पढ्नै पर्ने | प्रदेश |

मुख्यमन्त्री पोखरेलकाे राजीनामा स्वीकृत, संसदीय दलकाे बैठक शुरू

दीपक ज्ञवाली

बुटवल, वैशाख १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भएकाे छ ।  आजै प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँको राजीनामा स्वीकृत गर्नुभएको र अर्को ब्यवस्था नभएसम्म मन्त्री परिषद्को कार्यभार सञ्चालन गर्न जिम्मेबारी दिइएको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाउनुभएको छ ।
आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुख कार्यालय सचिवालयले जनाएको छ ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजीम सरकार गठन गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा बुझाउनुभएको हो । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।
मुख्यमन्त्रीविरुद्ध नेपाली काँग्रेस,माओवादी केन्द्र लगायतका दलहरुले दर्ता गरेको अविश्वास प्रस्तावबारे आजै प्रदेश सभामा छलफल शुरु हुँदै थियो । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । वैशाख ६ मा उहाँ विरुद्ध काँग्रेस माओवादीसहितका दलले अविश्वासको प्रस्ताव ल्याएका थिए ।
मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ । एमालेका कुल सांस्द सङ्ख्या पनि ४१ नै हो । मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निश्काशनमा परेपछि मुख्यमन्त्री शङ्कर पोखरेललाई विश्वासको मत लिन ४१ मत आवश्यक पर्छ । जुन एमालेको थियो । तर, दुइ जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उहाँहरुको भूमिका के हुने थियो भन्ने कुरा एमालेभित्र संशय रहेको एमाले स्राेतले जनाएको छ ।अबको कार्यदिशा बारे छलफल गर्न  संसदीय एमाले संसदीय दलको बैठक बुटवलमा सुरु भएको छ ।