बिना पासपोर्ट सत्यमोहन जोशीको पहिलो विदेश यात्रा
सनम महर्जन, दृश्य: मनोजरत्न शाही, केशव गुरुङ्ग
काठमाडौं, मङ्सिर ९ गते । शताब्दी पुरूष सत्यमोहन जोशीको पुरानो पासपोर्ट सङ्ग्रहालयमा राखिने भएको छ। मङ्सिर १ गते विभागमा आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई पासपोर्ट हस्तान्तरण गर्नुभएको थियो ।
ई–पासपोर्ट आए लगत्तै जोशीको पहिलो पासपोर्ट परराष्ट्र मन्त्रालयले सङ्ग्रहालयमा राख्न लागेको जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार, नेपालको पहिलो ई–पासर्पोट उहाँलाई उमेर र कामको आधारमा दिइएको हो । ‘म जतिको उमेरसम्म बाँचेका मानिस छैनन्’, १०२ वर्षीय जोशीले भन्नुभयो, ‘साहित्यकार, कलाकारहरु त झन् पुगेकै छैनन् ।’
जोशीको पहिलो विदेश भ्रमण पासपोर्ट बिनै भएको थियो । म श्रीलंका गएको थिएँ । तर त्यो समयमा मसँग पासपोर्ट नै थिएन । त्यो समयमा मैले संयुक्त संघकोको फेलोसिप फेला पारेको थिएँ, श्रीलंकामै बसेर काम गर्नुपर्ने’, उहाँले भन्नुभयो, ‘विषय चाहिँ ‘भाइटल स्ट्याट्स्टिक’ भन्ने थियो अर्थात् आजभोलिको जनसंख्याले राखे जस्तै जनसंख्यासँग जोडिएको जन्म र मृत्युको अध्ययन गर्ने विषय हो ।’
नेपालबाट सबै व्यवस्था मिलेको थियो तर पासपोर्ट भने थिएन । त्यो बेला नेपालमा पासपोर्ट खुलेको पनि थिएन । तर जसरी पनि जानु नै पर्ने भएपछि उहाँ बिना पासपोर्ट विदेश जानुभएको थियो । उहाँले भन्नुभयो, ‘नेपालबाट ‘टु हुम इट मे कन्सन’ को निवेदन लिएर पासपोर्ट बिनै म श्रीलंका गएको थिए ।
‘ई–पासपोर्ट लिए पनि अब भने उहाँले विदेश जाने कुनै र इच्छा नभएको बताउनुभयो । अब विदेश के–का लागि जाने ? मेरो केही काम नै छैन’, उहाँले भन्नुभयो, ‘धेरै देश घुमेको छु । अमेरिका, क्यानडा, चीन, रुस र अन्य धेरै छन् । आफ्नो देशमा पनि घुमेको छु । यति भए पुग्छ ।’
उहाँलाई पहिलो पासपोर्ट कुन मितिमा लिएको भन्ने थाहा छैन । ‘पहिलो पासपोर्ट सन् १९५१ तिर लिएको हो कि !’, सम्झना गर्दै भन्नुहुन्छ, ‘मिति ठम्याउन गाह्रो भयो ।’
विदेश यात्राका उहाँसँग विभिन्न अनुभव छन् । चीन भ्रमणमा जाँदा आफ्नो पासपोर्ट भएको तर परिवारका सदस्यको नभएको उहाँ सम्झनु हुन्छ । ‘म चीन पनि गएँ । त्योबेला मेरो परिवारसँगै थियो। मैले पासपोर्ट बनाइसकेको थिएँ । तर मेरी श्रीमती र दुई छोराछोरीको पासपोर्ट थिएन । ४ र ६ वर्षको छोराछोरी कसरी पासपोर्ट लिने ? आमासँग दुवैजना राखेर तस्बिर खिच्न लगाइयो । यसरी तीन जनाको एउटै तस्बिर राखेर पासर्पोट बनाएर चीन पुगेको थिए ।’
अबका दिनमा आफूलाई कुनै पासपोर्ट काम नलाग्ने उहाँले बताउनुभयो । ‘यो उमेरमा मलाई ई–पासपोर्टको काम छैन । हवाई जहाजमा बस्न पनि सक्दिन । इच्छा पनि छैन’, उहाँ भन्नुहुन्छ, ‘अखबार पनि चित्त बुझाउन मात्र पढ्छु । त्यो पनि हेडलाइन मात्र हो । सय वर्ष पुगेपछि के छ र ? आज मरे नि मर्ने नै हो, भोलि मरे नि मर्ने नै हो ।’