पढ्नै पर्ने | प्रदेश |

सङ्क्रमणसँगै बाँकेका गाउँमा अक्सिजनसहितका आइसोलेसन कक्ष बन्दै

गोबिन्द शर्मा
बाँके, वैशाख १३ गते । बाँकेमा कोरोना सङ्क्रमण तीव्रगतिमा वृद्धि भई अस्पतालहरुमा नयाँ बिरामी भर्ना गर्न समस्या भएपछि गाउँगाउँमा अक्सिजनसहितको एकान्तवास केन्द्र (आइसोलेशन कक्ष) सञ्चालनमा आएका छन् । खजुरा गाउँपालिका १ राधापुरस्थित स्वास्थ्य चौकीमा १० सय्याको कोभिड विशेष एकान्तवास केन्द्र सञ्चालनमा आएको छ ।
वडा अध्यक्ष सुमन मल्लको व्यक्तिगत चार लाखको सहयोगमा स्वास्थ्यचौकीमा अक्सिजन सुविधा सहितको एकान्तवास केन्द्र सञ्चालनमा आएको हो । यसैगरी खजुरा गाउँपालिकाले खजुराबजारस्थित जनक शिक्षा सामग्री केन्द्रको भवनमा ४० सय्याको अक्सिजनसहितको एकान्तवास केन्द्र सञ्चालन गरेको छ । दुबै एकान्तवास केन्द्रमा चिकित्सकसहितका स्वास्थ्यकर्मीले विरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
कोहलपुर नगरपालिकाले प्राकृतिक चिकित्सालयमा सुविधासम्पन्न अक्सिजनसहितको एकान्तवास केन्द्र सञ्चालन गरिरहेको सामाजिक विकास समितिका संयोजक कार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिनुभयो ।
भेरी अस्पतालमा विरामीको चाप थेग्न नसकेपछि नेपालगञ्ज उपमहानगरपालिकाले समेत ५० सय्याको सुविधा सम्पन्न एकान्तवास सञ्चालन गर्ने गरि तयारी अघि बढाएको छ । स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले १।२ दिनमै एकान्तवास केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । एकान्तवास केन्द्रका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था मिलाइसकिएको छ । उपमहानगरपालिकाले ह्वाईटहाउसमा सञ्चालन गरिरहेको एकान्तवास केन्द्र नियमित सञ्चालन हुने भएको छ ।
नगरभित्रै सुविधासम्पन्न आइसोलेसन भएपछि भेरी अस्पतालको चाप कम गर्न सहयोग पुग्ने अपेक्षा छ, स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो, सीमानाकामा समेत रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाले आफ्नाे तर्फबाट सक्दो प्रयास गरिरहेको छ । बाँकेको भेरी अस्पताल र शिक्षण अस्पतालले थेग्न नसक्ने गरी कोभिडका बिरामीहरुको सङ्ख्या बढ्न थालेपछि उपचार व्यवस्थापनमै कठिनाइ उत्पन्न भइरहेको छ ।

क्याप्सन ः बाँकेको खजुरामा सञ्चालनमा आएको कोभिड वार्ड । तस्बिर ः गोविन्द शर्मा