पढ्नै पर्ने |

चौरासी व्यञ्जन खाए चिडियाखानाका वन्यजन्तुले 

लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, बैशाख १ गते । आज नेपालीहरुको नयाँ वर्ष । मिठो मसिनो पकाएर खाने दिन । इष्टमित्र, नातागोता तथा आफन्तसँग भेटघाट गर्दै बुढापाकाको हातको टिका थापेर वर्षभरी मङ्गल होस भन्ने कामना गर्ने शुभ साइतको दिन । हरेक नेपालीले गच्छे अनुसारको पकवान पकाएर खाए होलान् तर चिडियाखानामा रहेका वन्यजन्तुले कसरी मनाए होलान् आजको दिन ? के खाए होलान् नयाँ वर्षको दिन भन्ने कुराको कौतुहलता सबैमा हुनु स्वभाविकै पनि हो ।
नेपालको एकमात्र सदरचिडियाखाना ललितपुरको जावलाखेलमा रहेको छ । यो चिडियाखानामा १११ प्रजातिका एक हजार ८०० भन्दा बढी बिभिन्न चराचुरुङ्गी, माछा, स्तनधारी तथा घस्रिने प्रजातिका न्यजन्तु राखिएका छन् । संसारमै दुर्लभ मानिएका बाघ, हात्ती, गैैँडा, भालु, मुनाल, खोयाहाँस जस्ता पंक्षीको संरक्षण यहाँ भइरहेको छ ।
यी वन्यजन्तुलाई नयाँ वर्षको दिन सदा झैँ चिडियाखाना व्यवस्थापनले ताजा फलफूलमा मेवा, स्याउ, केरा, अंगुर, सागपात, तरकारी, अण्डा, माछा, मासु, मूला, गाँजर, गोलभेँडा, फर्सि, गेडागुडी, दाल, चामल, नून, भटमास, दुध,बन्दा, फूलगोभी, ब्रेड लगायतका खानेकुरा खुवाएको छ ।
चिडियाखानाका प्रमुख डा. चिरञ्जीबीप्रसाद पोखरेलका अनुसार नयाँ वर्षको बिहान सदा झैँ वन्यजन्तुले मन पराउन मौसमी तरकारी, फलफूल, माछा, मासु, हरियो सागपात, गेडागुडी दाल, तयार पारेर खुवाइएको छ ।
डा.पोखरेलले भन्नुभयो, कतिपय वन्यजन्तुलाई फलफूल मात्र मिठो लाग्छ । कतिपयलाई माछा, अण्डा मात्र मिठो लाग्ने हुन्छ । मांसहारी प्राणीलाई मासुको आवश्यकता पर्छ । हामीले त्यही अनुसारको व्यवस्थापन गर्ने गरेका छौँ । अझै मौसम अनुसारका फलफूल समेत खोजेर खुवाएका छौँ ।
चिडियाखाभित्र रहेको रेडपाण्डा, दुम्सी, बाँदर लगायतका जनावरलाई स्याउ, अण्डा, केरा, मेवा लगायतका फलफूल खुवाइएको छ भने चराचुरुङ्गीहरुलाई माछा, गेडागुडी तथा तरकारी, दाल खान दिइएको छ ।
यहाँ राखिएका वन्यजन्तुलाई आहारका लागि मात्र वार्षिक रुपमा कम्तिमा तीन करोड रुपियाँ खर्च लाग्ने गरेको डा. पोखरेले बताउनुभयो ।
झण्डै ९० वर्ष पुरानो नेपालको ललितपुरको जावलाखेलस्थितका एउटा मात्र सदरचिडियाखाना तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शम्शेरको पालामा स्थापना भएको हो । यो चिडियाखाना वार्षिक रुपमा १० लाख भन्दा बढी मानिसले अवलोकन गर्ने गरेका छन् ।