पढ्नै पर्ने | समाज |

बेलायती सेनाका सेवानिवृत्तले पाए ९६ वर्षमा नागरिकता


बेलिना थापा
लमजुङ, माघ २७ गते । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. २ तान्द्राङटक्सारका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गनुभएको छ । साविक तान्द्राङटक्सार गाविस वडा नं. १ का कृष्णबहादुर गुरुङले जिल्ला प्रशासन कार्यालय लमजुङबाट नागरिकता प्राप्त गर्नुभएको हो । बेलायती सेनाका सेवानिवृत्त रहनुभएका गुरुङको वि.स. १९८२ साल चैत ५ गते जन्म भएको थियो । कुनै पनि कागजातविना बेलायती सेनामा भर्ती हुनुभएका उहाँलाई पछिल्लो समय नागरिकता आवश्यक परेको हो । दुई छोरा रहेको र अंश दिने कुरामा समस्या आएपछि नागरिकताका लागि परिवारले पहल गरेको हो । उहाँको नागरिकता बनाउन कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गर्नुभएको छ ।

सन् १९४८ सालमा बेलायती सेनामा भर्ती सुनुभएको थियो । कागजात विना भर्ती हुनुभएका उहाँ मलाय (मलेसिया) जानुभयो । केही समयपछि सरुवा भएर सिंगापुर जानुभयो । मलेसिया र सिंगापुर गरी १५ वर्ष बसेर सेवा निवृत्त भएपछि आफ्नै घर फर्कनुभयो । घर आएपछि पनि घर छाडेर भारत र देशका विभिन्न जिल्लामा बस्नुभयो । ४० वर्षदेखि भने नियमित रुपमा घरमै बस्दै आउनुभएको छ । उक्त अवधिमा उहाँलाई नागरिकताको अभाव कहिल्यै भएन । हाल छोराछोरीको जोडमा उहाँको नागरिकता बनेको छ । ९६ वर्षीय कृष्णबहादुर गुरुङलाई प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता पाउँदा अचम्म लागेको कृष्णबहादुर गुरुङले बताउनुभयो ।

‘हाम्रो पालामा नागरिकता चाहिने थिएन । नागरिकता नभए पनि भर्ती भइयो । पेन्सन पनि लिइरहेकै छु । अहिले छोराछोरीले नागरिकता बनाउन भनेपछि बनाउन आएँ’ उहाँले भन्नुभयो, ‘नागरिकता भन्ने कस्तो हुन्छ थाहा थिएन । आज देख्न पाइयो । अचम्म पनि लाग्यो । खुसी पनि लाग्यो ।’

अहिले दुई छोरालाई अंश दिन समस्या परेकाले नागरिकता बनाउनुभएको बताउनुभयो । सम्पत्ति पनि कृष्णबहादुर गुरुङको बुवा डम्बरबहादुर गुरुङको नाममा छ । डम्बरबहादुरको नामबाट कृष्णबहादुरको नाममा नामसारी गर्न नागरिकता आवश्यक पर्ने भएपछि नागरिकताका लागि लागेको कान्छो छोरा श्रीप्रसाद गुरुङले बताउनुभयो ।
कृष्णबहादुरको श्रीमती विजयामा गुरुङको नागरिकता भने बनेको थियो । कृष्णबहादुर पति कायम गरी नागरिकता बनेकाले छोराछोरीको नागरिकता पनि बनेको छ । श्रीमतीको २० वर्षअघि निधन भइसकेको छ । उमेर भएको समयमा जागिरमा लागेको र धेरै समय घरमा नभएका कारण यसअघि नागरिकता नबनेको हो ।

नागरिकताको बारेमा ज्ञानको अभाव भएका बृद्धले ढिलै भए पनि नागरिकता प्राप्त गर्नुभएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमै आएर पहिलो पटक यति बढी उमेरका बृद्धले नागरिकता पाएका हुन् । यसअघि प्रशासनले केही बृद्धबृद्धालाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो ।
कृष्णबहादुरका दुई छोरा र तीन छोरी छन् । ठूलो छोरा सेरबहादुर गुरुङ, कान्छो छोरा श्रीप्रसाद गुरुङ, जेठी छोरी साबि गुरुङ, माइली तिलु गुरुङ र कान्छी छोरी मङ्गली गुरुङ छन् । पेन्सनपछि घरमा आएपछि बेलायत जाने मौका पाएकोमा कृष्णबहादुर जानुभएन । धेरै कागजात आवश्यक पर्ने र कागजात जुटाउन नसकेपछि प्रक्रिया अघि नबढाएको र घरमै बस्नुभएको थियो ।