पढ्नै पर्ने |

आगलागीमा मृत्यु भएका पाँचजनाको पहिचान खुल्यो

गोकर्ण पौडेल
तुलसीपुर माघ २८ गते । गएराति दुई बजेदेखि लागेको आगलागीमा परेर पाँच जना मृतकको पहिचान भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ५मा ङ लाइनमा रहेको एक चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालका अनुसार मृतकमध्ये चार पुरुष र एक महिला छन् । तीमध्ये चार जना बालबालिका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर पाँच मा बस्ने १३ वर्षीय सजिता खातुन,१४ वर्षका हसन बकस, १५ वर्षका मसिन बकस,पाँच वर्षीय अबिददिन अलि र ४० वर्षिय नजरदिन अलि रहेको प्रहरीले जनाएको छ । आगलागी भएपछि निस्सासिएर मृत्यु भएको प्रारम्भिक जानकारीमा आएको उहाँले बताउनुभयो । इरम फुटवेयर चप्पल गोदाममा रहेको घरमा आगलागीको कारण भने अझै खुल्न सकेको छैन । आगलागी नियन्त्रणमा आए पनि क्षतिको विवरण भने अझै आएको छैन ।
। पाँचै जनाको शवलाई राप्ती प्रादेशिक अस्पतालको शवघरमा लगिएको छ । तुलसीपुर घोराही उपमहानगरपालिकाका दमकल,सेना,प्रहरी,स्थानीयवासीले आगो नियन्त्रणमा ल्याएका हुन् । आगलागीको कारण भने अझै आएको छैन । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नेतृत्वमा सम्बन्धित क्षेत्रमा एक टोली पुगेको छ । आगलागीमा परेकाहरुको उद्धार गर्नका गएका सोही ठाउँका ३८ वर्षीय अमर डाँगी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ ।