पढ्नै पर्ने | खुला |

झडपमा १५ प्रहरी दुई प्रदर्शनकारी घाइते, १४८ पक्राउ

काठमाडौं, फागुन ४ गते । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरिरहेका बेला त्यसकाे विराेधमा नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको स्थिति आएपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीको ढुङुगामुढाबाट घाइते भएका प्रहरीको अहिलेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी नभएको उहाँले बताउनुभयो । १४८ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १३६ पुरुष र १२ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरबितर पारे पनि प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका छन् ।