पढ्नै पर्ने |

अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो

नरनाथ पाण्डे
योग शब्दको उत्पत्ति संस्कृत भाषाको युजिर योगे धातुबाट भएको हो । जसको अर्थ सम्मिलित हुनु वा एक हुनु भन्ने हुन्छ । जीवात्मा तथा परमात्मामा एकीकरण हुनु, मानिसको शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक पक्षको एकीकरण हुनु र व्यक्ति तथा समाजबीच एकीकरण हुनु भन्ने विज्ञान नै योग हो । पतञ्जलिको योगसूत्रका अनुसार योग चित्तवृत्ति निरोधको (योगश्चित्तवृत्तिनिरोधः यो.सू.१ः२) अवस्था हो । भगवत गीताका अनुसार योग दुःख र वेदनाको मुक्तिको अवस्था हो ।
योग दिवसलाई विश्व योग दिवसका नाममा जुन २१ तारिखका दिन विगत ६ वर्षदेखि मनाउने गरिएको छ । यसवर्ष “स्वस्थताका लागि योग ” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाईंदै छ ।

नेपालमा भने प्रत्येक वर्ष राष्ट्रिय योग दिवस भनेर माघ १ गते मनाउने गरिन्छ । शुरुमा २०३६ सालमा नेपालमा योगका प्रवर्तक राष्ट्रयोगी गुरु डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) को पहलबाट मनाउन थालिएको हो ।

योगदर्शन के हो र योगदर्शनमा के छ ?

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन् । त्यसैले यस दर्शनलाई पतञ्जली योग पनि भनिन्छ । भारतीय तथा पश्चिमाहरुले योगलाई योगा भन्ने गर्छन् । योगदर्शन पूर्वीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो जसलाई व्यवस्थित रुप दिने काम ऋषि पतञ्जलीले गरेका हुन् र हाल स्वामी रामदेवले पतञ्जलीकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन् । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइन्छ । यो सैद्धान्तिक मात्र नभई व्यवहारिक दर्शन पनि हो । स्वस्थ शरीर र शक्तिशाली आत्मा योग दर्शनका मुख्य विषयवस्तु हुन् । योग गर्ने समयमा शिर र गर्धनलाई सिधा पारेर राख्नु, इन्द्रियलाई मनले वशमा राख्नु, श्वास प्रश्वासको नियम पालना गर्नु र पवित्र मनको अनुकूल स्थानमा अभ्यास गर्नुजस्ता विधान यस दर्शनमा पाइन्छन् । यस दर्शनले शरीरलाई कहल्यै मिथ्या मान्दैन बरु उपयोगी वस्तु मान्दछ । यसले स्वस्थ शरीरमा शुद्ध दिमाग हुन्छ र शुद्ध दिमागले मात्र मुक्ति प्राप्त गर्न सकिन्छ भन्छ । योगदर्शन नै एउटा यस्तो दर्शन हो, जुन मानव जीवनमा अध्यात्मवाद, वादविवाद या तर्कशास्त्रलाई महत्व नदिएर जीवनको उद्धारकालागि मानव शरीरको व्यवहारिक र प्रयोगात्मक पक्षमा विशेष बल दिईन्छ । त्यसैले यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरुको माध्यमबाट आध्यात्मिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरु दर्शाइएको छ । यसै विशेषताका कारण प्राचीन कालदेखि आजसम्म योगले आफ्नो उपयोगिता वैज्ञानिक रुपमै सिद्ध गरेको छ ।
सारांशमा योगको अर्थ जोड्नु हो । अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । तर पतञ्जलीको दर्शनमा योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यहाँ योग भनेको जोड्नुको अर्थमा नआई प्रयत्नको अर्थमा आएको छ । वास्तवमा चित्तमा आउने विकार रोक्नु नै योग हो । शरीर, इन्द्रिय, मन, वुद्धि र अहंकार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र योग चित्तवृत्तिको निरोध हो जसलाई समाधि पनि भनिन्छ ।

के योग दर्शन हिन्दू धर्म विशेषको नै हो त ?

योग दर्शन वास्तवमा कुनैपनि धर्म, सम्प्रदायसँग सम्बन्धित छैन । हुनसक्छ कि हिन्दू धर्मले यस दर्शनको विकास र प्रचार प्रसार बढी गरेको होला, तर यसमा कुनैपनि धर्मप्रति विभेद छैन । यस दर्शनमा धर्म कर्मका लागि यज्ञ यज्ञादि र पुजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । यस दर्शनले स्वःअध्ययनका लागि प्रेरणा दिन्छ भने ईश्वरको ध्यान गर्दा ईश्वर वाचक ओउम् को उच्चारण गरी चित्त एकाग्र गराउन भन्छ । योग भारतीय मनिषीहरुको आध्यात्मिक चिन्तनको सारभूत तत्व हो तापनि यो दर्शनले पूर्व तथा पश्चिमका सारा जगतहरुलाई जोड्ने काम गरेको छ । सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरुमा योगाभ्यासको महत्व दिइएको हुनाले योगदर्शनको महत्व बढी छ । हिन्दू र बौद्ध बाहेकका अन्य धर्महरु जस्तैः ईसाइ धर्ममा योगको व्यवहारिक उपयोगका कुराहरु पाइन्छन्, मुहमद्ले योगको राम्रो अभ्यास गरेका थिए र पछि गएर उनी आध्यात्मवादका चिन्तक बने, ईस्लाममा नमाज पढ्नको लागि बसिने आसन योगासन हो, सूफिहरुको साधनमा ध्यानको निकै महत्व रहेको पाइन्छ, इसाई धर्मका प्रवर्तक इसामसिह ठूला योगी हुनुहुन्थयो जसको बारेमा न्यूगेष्टामेटमा कहानीहरु दिइएको छ र उहाँले आफ्नो साधनाका धेरै समय भारतका सिद्धहरुसँग बिताएको पाइन्छ । यस्ता उदाहरणहरुले के पुष्टि गर्न सकिन्छ भने योग सबैका लागि र सधैंका लागि आवश्यक अभ्यास हो, जसले सबै धर्म, जात, भाषाभाषी, वर्ण, लिङ्ग, सम्प्रदाय आदिलाई जोड्ने काम गर्दछ । यसले शरीर तथा मनलाई अनुशासित गराई जीवनका चरम उद्धेश्य आनन्दलाई प्राप्त गर्न सहायक सिद्ध हुन्छ । यसले आत्माभित्र रहेका विशेषताहरुलाई खोजेर निकाल्छ र मनुष्य जगतका मानसिकतामाथि सकारात्मक प्रभाव पार्ने काम गर्दछ । योगलाई आधुनिक चिकित्साको माध्यममा समेत समावेश गर्नुले योग निकै कल्याणकारी स्वास्थ्यको मानक पनि हो भन्न सकिन्छ । योगको महत्व दिनप्रतिदिन अझै बढ्दै जाने कुरामा पनि कुनै शंका छैन ।
योगदर्शनमा सैद्धान्तिक ज्ञान मात्र छैन कि यसमा धेरै व्यावहारिक ज्ञानहरु पनि छन् । हामी जति पनि शारीरिक अभ्यास, दौड, बिहानको हिंडाई, कठिन परिश्रम आदि जे जति गरेतापनि ती अभ्यासबाट पूर्ण व्यायाम हुन सक्दैन । अझै भन्ने हो भने ती अभ्यासबाट केवल शारीरिक व्यायाम हुन्छ तर मानसिक, संवेगात्मक र आध्यात्मिक अभ्यास त हनै सक्दैन । तर योग नै एउटा यस्तो माध्यम हो जसबाट माथि उल्लेखित सम्पूर्ण अभ्यासहरु सम्पन्न भई पूर्ण व्यायाम हुन्छ । यसरी पूर्ण व्यायामका लागि योग अति महत्वपूर्ण र मानव जीवनमा अति आवश्यक भएकोले हामीले पनि आजैदेखि ढिला नगरी योगकर्ममा जुटिहालौं । अन्तमा के भन्न सकिन्छ भने सबैकालागि र सधैंकालागि योग भएकोले योगदर्शन अहिलेको युगमा आइपुग्दा पनि वैज्ञानिक दर्शन कै रुपमा रहेको कुरा प्रमाणित गर्न सकिन्छ ।

(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरका प्राध्यापक र नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका योग र जीवनशैली विषयका विद्यावारिधि शोधार्थी हुनुहुन्छ ।)

pndynn2031@gmail.com