सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यसहित ५४ जनाकाे उम्मेदवारी फिर्ता
काठमाडौं, मङ्सिर २६ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार साढे १२ बजेसम्म काँग्रेस पदापधिकारीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सहमहामन्त्रीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
शनिबार महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो ।
नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ । यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।