अपराधमा सेलिब्रेटी !
विजयरत्न तुलाधर
यतिबेला भारतको हिन्दी चलचित्र जगत्की लोकप्रिय नायिका शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई अश्लील (पोर्न) चलचित्र बनाएर बेचेको आरोप लागेको छ । यो आरोपमाथि छानबिन र अनुसन्धान भइरहेको छ । पति राज कुन्द्रामाथि लागेको आरोपको सत्यतथ्य त अनुसन्धानले पत्ता लगाउला तर नायिका शिल्पा शेट्टीको कलायात्रामा भने ठूलो असर पर्ने देखिन्छ । यसको पहिलो उदाहरणका रूपमा शिल्पा आफू निर्णायकको भूमिकामा रहनुभएकी ‘सुपर डान्सर–४’ नामक टेलिभिजन कार्यक्रमबाट तुरुन्तै हट्नु परेको छ । साथै उहाँको ‘हंगामा–२’ चलचित्रको व्यापारमा समेत नराम्रो असर परेको छ । यो मामिला अनुसन्धानमा रहनुका साथै राज कुन्द्रा पुर्पक्षका लागि थुनामा रहेको हुँदा यस विषयमा उहाँले कुनै औपचारिक भनाइ बाहिर ल्याउनु भएको छैन । तर प्रहरीलाई दिनुभएको बयानमा उहाँले आफ्ना श्रीमान् कुनै पोर्न फिल्म बनाउने नभई ‘इरोटिक’ भनिने नारी सौन्दर्य दर्शाउने चलचित्र मात्र बनाउने निर्माता हुन् भन्नुभएको छ ।
देशको प्रचलित कानुन विपरीत काम गर्नु अपराध हो । नेपाली भाषामा एउटा उखान पनि छ, सुन चोरे पनि चोर, नुन चोरे पनि चोर । त्यसैले कानुनले नगर भनेको कुनै पनि काम गर्नु अपराध हो । अभिनेत्री शिल्पाका पति राज कुन्द्रामाथि लागेको अभियोग साबित नभएसम्म उहाँलाई अपराधी भन्न मिल्दैन । तर उहाँकै ‘इरोटिक’ चलचित्रमा काम गरेकी शर्लिन चोपडाले राज कुन्द्रालाई विभिन्न आरोप लगाउनुभएको छ । शर्लिनले राज कुन्द्राको कम्पनीबाट निर्माण भएको करिब बीस वटा त्यस्ता ‘इरोटिक’ भनिने नग्न चलचित्रमा काम पनि गर्नुभएको छ । उहाँले त्यस्ता चलचित्र खेलेवापत प्रति चलचित्र बीस लाख भारु लिने गर्नुभएको थियो । उहाँले खेल्नुभएका चलचित्रहरू मध्ये ‘चकलेट’ चर्चित चलचित्र हो । यस्ता चलचित्रहरूलाई सौन्दर्य प्रदर्शन गराउने चलचित्र भनिए पनि नारीको नग्न शरीर प्रदर्शन नै यसको प्रमुख उद्देश्य रहँदै आएको छ । अश्लील चलचित्र बनाउने मात्र नभई शर्लिनले आफूलाई कुनियतले शारीरिक स्पर्श गर्ने गरेको आरोपसमेत कुन्द्रालाई लगाउनुभएको छ ।
बलिउड भनिने हिन्दी चलचित्र जगत्मा यस्ता खालका घटनाको चर्चा बेलाबेलामा हुने गरेको छ । बलिउडमा मात्र होइन, हलिउडमा पनि यस्ता यौन शोषणका घटनाहरू चर्चामा आउने गरेका छन् । यस्तै खालको एउटा घटना हालै पनि भएको छ । विश्व विख्यात पप गायक क्रिश वु माथि पनि एक उन्नाइस वर्षीया युवतीले यौन शोषण गरेको आरोप लगाइन् । यो आरोपपछि क्रिश वुलाई चिनियाँ प्रहरीले हिरासतमा लिई अनुसन्धान सुरु गरेको छ । युवतीले आफू सत्र वर्षकी हुँदादेखि नै क्रिश वुले आफ्नो सहमतिबिना शारीरिक सम्पर्क राख्दै आएको आरोप लगाएकी छन् । क्रिश वु माथि ती युवतीलाई एउटा भोजमा जबर्जस्ती मदिरा पिलाइ बलात्कार गरेको आरोप छ । तर पप गायक वु ले आफूमाथि लागेको यो आरोप सरासर गलत भएको र आफ्नो बदनाम गराउने नियतले फैलाएको हल्ला मात्र हो भन्नुभएको छ । वु माथि यो अभियोग लागेपछि कतिपय कम्पनीहरूले उहाँसँगको व्यापारिक सम्बन्ध नै तोडेका छन् ।
बलिउडमा राज कुन्द्राको कारण उहाँकी श्रीमतीको कलायात्रामा समस्या आएजस्तै चिनियाँ मूलका क्यानाडाली गायक क्रिश वुको साङ्गीतिक यात्रामा पनि नराम्रो असर परेको छ । हलिउडमा यस्ता घटनाले बेलबेला चर्को रूप लिने गरेको छ । करिब तीस वर्ष अगाडि विश्व विख्यात अभिनेता वुडी एलनले पनि यस्तै खालको अभियोगको सामना गर्नुपरेको थियो । त्यतिबेला उहाँमाथि आफ्नै सात वर्षीया धर्मपुत्रीमाथि यौन शोषण गरेको आरोप लागेको थियो । ती बालिकाकी आमाले अभिनेता वुडी एलनमाथि यो आरोप लगाएकी थिइन् । अभिनेता वुडीले आफ्नै धर्मपुत्री भएकोले बच्चीलाई स्नेहले छोएको भने पनि बालिकाकी आमाले ती बच्चीलाई छुन नहुने र छुन नपर्ने अङ्गमा छुने गरेको आरोप लगाएकी थिइन् । हाल पचासी वर्षीय एलन त्यतिबेला पचपन्न वर्षको हुनुुहुन्थ्यो ।
एलनले आफूमाथि लागेको आरोप खण्डन गर्दै बालिकाकी आमाले आफूमाथि रिसमात्र पोखेको बताउनुभएको थियो । बालिकाकी आमा र एलन एकताका सम्बन्धमा थिए भने सन् १९९२ मा आएर उहाँहरू बीच सम्बन्ध चुँडिएको थियो । त्यसपछि एलनको एक बीस वर्षीया युवती सुन यी प्रविनसँग सम्बन्ध बनेको थियो । आफूलाई छाडेर अर्कै युवतीसँग लागेको रिसमा बालिकाकी आमाले यस्तो आरोप लगाएको चर्चा त्यतिबेला खुबै चलेको थियो ।
फ्राएन्क सिनात्रा नाम गरेका एक सेलिब्रिटीमाथि पनि एक महिलाले आफूसित विवाह गर्ने भनी ललाइफकाइ सम्बन्ध बनाएको आरोप लगाइन् । यही आरोपमा उहाँलाई बर्जन काउण्टीका प्रहरीले सन् १९३८ नोभेम्बर २७ का दिन पक्राउ ग¥यो । पछि ती महिला र फ्राएन्क बीचको शारीरिक सम्बन्ध कुनै बलजफ्ती नभई आपसी सहमतिमा भएको आधारमा यो मुद्दा टुङ्गिएको थियो ।
यसैगरी ‘द ह्वाइट मेन कान्ट जम्प’ चलचित्रका लागि ख्याति कमाउनु भएका वेस्ली स्नाइप्स आफ्नो कमाइ अनुरूप राजस्व नबुझाएको आरोपमा पक्राउ पर्नु भयो । यो अभियोग साबित भएपछि उहाँ दुई वर्ष जेल पर्नु भयो । हलिउड अभिनेता टिम एलन भने लागू पदार्थ कारोबार गरेको अभियोगमा पक्राउ पर्नु भयो । टोय स्टोरी हलिउड एनिमेसन चलचित्र शृङ्खलामा बज लाइटयर पात्रका निम्ति आफ्नो स्वर प्रदान गरेर ख्याति कमाउनु भएका टिम एलनसँग ६५० ग्राम कोकिन भेटिएपछि उहाँ पक्राउ पर्नु भएको थियो । यो सन् १९७८ मा उहाँ २५ वर्षको हुँदाको कुरा हो ।
आपराधिक गतिविधिमा संलग्न बलिउड कलाकारहरूमा सबैभन्दा चर्चित नाम हो सञ्जय दत्त । उहाँलाई विध्वंशकारी अपराधअन्तर्गत प्रहरीले पक्राउ गरेको थियो । सन् १९९३ मार्च १२ तारिखका दिन भारतको मुम्बईमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा हतियार उपलब्ध गराएको आरोपमा उहाँ पक्राउ पर्नु भएको थियो । सञ्जय दत्तले आफूसँग हतियार रहेको कुरा स्वीकार्नु भएको थियो । तर ती हतियारहरू आतङ्ककारी गतिविधिमा प्रयोग हुने कुरा आफूलाई जानकारी नभएको बयान दिनुभएको थियो । त्यही आधारमा उहाँको अपराध पुष्टि भएको थियो । अदालतबाट धरौटीमा छुट्दा चलचित्रहरूमा अभिनय पनि उहाँले गर्नुभयो । ‘मुन्नाभाइ एमबीबीएस’ यही समयमा तयार भएको चलचित्र हो । यो चलचित्रले व्यावसायिक रूपमा अपार सफलता प्राप्त ग¥यो । सञ्जय दत्त समय समयमा धरौटी राखी तारेखमा बाहिर निस्कन त पाउनु भयो । तर अभियोगबाट मुक्ति भने पाउन भएन । अन्ततः सन् २०१३ मा उहाँलाई अपराधमा संलग्न ठह¥याइ पाँच वर्षको जेल सजाय सुनाइयो ।
जेलमा पर्नु भएपछि सञ्जय दत्तका कतिपय चलचित्र समस्यामा परे । यो समयमा पनि एकपटक आफ्नी श्रीमती मान्यता दत्तको खराब स्वास्थ्यका कारण पेरोलमा जेलबाट बाहिर निस्कनु भयो । यसरी अभिनेता सञ्जय दत्तले आफ्नो कारावास सजाय पूरा गर्नुभयो । अभिनेता सञ्जय दत्तले धरौटीमा छुटेर चलचित्रहरूमा काम गर्नु भएजस्तै पुरानो जमानाका ख्याति प्राप्त अभिनेता बलराज साहनीले पनि आफ्नो जेल जीवनको क्रममा एउटा चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँ एउटा जुलुसमा सहभागी हुनुभएको थियो । जुलुसले हिंसात्मक रूप लिँदा उहाँ प्रहरी हिरासतमा पुग्नुभयो । यो घटना सन् १९५३ को हो । त्यतिबेला निर्माता के आशिफको ‘हलचल’ चलचित्रमा साहनी काम गर्दै हुनुहुन्थ्यो । साहनी हिरासतमा परेपछि यो चलचित्रको सुटिङमा समस्या उत्पन्न हुन पुग्यो । यो समस्यालाई निराकरण गर्न के. आशिफले गर्नुभएको अनुरोधलाई स्वीकार्दै प्रहरीले जेलबाट नै सुटिङमा जाने अनुमति दियो । उहाँ जेलबाटै सुटिङ थलोसम्म प्रहरीको निगरानीमा पुग्नु हुन्थ्यो ।
जेल पर्नु भएका बलिउड कलाकारहरूमा सलमान खानको नाम पनि आउँछ । उहाँ माथि जरायो शिकार गरेको अभियोग लागेको थियो । भारतको जोधपुरमा ‘हम आपके है कौन’ चलचित्रको सुटिङ भइरहँदा त्यहीँको जङ्गलमा उहाँले जरायोको शिकार गर्नु भएको थियो । सन् १९९८ अक्टोबर १२ तारिखका दिन उहाँलाई अपराधी ठहर गर्दै जोधपुर अदालतले पाँच वर्षको कैद सजाय सुनाएको थियो । जेलमा रहनु हुँदा उहाँले कैद भुक्तान गरिसकेका तर जरिवाना रकम तिर्न नसकी बाहिर निस्कन नपाएका केही कैदीहरूको जरिवाना रकम पनि तिरी दिनुभएको थियो । सलमान खानसँग जोडिएको अर्को एउटा अपराध भनेको मुम्बईको एक सडक दुर्घटनामा बाटोमा सुतिरहेको व्यक्तिको मृत्यु पनि हो । तर यस मामिलामा सलमान खानका गाडी चालकलाई दोषी ठह¥याइ अभिनेता सलमान खानलाई उन्मुक्ति दिइएको थियो ।
जेल सजाय भोग्नुभएका अरू भारतीय कलाकारहरूमा मोनिका बेदी, ममता कुलकर्णी, श्वेता बासुप्रसाद पनि हुनुहुन्छ । भारतीय कलाकारहरूलाई कलाकारिताको आडमा देह व्यापारमा लाग्ने गरेको आरोप पनि लाग्ने गरेको छ । यस्तै आरोपमा नायिका श्वेता बासुप्रसाद प्रहरी हिरासतमा पुग्नुभएको थियो । उहाँलाई भारतको हैदराबाद बन्जारा हिल्स भन्ने ठाउँबाट आपत्तिजनक अवस्थामा प्रहरीले हिरासतमा लिएको थियो । उहाँले भारतका विख्यात चलचित्र निर्देशक विशाल भारद्वाजको ‘मकडी’ चलचित्रमा बालकलाकारको रूपमा अभिनय गर्नुभएको थियो । यस चलचित्रमा सशक्त अभिनय गरेर उहाँले सर्वश्रेष्ठ बालकलाकारको राष्ट्रिय पुरस्कार पनि हासिल गर्नुभएको थियो । उहाँले करिब दुई महिना प्रहरीको निगरानीमा नाबालिग रेखदेख गृहमा बिताउनुभएको थियो । यस्तै गरी अभिनेत्री मोनिका बेदीलाई अबु सलेम नामक अपराधी घोषित व्यक्तिको सङ्गतमा रहेर जाली पासपोर्ट बनाई यात्रा गरेको अभियोगमा सन् २००२ मा पोर्चुगलको लिस्बन पुलिसले पक्राउ गरेको थियो । मोनिका बेदीको अबु सलेमसँग प्रेम सम्बन्ध रहेको पनि भनिन्छ । उहाँले निखिल उप्रेतीकी नायिकाको रूपमा नेपाली चलचित्र ‘परिचय’मा पनि अभिनय गर्नुभएको थियो । उहाँले पोर्चुगलमा १८ महिना जेल जीवन बिताउनुभएको थियो भने पोर्चुगलले भारतमा हस्तान्तरण गरेपछि भारतको आन्ध्र प्र्रदेश अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो । उहाँले २१ महिना भारतको जेलमा बिताउनु भयो । पछि उहाँ धरौटीमा छुट्नु भयो ।
जेल परेका भारतीय नायिकाहरूमा सोनाली बेन्द्रे पनि पर्नु हुन्छ । गलत धार्मिक अभिव्यक्तिको कारण उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने अर्धनग्न फोटोहरूका कारण सधैँ विवादमा परिरहनु हुने ममता कुलकर्णी पनि प्रहरी हिरासतमा पुग्नुभएको थियो । उहाँ आफ्नो प्रेमी विक्की गोस्वामीसँग लागू औषध कारोबार मुद्दामा पर्नु भएको थियो । यसैगरी लागू औषध दुरुपयोगको अभियोगमा बलिउड कलाकार फरदिन खान, यौन शोषणको अभियोगमा अभिनेता शाइनी आहुजा र चलचित्र निर्देशक मधुर भण्डारकरलाई पनि लगेको थियो । उहाँहरू मध्ये अभिनेता आहुजालाई सात वर्ष जेल सजाय सुनाइएको थियो । उहाँलाई आफ्नो घरमा काम गर्ने एक कामदार महिलामाथि जबर्जस्ती गरेको आरोप लागेको थियो । आफूउपर भएको सजायविरुद्ध उहाँ पुनरवलोकनमा जानुभयो र अदालतले धरौटीमा छाडी दिएको थियो ।
नेपालको सन्दर्भमा सबैभन्दा चर्चित अभियोग भनेको ख्यातिप्राप्त द्वन्द्व निर्देशक राजेन्द्र खड्गीउपर लागेको मानव बेचबिखनको आरोप र निर्माता माधव वाग्लेविरुद्ध लागेको राष्ट्रिय मुद्रा अपचलनसम्बन्धी अपराधको अभियोग हो । चलचित्र ‘लुट २’ बनाइरहेको बेला निर्माता माधव वाग्ले प्रहरी हिरासतमा पर्नु भएको थियो । यो चलचित्रमा प्रयोग गर्न उहाँले केही नक्कली नोट छाप्नुभएको थियो । त्यसरी चलचित्रमा प्रयोग गर्न छापिएका नोटहरू बाहिर आएको आरोपमा उहाँ पक्राउ पर्नु भएको थियो भने प्रहरीले उहाँको कार्यालयबाट नै नक्कली नोट बरामद गरेको थियो । चलचित्रमा प्रयोग गर्न छापिएका नोटमा ‘यी मुद्राहरू चलचित्रमा मात्र प्रयोग गरिने हो’ भनी स्पष्ट किटान गरिनुपर्ने कानुनी प्रावधान छ । तर बरामद गरिएको नक्कली नोटमा त्यो उल्लेख गरिएको थिएन । हाल उहाँ धरौटीमा छुुट्नु भई तारेखमा हुनुहुन्छ ।
चलचित्रकर्मीहरू यौनजन्य अपराधमा चाहिँ धेरै फँसेका देखिन्छन् । मानिसले यौनजन्य अपराध गर्न पुग्नुको एउटा कारण यौनकुण्ठा हुनसक्ने मनोचिकित्सकहरू बताउँछन् । नेपालका गायक तथा अभिनेता प्रकाश ओझा पनि एक पटक यस्तै खालको यौन अपराधमा जेल सजाय भोग्नुभएका कलाकार हुनुहुन्छ । ओझाले क्षणिक उत्तेजनामा आएर आफूले यस्तो जघण्य अपराध गर्न पुगेको बताउनु भएको थियो ।
बाहिरबाट हेर्दा चम्किलो र यथेष्ट रकम कमाउन सक्ने क्षेत्रको रूपमा चलचित्रकर्म देखिन्छ । यही कुराले धेरै मानिस आकर्षित पनि हुन्छन् र यस क्षेत्रमा प्रवेश गर्छन् । तर सोचेअनुरूपको आर्थिक आर्जन गर्न नसक्दा यसको विकल्पमा अपराधको बाटो हिँड्न पुग्छन् ।
जे होस्, कोही यौन कुण्ठाले ग्रसित भएर, कोही क्षणिक आवेशमा अपराध गर्न पुग्छन् । धेरैजसो आर्थिक प्रलोभनमा फस्छन् । कोही देशको कानुन राम्रोसँग थाहा नपाउँदा अपराधमा संलग्न हुन्छन् । अपराध चाहे जस्तोसुकै कारणले होस्, त्यो दण्डनीय हुन्छ र दण्ड सजायबाट कसैले उन्मुक्ति पाउँदैन । यो कुरो सदैव स्मरणीय छ ।