पढ्नै पर्ने |

भेरी अस्पतालमा ८१ को कोरोना परीक्षण गर्दा ७५ मा सङ्क्रमण, चारदिनमा ६ सय थपिए

सिराज खान
नेपालगञ्ज, वैशाख ५ गते । पछिल्लो पटक कोरोना हटस्पट बनेको बाँकेमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणभन्दा बाहिर गएको छ । विशेष गरेर नयाँ वर्षको आगमनसँगै जिल्लामा कोरोना सङ्क्रमण आक्रामक रूपमा फैलिएको छ ।

आइतबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ८१ नमूना परीक्षण गर्दा ७५ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसअनुसार सङ्क्रमण दर ९२.६ प्रतिशत रहेको पाइएको छ ।

गएको एक साताको अवधीमा गरिएको परीक्षणको विश्लेषण गर्दा सङ्क्रमण दर अति नै उच्च रहेकोले जिल्लामा कोरोना नियन्त्रणभन्दा बाहिर गैसकेको पुष्टि भएको भेरी अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आइतवार मात्रै सङ्क्रमण दर ९२.६ प्रतिशत रहेको भेटिएपछि आफूहरु निकै चिन्तामा परेको जनाउँदै समुदायस्तरमा धेरै ठूलो सङख्या सङ्क्रमण फैलिसकेको देखिएको बताउनुभयो ।

उहाँले अब समुदायस्तरमा परीक्षणको आवश्यकता रहेकोले त्यसतर्फ सबैले तत्कालनै ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले बाँकेको गम्भीर अवस्थालाई हेरेर लकडाउनको विकल्प नदेखिएको पनि बताउनुभयो ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिवार १६६ र शुक्रवार २०० जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत चारदिनमा मात्रै जिल्लामा ६ सय भन्दा बढी सङ्क्रमित थपिएका छन् ।
भेरी अस्पतालको प्रयोगशालामा आइतवार पुष्टि भएका कोभिड सङ्क्रमितहरू अधिकांश स्वास प्रस्वाससम्बन्धी समस्या ज्वरो वा अन्य लक्षण सहित उपचारका लागि अस्पताल आएका बिरामीहरू रहेको प्रयोगशालाले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जले सङ्क्रमणको अवस्था समुदायमा कस्तो छ भनी जान्न समुदाय स्तरबाटै नमूना सङ्कलन गरी परिक्षण गर्न आवश्यक रहेको जनाएको छ ।

यसका लागि सरकारबाट प्रयाप्त रियजेन्ट र अन्य आवश्यक सामग्री प्राप्त हुने हो भने परीक्षणको दायरा बढाउन अस्पताल सधैं तयार रहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालको कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड र शंकास्पद विरामीलाइ राख्ने ४० शैयाको प्रि आइसोलेसन वार्ड गरी जम्मा १४२ बेड भरिइसकेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो ।