतर्कता अपनाउन थालिएको छ । नेपाल–भारत सीमानाका रुपन्देहीको बेलहियामा पनि सुरक्षा सतर्कता अपनाइएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले भारतमा एकैदिन हजारौंको संख्यामा संक्रमित थपिन थालेपछि सीमाक्षेत्रमा कडाइ गर्न लागिएको बताउनुभयो ।
भारतको केही राज्यमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ । रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सीमाक्षेत्रमा जोखिम बढेको भन्दै नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क राखेर उच्च सुरक्षा सतर्कता अपनाएको छ । संक्रमण नेपालमा पनि भित्रिन सक्ने प्रबल सम्भावना रहेकोले बेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।
स्वास्थ्य कार्यालयकै पहलमा सीमाक्षेत्रमा दुई वटा टेन्ट निर्माण भइरहेको छ । सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा उक्त हेल्थ डेस्क स्थापना हुन लागेको हो । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो ।
भारतबाट नेपाल आउने शंकास्पद बिरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किटबाट परीक्षण गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिनुभयो । “भारतमा संक्रमण बढेसँगै सक्रिय रुपमा हेल्थ डेस्कबाट जाँच बढाउन लागेका छौ । पोजिटिभ देखिएमा अइसोलेटेडका लागि क्वारेन्टाइनमा राखिनेछ”–उहाँले भन्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सभा, गोष्ठी, जुलुस, -याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरेको छ ।
भारतको कतिपय ठाउँमा फेरि लकडाउन भएकोले त्यहाँ रहेका नेपालीहरु धमाधम घर फर्कन थालेका छन् । भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा गत बुधबारदेखि रात्रीकालीन कर्फ्यू जारी गरिसकेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेश लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो छ ।
नेपाल आउने यात्रुहरुका लागि भने अहिले कुनै सावधानी अपनाइएको छैन । सीमामा नेपालतर्फबाट निर्बाध रुपमा किनमेलका लागि आवतजावत भइरहेको छ । स्वास्थ्य चेकजाँचका लागि बनाइएको डेस्कमा अहिलेसम्म प्रहरीले भारतबाट आउनेहरुकोे तथ्याङ्क मात्र लिने गरेको छ ।