पढ्नै पर्ने | खुला |

अत्याधुनिक क्यामेराको प्रयोग, पाटाको आकार र डिजाइन मुख्य आधार

काठमाडौं, मङ्सिर १९ गते । विश्वलाई खुसीको खबर दिने गरी नेपालमा आजबाट राष्ट्रिय बाघ गणनाको शुभारम्भ हुँदैछ । बाघ पाइने विश्वका १३ वटा मुलुकमध्येका नेपालले आफ्नो प्रतिबद्धता पूरा गर्छ कि गर्दैन भनेर विश्व समुदायले नेपालको बाघ गणनाको कामलाई विशेष महत्वका साथ हेरिरहेको छ ।
यो पटकको बाघ गणनामा अत्याधुनिक क्यामेराको प्रयोग गरिएको राष्ट्रिय प्रकृतिक संरक्षण कोषका डा. नरेश सुवेदीले बताउनुभयो । क्यामरा ट्रयाप विधिको प्रयोग गरेर बाघको गणना हुने गरेको छ । यो विधि संसारका अन्य मुलुकले पनि प्रयोग गर्ने गरेका छन् ।
जुलोजिकल सोसाइटी अफ लण्दन (जेडएसएल नेपाल) का बाघ संरक्षण कार्यक्रम प्रमुख डा. भगवान दाहालले भन्नुभयो, प्रविधिलाई सञ्चालन गर्न सक्ने नयाँ पुस्ता र निकुञ्जको भूगोल, वन्यजन्तुबाट हुन सक्ने सुरक्षा चुनौतीका विषयमा स्थलगत ज्ञान भएका पुराना अनुभवी प्राविधिकको सहभागितामा बाघ गणना भइरहेको छ । यसले प्रविधिको उपयोग र पुरानो ज्ञानको प्रयोग गर्न सहज हुनेछ ।


कसरी हुन्छ त गणना ?


सरकारले अन्तर्राष्ट्रिय समुदायले मान्य हुने गरी बाघ गणनको प्रोटोकल निर्माण गरेको छ । सन् २०१७ मा सरकारले पारित गरेको ‘टाइगर एन्ड प्रे–बेस मोनिटरिङ प्रोटोकल’ ले निर्दिष्ट गरेका विधि र प्रक्रियालाई गणनामा अनुशरण गरिन्छ । सो प्रोटोकल अनुसार क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधि अपनाएर बाघ गणना गरिन्छ ।
सो प्रोटोकलमा बाघ गणनाका लागि एउटा ग्रिडमा एक जोडी क्यामरा दायाँ र बायाँबाट जडान गरिन्छ । क्यामेराले बाघको सबै शरीरको तस्विर खिच्ने गरी मात्र जडान गर्नुपर्ने प्रोटोकलमा व्यवस्था गरिएको छ । क्यामेरा राख्ने दूरी, क्यामेरा राखेको उचाइ तथा क्यामेरा राख्नुपर्ने समयावधिलाई निर्धारण गरिए अनुसार राखिने गरेको कुरा बाघ विषयमा विद्यावारिधि डब्लुडब्लुएफका डा. कञ्चन थापाले बताउनुभयो ।
बाघ हिँडेको पाइला, बाघको गन्ध, उसको दिसा तथा पिशाव गरेको स्थान, उसले पानी खाने ठाउँ आदिको पहिचान गरी अत्याधुनिक स्वचालित क्यामेरा जडान गरिन्छन् । बाघ लगायत अन्य वन्यजन्तु नजिक आउँदा ती स्वचालित क्यामराले तस्विर खिच्छन् र रातको समयमा पनि तस्विर खिच्न सक्ने प्रविधिका ती क्यामरालाई १५ दिनसम्म एक ग्रिडमा राख्ने गरिन्छ ।
१५ दिनपछि क्यामेराले खिचेको तस्विरलाई सङ्रकलन गरेर राखिन्छन् र अन्तिममा बाघको पहिचान गर्ने काम गरिन्छ । हरेक बाघको शरिरमा भएका पाटाको आकार, डिजाइन फरक फरक हुने गर्छ । बाघविज्ञ डा.बाबुराम लामिछानेले भन्नुभयो, ‘हरेक बाघको शरिरमा हुने पाटा फरक फरक हुन्छन् । टाढाबाट झट्ट हेर्दा उस्तै लागेपनि गहन अध्ययन गर्दा पाटाको मोटाई, चौडाई, आकार फरक फरक हुने गर्छ ।’
त्यसैले बाघको गणना भन्दा पनि अत्याधुनिक क्यामेराबाट लिइएको तस्विरको अध्ययनमा विज्ञटोलीलाई बढी समय लाग्ने गर्छ । गैँडा, हात्ती जस्तो गणना बाघ हुँदैन ।
अध्ययनका बेला बाघको उचाइ, उमेर, खुट्टाको लम्बाइ, कानको आकार, वजन लगायतलाई पनि बाघ पहिचानमा आधार बनाइने गरिएको छ ।


गणकको बीमा र विशेष सुरक्षा

बाघ आफैँमा हिंस्रक प्रजातिको वन्यजन्तु हो । त्यसैले यसको गणना गर्ने कार्य ज्यादै जोखिम र डर लाग्दो हुन्छ नै । यही कुरालाई ध्यानमा राखेर सरकारले बाघ गणनामा सहभागी हुने प्राविधिकहरुको १० लाख रूपियाँ बराबरको बीमा गरेको छ ।
विभागका अनुसार यस पटक गणना हुने स्थानमा नेपाली सेनाको तैनाथीलाई पनि बढाइएको छ । अघिल्लो चैत महिनामा भएको गैंडा गणनामा सहभागी भएका गणकलाई हात्तीले आक्रमण गर्दा गणना नै रोक्नुपरेको थियो र घाइते कर्मचारीको उपचारमा लाखौँ रुपियाँ खर्च भएको घटनालाई दृष्टिगत गरी यो पटक सुरक्षा स्थितिलाई विशेष ध्यान दिइएको हो ।
चिवतन, बर्दिया र शुक्लाफाँटामा विगतका वर्षमा पनि गणना हुँदा गणनामा संलग्न व्यक्तिहरुको क्याम्प स्थापना गरेको स्थान पहिचान भइसकेका छन् तर बाँके राष्ट्रिय निकुञ्ज कान्छो राष्ट्रिय निकुञ्ज भएकोले विगतको कम अनुभवले गर्दा सुरक्षा चुनौती बढी देखिएको विभागले जनाएको छ ।


महिला गणकलाई विशेष सुरक्षा


बाघ गणनामा महिला प्राविधिकको पनि सहभागिता हुने भएको छ । गणनामा सहभागी हुने महिला प्राविधिकलाई निकुञ्जभित्रको कम चुनौती हुने ब्लकमा खटाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, महिलालाई पनि यो काममा सहभागी गराइने भएको छ । तर वन्यजन्तुको सुरक्षा चुनौती भएका स्थानमा महिलाले भाग दौड गर्न र काम गर्न गाह्रो हुने भएकाले त्यस्ता स्थानमा पुरूषलाई प्राविधिकलाई खटाइएको छ ।

विश्वभरिका बाघ पाइने मुलुकहरुको सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ सम्मेलनमा सबै मुलुकले तत्कालिन अवस्थामा आफ्नो मुलुकमा रहेको बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो प्रतिबद्धता पूरा गर्ने मुलुकको सूचीमा नेपाल पर्ने निकै सम्भावना बढिरहेका बेला बाघ नेपालीहरुले मात्र नभई संसारले नै यो बाघ गणनाको प्रतिफल पर्खिरहेको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले भन्नुभयो, ‘यो गणना सामान्य गणना होइन, यो नेपालका लागि मात्र नभई विश्व समुदायका लागि ऐतिहासिक छ । यो गणनाले नेपाललाई विश्व जगतका लागि नयाँ बाघ उपहार दिने अवसर जुराइरहेको छ । जुन मानव समुदायका लागि खुसीको कुरो हुँदैछ ।’
रुसमा भएको बाघ सम्मेलनले सन् २०२२ सम्म विश्वभर बाघको सङ्ख्या ३ हजार ५ सयको सङ्ख्यालाई दोब्बर पार्ने सङ्कल्प गरेको थियो । सचिव डा. कँडेलले भन्नुभयो, ‘‘अरु देशले त्यो सङ्कल्प पूरा गर्न सक्छन्, सक्दैनन् त्यो त हेर्न बाँकी नै छ । नेपालले भने अबको डेढ महिनापछि २५० बाघ पालेको घोषणा गर्ने समय आइरहेको छ, त्यो दिशातर्फ जान हामीले आज गणनाको काम सुरु गर्दैछौँ ।”
आइतवार चितवन पर्सा राष्ट्रिय निकुञ्जबाट बाघ गणनाको शुभारम्भ गरिंदैछ । संरक्षण साझेदार संस्थाहरूका प्रतिनिधिहरू समेत सम्मिलित हुने बाघ गणनाको कार्य अघिल्ला वर्षभन्दा विशेष सतर्कताका साथ सुरू गरिने थालेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले बताउनुभयो ।
पहिलो चरणमा चितवन पर्सा कम्प्लेक्स र दोस्रो चरणमा बाँके बर्दिया कम्प्लेक्स तथा शुक्लाफाँटा लालझाडी कम्प्लेक्समा बाघ गणना गर्ने कार्यक्रम छ ।