विविध कार्यक्रमसहित मनाइयो नेपाल संवतकाे नयाँ वर्ष
सपना थामी, दृश्यमा मनोजरत्न शाही/केशब गुरुङ्ग
काठमाडौं, कात्तिक १९ गते । नेपाल संवत् ११ सय ४२ शुक्रबारदेखि सुरु भएको छ । नेपाल संवत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वाः ले नेपाल मण्डलका जनतालाई ऋण मोचन गरी नेपाल संवत् प्रवर्तन गराइएको विश्वास छ । यसै अबसरमा आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागका नेवाः बसोबास भएका स्थानमा नेपाल सम्बतको नयाँ वर्ष मनाइयो ।
विगतमा शंखधर साख्वाः ले पशुपतिनाथ मन्दिरमा ठूलो यज्ञ गरेर नेपाल नामको मौलिक संवत् प्रवर्तन गरेको इतिहास रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ बताउनुहुन्छ ।
माली गाउँमा रहेको जयवर्माको मूर्ति जसमो १०७ संवत् उल्लेख छ, यो राष्ट्रिय संग्राहलयमा छ । जसलाई इतिहास संशोधन मण्डलका संस्थापक नरहरिराज पन्तले सो संवत् शख संवत् भएको बताउनुभएको थियो । यसैगरी, लिच्छिवीकालको मध्यकालमा पनि अंशुवर्माको बुङ्मतीमा फेला परेको संवत् २९ मानदेवसंवत् रहेको भन्ने अध्ययनले देखाएको गुरुङ्ग बताउनुहुन्छ । यसैगरी, ललितपुरको उमामहेश्वर मन्दिरमा पनि संवत् १०७ को अभिलेख छ । जसकारण सुरुमा संवत् मात्रै भन्ने गरिए पनि नेपाल देशको नामबाट बनेको नेपाल संवत् देशको मौलिक र राष्ट्रिय संवत् रहेको उहाँ बताउहुन्छ । यसबाहेक भाषा वंशावलीको कथा, केशर पुस्ताकलयको संक्षिप्त वंशावलीको कथन, पशुपतिको मन्दिरको प्राङ्गणको दक्षिण पेटीमा हातमा शंख लिएको शंखधर साख्वाःको मूर्ति र तोयनाथ पन्तको पुरानो पात्रो नेपाल संवत्का प्रमाणहरु हुन् ।
नेपाल संवत् नेपालमा मात्र मनाइन्छ भन्ने ठान्नु अनभिज्ञता रहने उहाँको भनाई छ । कात्तिक शुक्ल प्रतिपदामा भारतको गुजरात र राजस्थानमा पनि नयाँ वर्षको सुरु हुने उहाँ बताउनुहुन्छ । यसबाहेक नेपाल संवत् नेवाः समुदायले विशेष मनाउने गरेपनि यो साझा र समन्वयात्मक रहेको उहाँले बताउनुभयो ।