कोभिड-१९ रोकथामका लागि विज्ञहरूसँग स्वास्थ्यमन्त्री ढकालको छलफल
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको छ । मन्त्रालयका उच्च अधिकारीसहित मन्त्री ढकालले भर्चुअल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग बुधबार छलफल गर्नुभएको हो ।
छलफलमा मन्त्री ढकालले सबैको प्रयासले मात्र कोभिड-१९ नियन्त्रणमा सफलता मिल्ने बताउनुएको उहाँको प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्री ढकालले कोभिड-१९ नियन्त्रणमा देखा परेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताउनुभयो । कोरोना नियन्त्रणका लागि अग्रभागमा रहेर खटिनुभएका चिकित्सक, नर्स, स्वास्थयकर्मी, सुरक्षाकर्मीलगायतलाई मन्त्री ढकालले धन्यवाद दिनुभयो । छलफलमा सहभागी डा. महेश मास्केले सूचना व्यवस्थापन चुस्त हुनुपर्ने बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर हाल नगएको भन्दै सङ्क्रमित सङ्ख्या धेरै देखिए पनि सङ्क्रमण दर घट्दोक्रममा रहेको बताउनुभयो ।
प्रा. डा. जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा वितरण गर्न सुझाव दिनुभयो । कतिपय नागरिक मास्क किन्नसक्ने हैसियतमा नरहेको भन्दै सरकारले निःशुल्क व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेपाल मेडिकल काउन्सिलका अध्यक्षसमेत रहेका प्रा. डा. भगवान कोइरालाले दसैँलगायत महत्त्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाई सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्क्रमण रोकथाम गर्न प्लाज्मा थेरापीका लागि प्लाज्मा बैङ्क बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
टेकु अस्पतालका डा. अनुप बास्तोलाले भेन्टिलेटरमा जानेभन्दा पनि अक्सिजन थेरापीलाई महत्त्व दिइनुपर्ने बताउनुभयो । अक्सिजन थेरापी भेन्टिलेटरभन्दा राम्रो र प्रभावकारी रहेको उहाँको भनाइ छ । छलफलमा स्वास्थ्य मन्त्रालयकाका तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा. खेमबहादुर कार्की, सहसचिव डा. गुणराज लोहनी, प्रवक्ता प्रा.डा. जागेश्वर गौतम, डा. गुणनीधि शर्मालगायतको सहभागिता थियो ।