पढ्नै पर्ने | प्रदेश |

पोखरेलकै नेतृत्वमा आफ्नै दलको सरकार बनाउने गृहकार्य

दीपक ज्ञवाली
बुटवल,बैशाख १९ गते । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमाले लुम्बिनी प्रदेश संसदीय दलले नयाँ रणननीति तय गरेको छ । मुख्यमन्त्री पोखरेलको राजिनामा लगत्तै बसेको संसदीय दलको बैठकले आफ्नो पार्टीको एकल सरकार बनाउने गृहकार्य सुरु गर्ने निर्णय गरेको हो ।
आज बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजीम बहुमतको एकल सरकार बनाउने निर्णय गरेको दलका प्रमुुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो । उहाँका अनुसार एकल सरकारको मुख्यमन्त्री संसदीय दलका नेता शंकर पोखरेललाई नै तोक्ने समेत बैठकले निर्णय गरेको छ ।
एमाले स्राेतका अनुसार नयाँ सरकार गठनको प्रक्रिया छिट्टै हुन सक्ने छ ।
बैठकले मुख्यमन्त्रीविरुद्धको अबिश्वास प्रस्तावमा छलफल गर्न आजै बोलाईएको प्रदेश सभाको बिशेष बैठकको औचित्य नभएको भन्दै त्यस्तो बैठक स्थगित गर्न प्रदेश प्रमुखलाई पत्र पठाउने निर्णय पनि गरेको छ ।
नयाँ सरकार गठनका लागि प्रदश प्रमुख धर्मनाथ यादवले ठूलो दललाई सरकार गठनका लागि प्रदेशसभामा सहभागी दललाई आब्हान गर्नुपर्ने छ । एमाले लुम्बिनीमा ४१ जना प्रदेश सभा सदस्य छन् । जसपाका ४ र माओवादीका २ सांसद निश्काशनमा परेपछि अहिले प्रदेश सभा ८१ सदस्यमा खुम्चीएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छन् । जुन एमालेमा मात्रै छन् ।
एमाले संसदीय दलको बैठकमा ४० सदस्य उपस्थित हुनुहुन्थ्याे । कोभीड संक्रमणका कारण प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ भने उपस्थित हुन सक्नु भएन । नयाँ राजनैतिक घटनाक्रमहरुबारे नयाँ रणनीति बनाउदै मन्त्रीमण्डल विस्तार गर्ने समेत एमाले संसदीय दलले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलले आजै बिहान प्रदेश प्रमुख धर्मनाथ यालवलाई राजीनामा बुझाउनु भएको थियो । प्रदेश प्रमुखले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै अर्को ब्यवस्था नभएसम्म मन्त्री परिषदको कार्यभार सञ्चालन गर्न जिम्मेबारी दिएको प्रदेश प्रमुख कार्यलयका प्रबक्ता चिरञ्जिबी पौडेलले बताउनुभयो ।
मुख्यमन्त्री पोखरेल विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासहित ४१ जनाले बैशाख ६ मा अविश्वाशको प्रस्ताव दर्ता गरेका थिए । अविश्वाशको प्रस्तावमा हस्ताक्षर गरेका तीन सहित जसपाका ४ सदस्यलाई मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पक्षमा ल्याउदै मन्त्री बनाउनु भएको थियो ।  जसपाका चार सदस्य निलम्बन भएपछि घटनाक्रम अन्तै मोडिएको थियो ।
उक्त प्रकरण अहिले अदालतमा पुगेको छ ।