पढ्नै पर्ने | फोटो फिचर |

बालबालिका र वृद्धवृद्धालाई जोगाउन वातावरणविद्को सुझाव

हेटौँडा, चैत १३ गते । मकवानपुरका सामुदायिक वन क्षेत्रहरुमा लागेको डढेलोका कारण बागमती प्रदेशको राजधानी हेटौँडासहित ग्रामीण क्षेत्रमा समेत वातावरण प्रभावित भएको छ ।
शुक्रबार दिउँसो बाक्लो तुवाँलोका कारण डाँडाकाँडा छोपिएका छन् भने साँझपखको जस्तो अध्यारो भएको छ । मानिसहरु बाटामा मास्क लगाएर हिँड्न थालेका देखिन्छन् भने आँखा पोल्ने समस्याका कारण घरबाहिर निस्कन समस्या भएको छ ।

डिभिजन वन कार्यालय राप्ती मनहरीका अनुसार फागुन र चैत महिनाको १३ गते सम्ममा २९ वटा सामुदायिक वनक्षेत्रमा आगलागी भएको छ । त्यसैगरी हेटौँडा डिभिजन अन्तर्गत रहेका सामुदायिक वनमा पनि आगलागी भइरहेको यकीन तथ्याङ्क नआइसकेको सूचना अधिकारी अच्युत लामिछानेले बताउनुभयो । ‘बिहिबारसम्म त ठीकठीकै थियो, शुक्रबार बिहानैदेखि वायु प्रदूषणको मात्रा बढेको छ’, डिभिजन वन कार्यालय हेटौँडाका सहायक वन अधिकृत लामिछानेले भन्नुभयो ।

डिभिजन वन कार्यालय राप्ती मनहरीका वन अधिकृत दीर्घनारायण कोइरालाका अनुसार गत बर्षभन्दा यसबर्ष अत्यधिक तापक्रम बढेसँगै डढेलोमा बृद्धि भएको हो । उहाँका अनुसार अहिले वन कर्मचारी, सामुदायिक वनका पदाधिकारी, उपभोक्ता मिलेर डढेलो निभाउन खोजिए पनि पूर्णरुपमा सफल हुनसकेको छैन । ‘तापक्रम बढेकाले डढेलो निभाउन जाँदा ७ मिटर वरै बसेर पानी वा माटो छ्याप्नुपर्ने अवस्था छ’, कोइरालाले भन्नुभयो–‘सीमित स्रोत साधन प्रयोग गरेर खटिरहेका छौँ ।’ फागुन र चैतमा मात्रै डढेलोबाट ९७५ हेक्टर वन क्षेत्र सखाप भएको उहाँले जानकारी दिनुभयो ।

अहिले डढेलोबाट जंगल जोगाउन नसके पनि घाटगद्दीमा रहेका काठको सुरक्षाका निम्ति सरसफाइ गरी अग्निरेखा निर्माण गरिएको सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुलाई तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत दिनेश हुमागाईले बताउनुभयो ।

वन डढेलोका कारण बिग्रिएको वातावरण पानी परेपछि मात्रै सफा हुने वातावरणविद् डा. बलराम भट्ट बताउनुुहुन्छ । कृषि तथा वन विश्वविद्यालय हेटौँडाका डिन भट्ट बिग्रेको वातावरणबाट बालबालिका र बृद्धबृद्धालाई टाढै राख्नुपर्ने सुझाव दिनुहुन्छ । ‘श्वास प्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई त झन् घरबाहिर ननिकाल्दा नै राम्रो हुन्छ’, डा. भट्टले भन्नुभयो–‘विद्यालय र घरभित्रै राखेर बालबालिकालाई अध्ययन अध्यापनमा लगाउनु उत्तम हुनेछ ।’ तापक्रम बृद्धिले गर्दा गत बर्षभन्दा यस बर्ष चाँडै डढेलो फैलिएको उहाँले बताउनुभयो ।

‘तापक्रम वृद्धि जलवायु परिवर्तनको असर हो’, डा. भट्ट भन्नुहुन्छ–‘यस्तो असर विश्वले सामना गरिरहेको छ तर हामीसँग पर्याप्त स्रोत साधन नहुँदा डढेलो नियन्त्रण गर्न सकेनौँ ।’
वन डढेलोको प्रमुख कारण जंगलको पतकर भएकाले पतकर व्यवस्थापन प्रमुख चुनौती बनेको डा. भट्टको भनाई छ । पतकर जंगलको मल भएकाले झिकेर फाल्न पनि नमिल्ने भन्दै उहाँले डढेलोले पतकर नष्ट गरेकाले अघोषित रुपमा पतकर व्यवस्थापनमा टेवा मिलेकाले केही हदसम्म डढेलोले फाइदा पनि दिएको बताउनुभयो ।

मकवानपुर जिल्लामा दुईवटा डिभिजनल वन कार्यालय अन्तर्गत ४ सयभन्दा बढी सामुदायिक वन उपभोक्ता समूह छन् । वन समूहहरुले डढेलोसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै डढेलो नियन्त्रणका लागि जनशक्ति र सामग्रीको व्यवस्थापन गरेको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले दाबी गरेको छ ।