पढ्नै पर्ने | पर्यटन |

आरोहण सामाग्रीको गुणस्तर र प्रयोगमा नियमन भएन, दुर्घटनाको त्रास

काठमाडौं, चैत २० गते । हिमाल आरोहणका क्रममा गरिने अग्रिम व्यवस्थापनमा नियमन नहुँदा दुर्घटना बढ्ने सक्ने भन्दै सुरक्षित आरोहण गराउन पर्यटन विभागले चासो दिनुपर्ने माउन्टेन गाइडहरुले माग गरेका छन् ।
हिमालमा प्रयोग हुने डोरी, ज्यूमर, आइसएक्स, हार्डनेस, क्याराविनर, रक पिटन लगायतका महत्वपूर्ण सामग्रीको मापदण्ड नहुँदा जाथाभावी प्रयोग हुने गरेकाले असुरक्षित आरोहण भएको गुनासो विदेशी आरोहीहरुबाट हुने गरेको छ ।
हिमालमा बाटो निर्माणका क्रममा टाँगिने डोरी अन्तर्राष्ट्रिय मापदण्डको नहुने र डोरी टाँग्ने तरिकासमेत नमिलेको पाइए छि दुर्घटना बढ्ने भन्दै कडाइका साथ नियमन गरी सुरक्षित आरोहणमा जोड दिन माग गरेका हुन् ।

सगरमाथा, ल्होत्से, नुप्से, मनास्लु, आमादव्लम, मकालु, कञ्चनजंघा लगायतका नेपालका अग्ला हिमालहरु डोरीकै सहायतामा आरोहण गरिन्छ । तर यसमा प्रयोग गरिने सामाग्रीको नियमन नहुँदा दुर्घटना बढ्ने देखिएको भन्दै विभागसँग नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघका महासचिवतुल सिं गुरुङले माग गर्नुभयो । प्रत्येक वर्ष हिमालमा टाँगिदै आएको डोरी ‘अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ (यूआइएए)’ले टेस्ट गरी प्रमाणित गरेपछि मात्र प्रयोग गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ । तर कमसल सामाग्री प्रयोग हुँदै आएको र डोरी टाँग्ने प्रक्रियासमेत नमिलेको पाएपछि सुरक्षित आरोहण हुन नसक्ने भन्दै विभागलाई कडा निगरानी गर्न माग गरेको गुरुङको भनाइ छ । हिमालमा प्रयोग हुने डोरी, ज्यूमर, आइसएक्स, हार्डनेस, क्याराविनर, रक पिटन लगायतका महत्वपूर्ण सामग्रीको मापदण्ड नहुँदा जाथाभावी प्रयोग हुने गरेकाले असुरक्षित आरोहण भएको गुनासो विदेशी आरोहीहरुले गरेको गुरुङले बताउनुभयो ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिले सगरमाथाको दोस्रो क्याम्पसम्म बाटोमा डोरी टाँग्ने काम गर्दै आएको छ भने दोस्रो क्याम्पदेखि चुचुरोसम्म आरोहण सञ्चालक संघले डोरी टाँग्ने गरेको छ । यसरी प्रत्येक वर्ष टाँगिएका डोरीसमेत आधारशिविर ल्याएर व्यवस्थापन नगरेपछि आरोहणका क्रममा बाटैभरि पुराना डोरीहरु भेटिने गरेको आरोही सर्मिला लामाले बताउनुभयो । पहिलो पटक हिमाल पुग्ने आरोहीले नयाँ र पुराना डोरी नचिन्दा डोरी चुँडिएर दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । हिमाल आरोहणमा धेरै बेतिथि भएकाले यसको नियमन नभए विश्वभरबाट आएका आरोहीहरूले नेपालको गलत प्रचार गर्ने गरेको समेत पाइएको माउन्टेन गाइडहरुले बताएका छन् । गाइडरुरूले विभागले दक्षता विनाका संस्था र व्यक्तिलाई डोरी टाँग्ने जिम्मा दिनु नै गलत भएको भन्दै यसमा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन् ।


हिमाल आरोहणमा अनुमति मात्र भन्दा पनि विभागले सुरक्षित र व्यवस्थित आरोहणमा चासो नदिए पछिल्लो दिनमा नेपालको हिमाल आरोहणप्रति गलत मानसिकता बन्ने पक्काभएको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पाले बताउनुभयो । नेपाल भित्रिने पर्यटक मध्ये पर्वतारोहण पर्यटक सबै भन्दा गुणस्तरीय हुन् त्यसैले पनि राज्यपक्षले नियमनमा चासो देखाउनुपर्ने उहाँले माग राख्नुभयो । यस अघि विदेशी पर्यटकले विभाग पुगेर हिमालमा टागिँने डोरीको मापदण्ड नपुगेको भन्दै सुधार गर्न सुझाव दिएका थिए । पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले भने हिमालमा प्रत्येक वर्ष सम्पर्क अधिकृत खटाएर नियमन गर्दै आएको बताउनुभयो ।

हिमालमा जाने आरोही माथि खेलाँची गरेर मापदण्ड विपरीत डोरी टागिँदा दुर्घटना भएर आरोही घाइते भएका कैयौं उदाहारण छन् । आरोहीको सहयोगका लागि टाँगिने डोरी प्राविधिक ज्ञान नभएका व्यक्तिले जथाभाविीगलत रुपमा टाङ्दा दुर्घटना हुने गरेको र पर्यटन विभागले अनुगमन नगरेको आरोहीहरुको दुःखेसो छ । डेथजोन (मृतक्षेत्र)मानिने उच्चहिमाली क्षेत्रमा मापदण्ड विना डोरी टाँगिए पनि पर्यटन विभागले कुनै चासो नदेखाउनु दुःखद भएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक छिरिङ पाण्डे भोटेले बताउनुभयो । हामीले धेरै पटक डोरी टाँग्ने प्रक्रिया नमिलेको र खेलाँची पाराले टाँगिएकाले दुर्घटना बढेको विभागमा जानकारी गराए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

हिमालमा हिउँ मात्र नभएर ढुङगा पनि प्रशस्तै चढ्नु पर्ने भएकाले डोरी टाँग्ने आधारभूत मापदण्ड पूरा नगरेको आरोप छ । ४० डिग्रीमा हुने गरी डोरीलाई झुण्ड्याएर अर्को डोरीलाई लक (क्याराविनर)को सहायतामा प्रयोग गर्नुपर्ने भए पनि डोरी जथाभावी प्रयोग गरेको र डोरीमाथि डोरी बाँधेकाले पछि ताप र घर्षणले चुँडिएर दुर्घटना हुने गरेको छ । पर्वतारोहणमा कसरी सुरक्षा अपनाउने भनी प्राविधिक तालिम नेपालमा ‘नेपाल राष्ट्रिय पर्वतीय पथप्रर्दशक संघ’ ले मात्र दिने गरेको छ । विश्वभर पर्वतारोहण सम्बन्धी सुरक्षाको अवस्था ‘अन्तराष्ट्रिय पर्वतीय पथ प्रदर्शक महासंघ’ ले अनुगमन गर्ने गर्छ, । पर्वतारोहण सञ्चालक संघ नामक संस्थाले डोरी टाँगेको भन्दै प्रत्येक आरोहीबाट दुई सय अमेरिकी डलर असुल गर्ने गरेको छ भने सगरमाथा प्रदूषण नियन्त्रण समितिले दोस्रो क्याम्पसम्म बाटो बनाएको भन्दै प्रत्येक आरोहीबाट छ सय अमेरिकी डलर असुल गर्ने गरेको छ ।