अभिषेककाे संघर्ष : विद्यालयबाट निकालियो हिम्मत हारिन, डबल डिग्री मिल्यो
सिर्जना खत्री, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ
काठमाडौं, फागुन १३ गते । नेपाली समाजमा ‘जहाँ इच्छा त्यहाँ उपाए’, ‘खाने मुखलाई जुँगा’ले छेक्दैन जस्ता उखान प्रचलनमा छन् । चेन फर चेन्ज अर्थात् परिवर्तनकाे लागि संजालका संस्थापक निर्देशक अभिषेक शाहीको जीवनसँग यिनै उखान मेल खान्छन् ।
जीवनमा अनेक उतार–चडाव आउँछन्। हिम्मत हारेर बस्नुभन्दा आफ्नो कमजोरीलाई सामना गर्दै अगाडि कसरी बढ्न सकिन्छ भनेर धेरैले उहाँबाट सिक्न सक्छन् । शारीरिक रुपमा अशक्त मानिसका लागि उहाँ एक उदाहरण हुनुहुन्छ । शारीरिक रुपमा अशक्त भएपछि मानिसले जीवन बर्बाद भयो भनेर चिन्ता लिनु पर्दैन भन्ने पाठ उहाँको जीवनबाट सिक्न सकिन्छ ।
काउन्सिलिङ साइकोलोजीमा उच्च शिक्षा हासिल गर्नुभएका उहाँ दृष्टिबिहीन हुनुहुन्छ । विद्यालय तहमा अध्ययन गर्दागर्दै उहाँको दृष्टि गुमेको हो । मानिसको जीवन आफै संघर्षपूर्ण हुन्छ त्यसमाथि दृष्टि गुमेपछिको संघर्ष छुट्टै हुन्छ । संघर्षले नै उहाँलाई अगाडि बढ्न प्रेरणा दिएको छ । विभिन्न हन्डर र ठक्कर खाँदै उहाँ अहिले त्रिभुवन विश्वविद्यालयबाट साेसियल वर्कमा मास्टर्स गर्दै हुनुहुन्छ ।
संस्थाको माध्यमबाट दृष्टिबिहीनलाई कसरी आत्मनिर्भर बनाउने भन्ने अभियानमा उहाँ हुनुहुन्छ । समाजमा अन्य मानिस जस्तै आत्मनिर्भर भएर जीवनयापन कसरी गर्ने भन्ने विषय तालिममा सिकाइन्छ । दृष्टिबिहीकोे जीवन सहज बनाउनका निम्ति आधारभूत तालिम दिनेकाम गरेको उहाँको भनाइ छ ।
सन् २०१५ मा आफू पूर्ण रुपमा दृष्टिबिहीन भएपछि उहाँले आफूजस्तै साथीका लागि केही गर्ने उद्देश्य राख्नुभयो । त्यही उद्देश्यले २०७४ सालमा स्थापना भएको संस्था हो ‘चेन फर चेन्ज’ । त्यसपछि सुरु भयो अन्य मानिस जस्तै शारीरिक अशक्तको जीवन सञ्चालनको प्रयास । ‘एक अर्कोलाई चिनाउने बुझाउने जीवनलाई सहज बनाउने उदेश्यले यो संस्थाको स्थापना भएको हो’, उहाँ भन्नुहुन्छ । आफूले भोगेका समस्या अरुले झेल्नु नपरोस् भनेर उहाँले सामाजिक कार्यलाई अगाडि बढाउनु भएको हो ।
कसरी गुम्यो दृष्टि ?
जन्मिदा उहाँका दुवै आँखा सामान्य थिए । जन्मिएको पाँच महिनामा उहाँको आँखामा मोतिया बिन्दु भयो । जतिबेला नेपालमा यसको उपचारको प्रावधान थिएन । चिकित्सकले शल्यक्रिया गर्नेक्रममा उहाँको ज्योति गुम्यो । शल्यक्रिया सफल नभएपछि उहाँले आँखाको उपचारका लागि लामै संघर्ष गर्नुभयो ।
परिवारले विभिन्न चिकित्सकलाई देखाउनुभयो । चिकित्सको सल्लाह अनुसार उहाँको आँखाको दुई/तीन पटक शल्यक्रिया भयो । पहिलो शल्यक्रिया सफल नभएकाले आँखा निकै बिग्रिसकेको थियो । लो भिजन भएकोले चस्मा लगाउनु पर्नेभयो । कक्ष ९ मा पढ्नुहुन्थ्यो । आँखाको भिजन कम हुँदै जान थाल्यो । चेक गर्दा जलविन्दु भएको पत्ता लाग्यो । त्यसपछि विस्तारै उहाँको दृष्टि गुम्यो ।दृष्टि गुमेपछि विद्यालयबाटै निष्काशन
१० कक्षामा पढ्दै गर्दा उहाँलाई स्कुलले आँखा कम देख्ने र लेखेको नबुझ्ने भन्दै निष्काशन गरिदियो । आँखा कम देख्नेलाई पास गराउन नसकिने तर्क विद्यालय प्रशासनले गरेको थियो । पढ्दै आएको स्कुलले निकालेपछि उहाँलाई परिवारले कीर्तिपुरको ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयमा भर्ना गरिदिनुभयो । त्यहाँ उहाँले अंपग भएका साथी भेट्नुभयो । दृष्टिबिहीनले चलाउने कम्प्युटरमै पढ्न/लेख्न सिक्नुभयो । त्यो बेलासम्म उहाँको आँखाको दृष्टि पूरै गुमिसकेको थिएन । विस्तारै आँखाको भिजन कम हुर्दै गएपछि उहाँ फेरि चिकित्सकलाई भेट्न पुग्नुभयो । चिकित्सकले आँखामा जलविन्दु भएको र आँखाको प्रेसर पनि धेरै बढेकोले तुरुन्त शल्यक्रिया गर्न सुझाव दिए ।
चिकित्सकको सुझाव अनुसार उहाँको आँखाको शल्यक्रिया भयो । तर शल्यक्रिया भएको भोलिपल्ट उहाँको दाहिने आँखा पूरै बन्द भयो । एउटा आँखा पूर्ण रुपमा नदेख्ने भए पनि उहाँले एसएलसीको बेलामा हिम्मत हार्नु भएन । आँखा नदेखेपछि उहाँले सहयोगी राखेर एसएलसी दिनुभयो । एसएलसीमा पास हुनुभयो । परिवारको साथ र आफ्नै संघर्षले उहाँले त्यसपछि पढाइलाई निरन्तरता दिनुभयो ।
आफ्नै आँखाले हेरेर हिँडेको, पढेको र लेखेको एक्कासी पूर्ण रुपमा दृष्टिबिहीन हुँदा सुरुसुरुमा त उहाँलाई पढ्न, पैसा चिन्न, हिड्डुल गर्न निकै गाह्रो भएको थियो । परिवार र साथीको सहयोगमा नै आज उहाँ यो ठाउँमा पुग्नुभएको छ । अहिले उहाँले दुई विषयमा उच्च शिक्षा हासिल गर्नुभएको मात्र छैन आफू जस्तै शारीरिक रुपमा अशक्तलाई सहयोग गर्दै आउनुभएको छ ।