पढ्नै पर्ने |

अहिले र उ बेलाको ओलम्पिकमा धेरै परिवर्तन आएको छ : मानन्धर

आशा साह, दृश्यमा मनोजरत्न शाही
काठमाडौं, साउन ९ गते । हरेक खेलाडीको सपना हुन्छ, ओलम्पिकमा खेल खेल्ने । कुनै पनि उत्कृष्ट खेलाडीले आफ्नो जीवनमा ओलम्पिक स्वर्ण पदक छुटाउन चाहँदैनन् । त्यसैले ओलम्पिकलाई खेलकूदको महाकुम्भ मान्ने गरिन्छ ।


नेपाली खेलाडीले सन् १९६४ देखि ओलम्पिकमा प्रवेश पाएको हो । ओलम्पिकमा केही त्यस्ता क्षणहरु हुन्छन् जुन सधैं सम्झनलायक हुन्छ । जसले ओलम्पिक इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत छुट्टै स्थान ओगटेको हुन्छ ।
सन् १९७६ को ओलम्पिकमा भाग लिन जाँदा नेपाली खेलकूदले बामे सार्दै गरेको बताउनुहुन्छ, ओलम्पिक खेलाडी बैकुण्ठ मानन्धर । यो ओलम्पिक यात्रा कष्टकरमै वितेको बताउनुहुन्छ, उहाँ ।

उहाँले ओलम्पिकमा दौडमा भाग लिनका लागि ट्रायलमा जितेपछि सन् १९७६ को ओलम्पिकको लागि आफू छनोट भएको बताउनुभयो ।

अहिले जापानको टोकियोमा ग्रीष्मकालीन ओलम्पिकको ३२ औँ संस्करण शुरु भइसकको छ । अहिले र उ बेलाको ओलम्पिकमा धेरै परिवर्तन आएको उहाँले बताउनुभयो । उहाँले त्यो पल सम्झदै भन्नुहुन्छ, ओलम्पिकको लागि छनोट त भएँ तर खेलकूदको लागि कुनै पनि सहयोग थिएनन् । त्यस्तैले अमेरिका गएर ओलम्पिक खेलको लागि प्रशिक्षण गर्ने सोच बनाएको उहाँले बताउनुयो ।

‘क्यानडा गएर सिक्ने भन्ने कुरा टाढाको कुरा थियो, त्यसैले मैले अमेरिका गएर प्रशिक्षण लिने सोच बनाएँ,’ उहाँले इतिहास सम्झदै भन्नुहुन्छ, ‘अमेरिकामा तीन महिना प्रशिक्षण गर्ने त्यसपछि क्यानडा जाने भनेर मैले आफ्नो योजना बनाए । तर, त्यो सपना मै सिमित भयो ।’

सन् १९७६ को ओलम्पिकको शुरु हुनुभन्दा तीन महिना अगाडि प्रशिक्षणको लागि अमेरिकाको न्यूयोर्क पुगेको खेलाडी मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, एउटा सपना लिएर अमेरिका त पुगे तर त्यहाँ अलपत्र परें । ओलम्पिक शुरु हुनुभन्दा तीन महिना अगाडि खेलाडी आएको छ भनेर के–के कुरा आवश्यक पर्छ त्यो सोधिन्छ । तर, त्यस्तो केही नभएको उहाँले बताउनुभयो ।

‘ओलम्पिकमा भाग लिन मलाई निकै गाह्रो भयो । त्यसमाथि तीन महिना अगाडि न्यूयोकमा पुगे । कति गाह्रो भएको थियो, त्यो क्षण अहिले कल्पना गर्नै सक्दिना,’ उहाँ भन्नुहुन्छ ।

न्यूयोकमा समस्या भएपछि सहयोगको लागि राष्ट्र संघका प्रतिनिधि शैलेन्द्रकुमार उपाध्यायलाई फोन गरे । तर उहाँबाट पनि केही सहयोग हुन नसकिने उहाँले बताउनुहुन्छ ।

‘जसोतसो न्यूयोर्कमा तीन महिना आफ्नै बलमा प्रशिक्षण गरेँ । त्यसपछि करनेर यूनिभर्सिटिमा प्रशिक्षण गरे । त्यहाँ मेरो धेरै चर्चा भयो,’ उहाँले भन्नुभयो,‘त्यसबेला प्रशिक्षणको लागि म सँग कुनै प्रकारको सुविधा थिएन । सार्ट, पाइट र जुत्ता केहि थिएन । एउटा हाप पाइन्ट र गन्जिको भरमा मैले प्रशिक्षण गरे । र प्रशिक्षण राम्रो भयो ।’

सन् १९७६ को ओलम्पिकमा भाग लिन बैकुण्ठ मानन्धर एकलो नेपाली खेलाडी हुनुहुन्छ ।

त्यसोत नेपालको पहिलो ओलम्पिक सहभागिता टोकियोमा नै भएको थियो भने ५७ वर्ष पछाडि आएर फेरि नेपाली ओलम्पिक टिम जापानको राजधानी टोकियो फर्किएका छन्, ओलम्पिकमै प्रतिस्पर्धा गर्न । गीष्मकालीन ओलम्पिकको ३२ औँ संस्करण शुक्रबारदेखि जापानको टोकियोमा शुरु भएको छ ।