बालबालिकामा संक्रमणक दर १० प्रतिशत पुग्यो, आत्तिनु पर्दैन ९० प्रतिशत घरमै ठीक भएका छन्
नेपाल कोरोना संक्रमणको दोस्रो लहरसँग जुधिरहेको छ । दोस्रो लहरले बिश्राम नलिदै फेरि तेस्रो भेरियन्ट पनि नेपाल प्रवेश गरेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । कोरोना भाईरसले सबै उमेर समूहका मानिसलाई उत्तिकै जोखिममा पारेको छ । बालबालिका पनि पहिलो लहरको तुलनामा दोस्रो लहरमा बढि संक्रमित हुन पुगेका छन् । पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण किन बढ्यो? आईसोलेसनमा बसिरहेका बालबालिकाहरुको केकस्ता कुराहरुमा ध्यान दिनुपर्दछ? लगायतका विषयमा कान्ति बाल अस्पतालका निर्देशक तथा बाल रोग बिशेषज्ञ प्रा.डा. आरपी बिच्छासँग गोरखापत्र अनलाईनका लागि बिष्णु पाण्डेयले गर्नुभएको कुराकानि
बालबालिकामा कोरोना संक्रमणको दर पहिलो लहरमा भन्दा दोस्रोमा बृद्धि भएको देखियो यसलाई कसरी हेर्नुहुन्छ?
यसलाई यसरी बुझौँ, पहिलो लहरमा बालबालिकामा कोरोना संक्रमणको दर २ देखि ३ प्रतिशत रहेको थियो तर अहिलेको जुन दोस्रो लहरको संक्रमण छ यसमा १० प्रतिशत रहेको छ । पहिलो लहरमा ज्येष्ठनागरीक बढि प्रभावित भए । अहिले दोस्रो लहरमा हामी के देखिराख्या छौँ भने २० देखि ४० बर्ष उमेर समुहका बढि प्रभावित भैरहेका छन् । त्यसैले हामीले के अपेक्षा गरेको छौँ भने पहिलो र दास्रो लहरमा संक्रमण हुने दर जसरी बढ्दै र उमेर समूह पनि घट्दै आईरहेको छ । जुन तेस्रो लहर छ, त्यो अक्टोबरको अन्त्य वा नेभेम्बरसम्म्म नेपालमा ठूलो रुप लिन सक्छ जसले बालबालिकालाई ठूलो असर पार्न सक्छ ।
अहिले बालबालिकालाई कोरोनाको खोप कतिको अपरिहार्य हो?
अपरिहार्यतात छ तर बालबाकिकामा अहिलेसम्म वैज्ञानिक तरीकाले प्रमाणित खोप विश्वमै कमै मात्रा आएको छ । एउटा मात्र अमेरीकाको फाईजर कम्पनी छ त्यसले १२ देखि १६ वर्ष उमेर समूहको लागि मेडिकल परीक्षण गरेर दुई हप्ता अघि मात्र बच्चामा प्रयोग गरेको छ । भारत लगायत अन्य पाँच, सात वटा देशहरुमा दोस्रो परीक्षण सुरु मात्र भएको छ ।अहिलेसम्म यी खोपहरु बच्चाका लागि प्रमाणीकरण नभएको हुदाँ गाह्रो छ । जब प्रमाणिकरण भैहाल्छ त्यसपछि सरकारले पनि ल्याउने प्रयास गरेर बालबालिकालाई खोप दिन सुरु गर्छ होला ।
बालबालिकाहरु चञ्चले स्वभावको हुने र स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालन गर्न मान्दैनन उनिहरुलाई संक्रमणको जोखिमबाट कसरी जोगाउन सकिन्छ?
हामीले आशा गरेका छौं दुई, तीन हप्तामा यो दास्रो लहर केहि कम होेला र तेस्रो लहर आउन तीन÷चार महिना लाग्न सक्छ । अहिलेदेखि हामीले बालबालिकालाई केहि कुरा सिकाउनु पर्ने देखिन्छ ,जस्तै ६ देखि १२ बर्ष उमेर समूहका बच्चालाई डब्लुएचओ को प्रोटोकल अनुसार मास्क लगाउन नै सिकाउनु पर्दछ । बच्चा चञ्चले स्वभावको हुन्छ उसले मान्दैन होला मास्क फाल्न सक्छ तर हामीले विस्तारै सिकाउँदै लैजानुपर्दछ । तीन÷चार महिनाभित्र उसले लगाउन सिकिहाल्छ । बालबालिकालाई पटक,पटक साबुन पानीले हात धुन सिकाउने ,सेनिटाईजर प्रयोग गर्न सिकाउने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डका बारेमा सिकाउन सकिन्छ । हामी बयस्क मानीसहरु काम गर्न बाहिर जान्छौ घरमा आएर बालबालिकासँग टाढै बसेर कुराकानी गर्ने , घरमा पनि मास्क नै लगाएर बालबालिकासँग कुरा गर्ने जस्ता कार्य गर्ने र गराउने गर्नुपर्दछ ।
पहिलो लहर पछि बिस्तारै बिद्यालयहरु खुल्नुले पनि बालबालिकामा संक्रमणको दर बढेको हो त?
हो, तपाईले भनेको कुरा बैज्ञानिक रुपमै सत्य हो । पहिलोमा चाहिँ हामीले तुरुन्तै बिद्यालय बन्द गरेका थियौँ बालबच्चा घरमै बस्न पाए, उनीहरु समुदायमा घुलमिल हुन पाएनन् । स्कुलमा गएर सबैसँग घुलमिल हुन पाएनन त्यसले पनि पहिलो लहरमा जोगाएको हुनसक्छ, त्यो पनि एउटा बैज्ञानिक तथ्य हो । तर दोस्रो लहरको बेला चाहिँ हामीले हेलचेक्राई गरेकै हौँ ,। यो पहिलो र दोस्रोको विचमा हेलचेक्राई वढि भयो ,यो बेला भेला , कार्यक्रम प्रदर्शन, खेलकूद बढि भए यसले पनि यो समस्या निम्त्याएको हुनसक्छ ।
संक्रमित गर्भवति महिलाले जन्माएको बच्चामा जन्मदै बच्चा संक्रमित हुने सम्भावना कति रहन्छ?
अहिलेसम्म जतिपनि बैज्ञानिक अभिलेख छ त्यसमा आमाको गर्भबाट कोभिड सरेको न्यून प्रमाण छ , धेरै छैन । अहिलेसम्म चीनको एउटा अध्ययनमा मात्रै दुइ वटा बच्चामा देखाएको छ ।यसलाई हामी भर्टिकल ट्रान्समिसन भन्छौँ । तर बच्चा जन्मिसकेपछि जन्मने ठाउँमै अथवा अस्पतालमै नर्सरी वा घरमा लगेर स्यहार सुसार गर्दा वयस्क मानिसहरुबाट होस एक/डेढ महिनाको बच्चामा पनि संक्रमण भएको देखिराखेका छौँ ।
बालबालिका घरमै बसिरहदा उनीहरुमा मनोवैज्ञानिक असर देखिन सक्छ यो समाधानका लागि केकस्ता कुरामा ध्यान दिनु जरुरी छ?
यो समयमा बालबच्चाहरुसँग बसेर टिभिमा समाचार हेर्ने काम चाहिँ कृपया नगर्नुहोस् । बालबच्चालाई बालबच्चा जस्तै घरमा रहन दिनुहोस् । उसलाई घरभित्रै खेल्न दिनुहोस ,मनोरञ्जनात्मक कुराहरु हेर्न लगाउनुहोस् ,पढन लगाउनुहोस ।अहिले समाचारहरुमा मृतकको संख्या, संक्रमितहरुको संख्यामात्र आउने गरेका छन् । हामी भन्दा बालबालिका धेरै एक्टिभ हुन्छन् । उनिहरु त्यो कुरा मनमा छिटो लिन्छन् ।उनिहरुले तपाईलाई सोध्न थाल्छन यो को मर्यो ? किन मर्यो ? कसरी मर्यो ? यावत प्रश्नहरू । आमा बुबा भनेको बच्चाको लागि सबैभन्दा ठुला काउन्सिलर हुन । यसलाई बाबु आमाले अवसरको रुपमा लिनुपर्दछ ।
होम आईसोलेशनमा रहेका बालबालिकाहरुको केकस्तो कुरामा ध्यान पुर्योउनु जरुरी हुन्छ?
कोभिडको संक्रमण हुँदा पनि ९० प्रतिशत बालबालिकाहरुमा यो सामान्य हुन्छ र आफै जान्छ । त्यसैले बच्चालाई रुघाखोकि ,सामान्य ज्वरो छ भने पारासिटामोल चाहिँ दिने ,पानी प्रशस्त खुवाउने , खानपीनमा ध्यान पुर्योउने र प्यारासिटामोल दिा पनि ज्वरो निरन्तर बढिरहे ,खोकी बढिरहे नजिकको डाक्टरसँग सल्लाहा लिगेर आवश्यक कदम चाल्नुपर्छ । हामीकहाँ आएका र कोरोना परीक्षण पोजेटिभ देखिए पनि ति मध्ये ९० प्रतिशत बालबालिका घरमै लगेर ठीक भैराखेको अवस्था छ । त्यसैले आत्तिनु पर्दैन तर सचेत भएर बस्नुपर्ने अवस्था भने पक्का पनि हो ।