काठमाडाैंमा २०७ जना पाकेटमार पक्राउ
काठमाडौँ, असोज १८ गते । काठमाडौँ उपत्यकामा पाकेटमार गर्ने २०७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पकेटमारहरु सार्वजानिक बसमा दुई-दुई जनाको दरले छ जनासम्मको ग्रुप बनाई बस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडि पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाई चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । पकेटमारले मौका छोपी मोबाईल, नगद र सुनचाँदी पकेटमारी गरी पालोपालो गर्दै ओर्लने गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
पैसालाई द, मोबाईल- कान, पकेटमारी पीडित- रामे, पकेटमारी गर्ने (मास्टर)- काशी, पैसा धेरै छ- टानको द, पैसा थोरै छ, जुटको द, गाडी-कांचा, केटा- छापा, केटी-भद्रि, पुलिस आयो ठल्दाई आयो, ड्राईभर- माम, खलासी- मले, गाडीबाट झरेर भाग- टप्की, गाडीभित्र अगाडि सर- अकल जा, गाडी भित्र पछाडि सर- चिछल जा शब्दको प्रयोग गरी पकेटमारीले एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।
नेपाली हिन्दुकाे महान् चाड दशैँ तिहार मनाउन घर फर्कनेहरुको सवारी साधनमा पाकेटमारी हुन सक्ने वा किनमेल गर्न जाँदा पाकेटमारी हुन सक्ने भएकाले सुरक्षाको प्रत्याभूति दिन काठमाडौँको रिङरोड बाहिर र भित्री ईलाकामा चल्ने सार्वजनिक यातायात, सपिङ्ग मल, मुख्य मार्केटहरुमा पाकेटमारी हुन नदिन भदौ २५ गतेदेखि असोज १५ गतेसम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजनिक सवारी साधनमा यात्रा गराई परिचालन गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न स्थानमा सञ्चालित बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाईल, गरगहना चोरी गर्ने क्रममा रङ्गे हात तथा पाकेटमारहरुमाथि थप अनुसन्धान भइरहेको छ ।