पढ्नै पर्ने | समाज | खेलकुद |

'क्यान्सरको डरले मर्छु भन्ने थियो, जिमले फेरियो मेरो जीवन'

सनम महर्जन,दृश्यमा मनोजरत्न शाही/ केशव गुरुङ
काठमाडौं, माघ ९ गते । ‘झट्ट हेर्दा केटा मान्छे जस्तै देखिने, केटा हो कि केटी,’ सुरुमा जो कोहीसँग भेट हुँदा रजनी श्रेष्ठलाई सोधिने प्रश्न हो । ‘छ्या कति नराम्रो जिउ, लुगा लगाएको पनि कति नसुहाएको,’ धेरैले रजनीलाई देख्ने बित्तिकै भन्थे । यी शब्दले रजनीको मन दुख्थ्यो । सुरुसुरुमा प्रतिक्रिया जनाए पनि विस्तारै यस्ता शब्दको बेवास्ता गर्न थाल्नुभयो रजनीले ।

‘यो शरीरमा धेरै मिहिनेत लागेको छ, यो कसलाई के थाहा’, उहाँ भन्नुहुन्छ । उहाँको शरीर पनि अरु सामान्य महिलाको जस्तै थियो । उहाँको जीवनमा यस्तो परिवर्तन आयो जब उहाँलाई आजभन्दा आठ वर्ष (२०१५) अगाडि चिकित्सकले क्यान्सरको आशंका गरे ।

त्यो बेलामा रजनीलाई आफू मर्छु जस्तो लागेको थियो । रोगसँग डराएर हार मानेकी उहाँलाई श्रीमानले जीवनसँग हार मान्न दिनुभएन । उहाँको श्रीमान पहिलेदेखि जिम गर्ने भए पनि रजनीलाई भने रहर थिएन । तर, बिरामी भएपछि श्रीमानको सुझावमा उहाँ २०१६ मा जिम जान थाल्नुभयो । मन नहुँदा नहुँदै श्रीमानले जिम गरेर धेरै रोग निको पारेको सुनाएपछि उहाँले पनि जिम गर्ने निर्णय गर्नुभएको थियो । त्यसपछि जिम त जानुभयो । तर, सुरुमा जिम गर्दा उहाँलाई निकै गाह्रो भएको अनुभव उहाँले सुनाउनुभयो ।

प्रेरणाको स्रोत श्रीमान्

मेरो प्रेरणाको स्रोत मेरो श्रीमान् (समिर श्रेष्ठ) हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सुरुमा धेरै गाह्रो थियो । घरको भान्छा मै सीमित भएको जीवन बाहिर ‘टु पिस’ मा उत्रिन धेरै गाह्रो भयो । यो क्षेत्रमा आउनु कुनै योजना पनि थिएन । घाँटीमा आएको घाउलाई चिकित्सकले क्यान्सरको नाम दिएपछि सुरु भएको यात्रा हो यो । क्यान्सर शब्द सुनेर तर्सिएकी उहाँले क्यान्सर टेस्ट भने नगराएको बताउनुभयो । जिम जान थालेकाे २ महिनापछि आफूमा आएको परिवर्तनले उहाँ आफै चकित पर्नुभयो ।

सन् २०१७ देखि उहाँको च्याम्पियन यात्रा सुरु भयो । अन्जान शाहको सहयोगमा ८ महिनाको निरन्तर मिहिनेतले उहाँले पहिलो पटक २०१७ मा महिलाअन्तर्गतको दोस्रो मिस्टर काठमाडौं जित्नुभयो । यसपछि दोस्रो पटक उहाँले महिलाअन्तर्गतको नेशनल खेल मिस्टर हिमालयमा पनि गोल्ड मेडल जित्न सफल हुनुभयो । यस्तै, साउथ एसियन र इन्डोनेसियामा भएको एसियन र प्लस ३० को खेलमा पनि जित्नुभएको थियो ।

गर्वकाे क्षण

‘विदेशमा जितेपछि नेपालको झन्डा फर्फराउन पाउनुको खुशी बेग्लै छ’, उहाँले भन्नुभयो । उहाँ इन्डोनेसियामा पुगेको सम्झनुहुन्छ । ‘नेपालबाट म एक्लै गएकी थिएँ । त्यहाँ भाग लिन आएका विभिन्न देशका महिलाले मलाई एक्लै आएकोमा जिस्काए’, उहाँ भन्नुहुन्छ, ‘तर म एक्लै स्टेजमा गएँ र जिते पनि । त्यसपछि भने नेपालको नारी, एक्लै आइन् र जितिन भने । जुन जीवनको सबैभन्दा ‘प्राउड मुमेन्ट’ थियो ।’

सरकारसँग आश

नेपाल सरकारले खेलाडीका लागि बजेट छुट्याएको छैन । नेपालमा जति पनि खेलाडी छन्, सबैले आफ्नै खर्चमा तालिम लिने गरेको उहाँको अनुभव छ । ‘एउटा खेलमा भाग लिन धेरै खर्च र मिहिनेत लाग्छ । तर, हाम्रो लागि केही छैन’, उहाँ भन्नुहुन्छ, ‘यो खेलमा झनै सरकारको कुनै सहयोग छैन ।’ खेलाडीले देशको लागि नाम र मेडल जित्छ । तर, सरकारले भने खेलाडीको वास्ता नै नगरेको उहाँको गुनासो छ । आफूसँग देशको लागि केही गर्छु भन्ने चाहना भएको सुनाउनुहुन्छ । उहाँले महिला दिदीबहिनीको लागि छुट्टै व्यायामशाला खोल्ने सपना रहेको बताउनुभयो । उक्त व्यायामशालामा तालिम गराएर देशको नाम उज्ज्वल बनाउने उहाँ सुनाउनुहुनछ ।