कुशेमा अज्ञात रोगले दुई बालकको मृत्यु, आधा दर्जन बिरामी
सहदेव बस्नेत
जाजरकोट, वैशाख १९ गते । कुशे गाउँपालिकाको ८ हिजा पहाडामा दुइ बालकको मृत्यु भएको छ । बुधबार र शनिबार बिहान ७ बजे स्थानीय मेडिकलमा उपचारको क्रममा दुई बालकको मृत्यु भएको हो ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अज्ञात रोगका कारण कुशे गाउँपालिका ८ का १ बर्षका पुजना तिरूवा र नौ महिनाका जगत खड्का रहेको बताउनु भयो । चार पाँच दिन अगाडिदेखि एक्कासी ज्वरो आउने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानिय मेडिकलमा लैजादै गर्दा बाटोमै मृत्यू भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
कुशे ८ का २ बर्षका जीवन खड्का, १८ महिनाकी सुहाना खडका, र ८ बर्षका लोकेश खड्का उपचारपछि सामान्य अवस्थामा रहेको स्थानीयले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बालबालिकहरुमा देखापरेको कोरोना हो या अन्य कुनै रोग हो भनी नियन्त्रण तथा पहिचान गर्नका लागि जिल्ला सदरमुकाम खलंगाबाट औषधीसहित स्वास्थ्यकर्मीहरुको एक टोली प्रभावित स्थलमा पुगेर उपचा मा लागेको जानकारी दिनुभयो ।
जिल्ला अस्पतालका डा. औसरसिंह राठोरले औषधी सहित जिल्ला अस्पतालमा कार्यरत डा. इन्द्र थापा, स्वास्थ्य सहायक राजेन्द्रजंग शाह र अहेव कृष्ण खड्का गरी तीन जनाको टोली पुगेको बताउनुभयो ।